काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्ने बताएकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहे अनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भनिन् , “महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।
काननूनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याइन् । राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसित आग्रहसमेत गरिन् ।
उनले भनिन्, “महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०, ५० प्रतिशत सहभागिता आवश्यक छ ।उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको वताइन् ।
सो अवसरमा महिलामन्त्री थममाया थापाले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक ऐन, नीति तथा कार्यक्रम कार्यन्वयन गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन् । प्र
तिनिधिसभा, महिला र सामाजिक समितिका सभापति निरुदेवी पालले लैङ्गिक समानताका लागि घरपरिवारदेखि परिवर्तनको आवश्यकतामा जोड दिइन् । महिला मन्त्रालयका कामु सचिव वीरबहादुर राईले ग्रामीण र शहरी क्षेत्रमा महिलाका आर्थिक, सामाजिक विभेद अन्त्य गर्न मन्त्रालयले लैङ्गिक समानताका कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिँदै कार्यान्वयनमा आएको सुत्केरी हवाई उद्धार कार्यक्रमले ग्रामीण क्षेत्रका महिलामा सकारात्मक परिवर्तन आएको बताए ।
समाजसेवी दुर्गा घिमिरेले महिला दिवस वर्षमा एक दिन मनाएर सकारात्मक परिवर्तन नआउने बताउँदै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गरिन् । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले लैङ्गिक समानतासम्बन्धी संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ल्याउन आयोगले आफ्ना कार्यक्रम केन्द्रित गरेको बताए । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने नाराका साथ महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
प्रतिक्रिया