नेपालको सहकारी अभियानमा भएका विभिन्न संघहरूमध्ये सबैभन्दा जेठो संस्थाका रूपमा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) लाई चिनिन्छ । सहकारीले मुलुकको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तर उकास्न उल्लेखनीय काम गरेको देखिन्छ । पछिल्लो समय यसमा थुप्रै विकