पटकपटक पार्टी र नौ महिना सरकारको नेतृत्व गरेका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकै नेता–कार्यकर्तासहित सबैका लागि निकै सहज रूपमा उपलब्ध हुने नेताभित्र पर्छन् । पार्टी नेतृत्वले गरेको निर्णयमा आफ्नो चित्त नबुझ्दा पनि दृढताका साथ वकालत गर्ने नेताको सूचीमा पनि खनाल पर्छन् ।
हत्तपत्त पार्टी र नेतृत्वको निर्णयमा खनाल कहिल्यै सार्वजनिक रूपमा विरोधमा उत्रदैनन् । यही कारण खनाललाई एमालेभित्र सम्मान गर्ने ठूलो पंक्ति छ । आफूलाई चित्त नबुझेको कुरा सार्वजनिक बहसको विषय बनाएर पार्टी र नेतृत्वको विरुद्धमा लाग्नेहरू असल नेता कार्यकर्ता होइनन् भन्ने खनालको दृढ मान्यता छ ।
पछिल्लो समय खनाल नेतृत्वलाई स्थापित गराउँदा मात्रै सबै स्थापित हुन्छन् भन्ने मान्यताका साथ अघि बढिरहेका छन् । त्यसैकारण राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा समेत खनाल आफूले होइन, पार्टीले के भन्छ, त्यही गर्ने बताइरहेका छन् ।
एमाले र माओवादी केन्द्रबीचको एकताको विषयमा पनि खनालले अध्यक्ष केपी शर्मा ओलीले लिने हरेक निर्णय सहजताका साथ लिने भन्दै एकताका लागि आवश्यक सुझाव दिने र सहजीकरणको भूमिका खेल्न तयार छन् ।
अध्यक्ष ओलीले लिने हरेक निर्णयलाई सबैले सघाउँदै दृढताका साथ कार्यान्वयनमा लैजानुपर्ने मान्यता राख्ने वरिष्ठ नेता खनालसँग चुनावपछि भइरहेको राजनीतिक चलखेल, पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रपति उम्मेदवार लगायतका विषयमा उनकै निजी निवास डल्लुमा सौर्य दैनिकका लागि टंक खनालले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका मूल अंश ।
सरकार गठनका लागि वाम गठबन्धनको तयारी कस्तो छ ?
सरकार गठनका निम्ति दुइटा वामपन्थी पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकआपसमा छलफल गरिरहेका छौँ । हामीले एकताको प्रक्रिया अघि बढाइरहेका छौँ । यथासम्भव चाँडो एकता प्रक्रिया टुंगो लाग्छ । र, हामी सरकार बनाउँछौँ । त्यो सरकार निर्माण गर्ने प्रक्रिया त्यस्तो जटिल छैन । दुवै पार्टी मिलेपछि मुलुकमा प्रचुर बहुमत, प्रचण्ड बहुमत पाएका छौँ । त्यो बहुमतका आधारमा सबैलाई समेट्ने गरी एउटा देशभक्त, प्रगतिशील र लोकतान्त्रिक सरकार गठन हुन्छ ।
वर्तमान सरकार भकाभक निर्णय गरिरहेको छ, बहुमत प्राप्त तपार्इंहरूचाहिँ विज्ञप्ती निकाल्दै विरोध गर्नुपरेको छ, किन ?
यो सरकार त नेपाली जनताले दूध काटिसकेको सरकार हो । यसलाई जनताले अस्वीकृत गरिसकेका छन् । राष्ट्रले अस्वीकृत गरिसकेको छ । अब यसको काम आफ्नो अन्त्यको प्रतिक्षा गर्नु मात्र हो । र, जबसम्म सरकार फेरिँदैन त्यतिबेलासम्म बसेर काम चलाउनु मात्र हो । यसको नाम नै कामचलाउ सरकार हो ।
अरू नयाँ, दीर्घकालीन, राष्ट्रव्यापी महत्वका र आमजनतालाई प्रभावित गर्ने कुनै पनि खालका निर्णय गर्ने अधिकार यो सरकारलाई छैन । तर, यसले जुन प्रकारले निर्णय गर्दै हिँडिरहेको छ, त्यसले यो सरकार अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेछ भन्नेचाहिँ आफैं प्रमाणित गरेर गइरहेको छ । त्यसको सिंगो राष्ट्र र आमजनताको विरोध हुन्छ ।
तपाईंहरूले यसो भने पनि दूरगामी महत्वका निर्णय भइरहेका छन् । अब बन्ने सरकारले के गर्छ ?
जुनदिन देशमा आमनिर्वाचनको परिणाम घोषणा भयो । त्यो घोषणासँगै यो सरकारको औचित्य समाप्त भएको छ । त्यसो हुनाले त्यो निर्वाचनको प्ररिणाम घोषणा भएको मितिदेखि यता यो सरकारले राष्ट्रलाई अनावश्यक रूपले दायित्व बोकाउने, भारी बोकाउने निर्णय गरेको छ । ती सबै रद्द हुन्छ । त्यसलाई आगामी सरकार मान्न बाध्य हुँदैन ।
प्रदेशको अस्थायी सदरमुकाम र प्रमुख तोक्ने विषयमा तपाईंहरूसँग छलफल भयो ?
बिल्कुलै छलफल गरेनन् । सहमति बनाउने प्रयास पनि गरेनन् । सहमति बनाउन थालेको भए मिलेर समझदारीमा प्रदेश सदरमुकाम र प्रदेशप्रुमख तोक्न सकिन्थ्यो । सरकारले यो पनि काम चलाउ मात्र गरेको हो । तर, यो कामचलाउ नभई स्थायी सरकारले गरेको निर्णय जसरी गरेको छ, जसका कारण यो विषय विवादास्पदजस्तो बन्यो । विवादास्पद बन्नु स्वभाविक पनि छ । आगामी सरकारले यसको पुनः निर्णय गर्नेछ ।
वाम एकताको अभियानचाहिँ कहाँ पुग्यो ?
दुई पार्टीबीचको एकीकरण एउटा ऐतिहासिक कार्य हो । परिर्वतनकारी शक्तिहरू दशकौँ दशकदेखि दुइटा धारबाट अघि बढिरहेका थिए । अहिले हामी एउटा संगममा आइपुगेका छौँ । हामी एकताबद्ध भएर अघि बढ्न प्रयत्न गरिरहेका छौँ । यो प्रयन्तलाई सफलिभूत बनाउनका लागि वैचारिक पक्ष र संगठनात्मक पक्षमा एकरूपता बनाउन जरुरी छ ।
त्यो एकरूपताका लागि हामी छलफल र बहसहरू गरिरहेका छौँ । विचार आदानप्रदान गरिरहेका छौँ । एउटा सहमतिमा पुग्न कोसिस गरिरहेका छौँ । त्यो सहमतिमा पुगेपछि विचारमा पनि, संगठनमा पनि हामीबीचमा एकरूपता कायम हुन्छ ।
शीर्ष तह एकताको लबिङमा, दोस्रो तहका नेता भड्काउने अभियानमा भन्ने सुुनिन्छ नि त ?
यो बिल्कुलै गलत हो । दुवै पार्टीका पहिलो पंक्तिका नेताहरू पनि एकताकै पक्षमा छन् । दोस्रो, तेस्रो तह र आमकार्यकर्ताको तहमा रहेका साथीहरू पनि एकताकै पक्षमा छन् । तलका समर्थक र शुभेच्छुक त कतिसम्म एकताका पक्षमा छन् भन्ने जान्न चाहानु हुन्छ भने हाम्रो निर्वाचन अभियानलाई लिन सक्नुहुन्छ । यो निर्वाचन अभियानमा दुवै पार्टीका नेता–कार्यकर्ताहरू एउटै पार्टीजस्तो गरेर निर्वाचन प्रचार अभियानमा लागे ।
यसले पुष्टि गर्छ कि, उनीहरू नै सबैभन्दा बढी एकताको पक्षमा छन् । तर, माथिल्लो पंक्ति एकताको पक्षमा नभइकन तलका शुभेच्छुकले एकताको अभ्यास गरेका होइनन् । दुवै पार्टी एकतामा प्रतिबद्ध छन् । हामीले चाँडै एक पार्टी बनाउने सुनिश्चित नै छ । सबै नेता–कार्यकर्ता र जनसंगठनहरूको सम्मानजनक व्यवस्थापन हुन्छ ।
एमाले–माओवादीकै शीर्ष तहमा शंका–उपशंका बाँकी छ रे नि त ? सरकार गठनमा भएको धोका बिर्र्सेको छैन भन्ने पनि छन् ?
धोका कसैले पनि दिनुहुँदैन । एमालेले पनि हुँदैन माओवादीले पनि दिनु हुँदैन । धोकाको बारेमा सोच्नै हुँदैन । विगतमा ककसले कहाँ–कहाँ के–के गरेका छन् त्यो समीक्षा होला । यो वेलामा अविश्वासको कुरा आउँदैन । दुवै दलका नेताहरू अहिले दिलदेखि नै एकताको पक्षमा छन् । कमरेड प्रचण्ड पनि एकताको पक्षमा हुनुहुन्छ । कमरेड केपी ओली पनि एकताको पक्षमा दृढ हुनुहुन्छ ।
हामी सबै नेतृत्व तहमा रहेकाहरू एकताकै पक्षमा छौँ । त्यसैले यो दुनियाँको कुनै शक्तिले दुई वाम दलबीचको एकतालाई रोक्न सक्दैन । नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले पनि दुई पार्टीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेकोले अब एकता हुन्छ–हुन्छ । प्रचण्ड राजनीतिमा विश्वासका पात्र होइनन्, सम्झौता गर्दै छोड्दै गर्छन् भनेर एमाले नेताहरूले नै भन्ने गरेका छन् ।
साझेदार बनेका एमालेसँग एकता गर्न आए भन्ने एकथरीको भनाइ छ नि ?
प्रचण्डसँग हामीले पनि त सहमति गरेका थियौँ नि । हामीले नीति र कार्यक्रम ल्याउने बजेट ल्याउने, त्यसपछि आवश्यकता अनुरूप काँध फेराफेर गर्ने भन्ने हामीले पनि सहमति गरेका थियौँ नि ? हामीले काँध फेर्न सकेनौँ । हामीले मोर्चा नै टुटाइदियौँ । उनीहरूको कुरा मात्र छैन ।
हामीले के ग¥यौँ त्यो पनि हेर्नुपर्छ । दुवै पार्टीलाई विगतका कुरातर्फ लाने होइन । अगामी दिनमा एकताबद्ध भएर जानुपर्ने कुरा छ । अग्रगामी सोचका साथ अघि बढ्नुपर्छ । त्यसो हुँदा विगतका कुराहरूबाट शिक्षा लिने मात्र हो ।
यसको मतलब पार्टी एकताको खाका तयार नै भइसकेको छ, हो ?
एकताको खाका करिब–करिब तयार भइसकेको छ । सबैको सम्मानजनक व्यवस्थापनसहित खाका बनेको छ । कसैले चित्त दुखाउनुपर्ने ठाउँ रहन्न ।
कसरी हुन्छ ? नेतृत्व तहका कारण विवाद हुने शंका छ नि ?
विवाद हुने भए एकताको कुरा अघि बढ्ने नै थिएन । कस्ता–कस्ता कुराबाट एकता गर्नुपर्छ भन्ने कुराको अनुमान नलगाइकन एकता प्रक्रियामा कुनै नेता अगाडि बढेका छैनन् । त्यसैले जुनसुकै रूपमा पनि एकता गरेर जाने दुई पार्टीबीच सहमति भएको छ । माथिल्लो तहमा हाम्रो पनि नेताहरूको पंक्ति छ, उहाँहरूको पनि पंक्ति छ ।
त्यसरी नै सिंगो कमिटीलाई कसरी एकता गर्ने भन्ने कुरामा पनि हामीले मापदण्ड तयार पारेका छौँ । सिंगो कार्यकर्तासहितको पार्टी पंक्तिलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा निश्चित सूत्रसहितको खाका हामीसँग छ ।
निर्वाचनभन्दा अघिसम्म दुई पार्टीबीचको बेमेलको विषय संविधान संशोधन थियो । पार्टी एकीकरणपछि संविधान संशोधन हुन्छ ?
अहिले संविधान संशोधनको कुनै पनि प्रक्रिया अघि बढ्दैन । हामी संविधानले अघि बढाएको मार्गदर्शनलाई कार्यान्वयन गर्ने फेजमा जान्छौँ । संविधान कार्यान्वयनको काम अघि बढ्दै गर्दा कुनै वाधाहरू आए भने अथवा प्रवल आवश्यकताहरू उत्पन्न भए भने त्यस्तो अवस्थामा परिमार्जन गर्नुपर्ने अवस्था आउनसक्छ । त्यो गर्न सकिन्छ । तर, अहिले तत्काल संविधान संशोधन गर्नुपर्ने कुनै एजेन्डा छैन ।
वाम गठबन्धनले सरकार गठनमा मधेस केन्द्रित दलसँग पनि सहकार्य गर्दै छ भनिन्छ नि ?
हामी यो देशका सबै पार्टीहरू प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेपाली कांग्रेससहित सबै दलसँग सहकार्य गर्न तयार छौँ । हामी कसैलाई पनि काखा र पाखा पार्ने पक्षमा छैनौँ । सबैसँग साझा सवालमा एकताबद्ध भएर अघि बढ्ने नीतिका साथ आएका छौँ । मुलुक बनाउने हाम्रो अठोट भएकोले सबै पार्टीसँग सहकार्य गर्छौं ।
राष्ट्रिय सभामा सहमति कार्यान्वयन हुन्न भन्ने आशंका पनि एकथरिको छ नि ?
त्यस्तो संभव छैन । पछिल्लोपटक मंगलबार बसेको स्थायी कमिटीले व्यापक छलफल गरी दृढताका साथ कार्यान्वयन गर्ने निर्णय लिएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र प्रदेशमा सरकारहरूको गठनका सम्बन्धमा अहिलेसम्म दुइटा पार्टीबीच भएको छलफलको रिपोर्टिङ भयो । ती समझदारीहरूलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भयो । छोटो बैठक बस्यौँ । वाम गठबन्धनमा भइरहेका छलफल र सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने नै स्थायी कमिटीको निष्कर्ष रह्यो ।
राष्ट्रपतिको रूपमा तपाईंको चर्चा हुन थालेको छ नि ?
मलाई यो बीचमा केही समयदेखि कुरा गर्ने लिने सञ्चारकर्मी सबैले नछुटाई सोध्ने प्रश्न मध्येको एक हो यो । जुन तपाईंले पनि छोड््नु भएन । नयाँ राष्ट्रपतिको कुरा गर्दा मेरो नाम जोड्ने गरिएको छ । जजसले मेरो नाम राष्ट्रपतिमा जोडिरहनु भएको छ तपाईंहरू सबैलाई धन्यवाद छ । यदि, पार्टीले मलाई योग्य ठानेर निर्णय ग¥यो भने म तयार छु । म पछि हट्नुपर्ने कुनै कारण देख्दिनँ ।
वाम गठबन्धनको सरकार भारत विरोधी हुन्छ भन्ने हल्ला छ । साँच्चै हो ?
अब नेपालमा बन्ने प्रधानमन्त्रीले सिंगो राष्ट्र, सिंगो राष्ट्रको हित र सम्पूर्ण जनताको चाहनालाई हृदयंगम गरेर अघि बढ्नुपर्छ । नेपालको राष्ट्रियता, नेपालको स्वतन्त्रता, नेपालको आत्मसम्मान, नेपालको सार्वभौमसत्ता, नेपालको अखण्डतालाई ध्यानमा राखेर नेपाल एउटा स्वतन्त्र राष्ट्र हो भन्ने कुरा प्रत्याभूत गराउनु पर्छ । सबैभन्दा पहिलो कुरा नेपालमा बन्ने प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्नुपर्छ भन्ने परम्परा स्थापित गरिएको छ । त्यसलाई चिर्नुपर्छ । म प्रधानमन्त्री हुँदा तोडेँ । कुनै समस्या आएन ।
त्यसैगरी नेपालमा मुख्य दुई छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध राखिनु पर्दछ । दुई देशसँगको सम्बन्ध व्यावहारिक पनि हुनुपर्छ । दुवै देशसँग स्वतन्त्रता, समानता, सार्वभौमसत्ता सम्पन्न मुलुकहरूको बीचमा सम्बन्धलाई विकास गरेर लानुपर्छ । दुवै मुलुकहरू हाम्रा ट्रान्जिट मुलुकहरू पनि हुन् । भारतसँग मात्र पारवहन सुविधा लिएर हुँदैन । हामीले चीनबाट पनि पारवहन सुविधा लिनुपर्छ । यसरी दुवै राष्ट्रसँग बराबरी सम्बन्ध हुने गरी हाम्रो परराष्ट्र नीति बनाउनुपर्छ ।
यो सम्बन्ध दुई छिमेकी देशसँग मात्र नभई विश्वमा रहेका सम्पूर्ण देशसँग नेपालको परराष्ट्र नीति समान हुनुपर्छ । अब बन्ने सरकारले त्यही नीतिलाई अबलम्बन गर्नेछ । भारतविरोधी हुन्छ भन्नेहरू नेपालको हित चाहने होइनन् । उनीहरू आफ्नो स्वार्थका लागि यी सब काम गरिरहेका छन् ।
प्रतिक्रिया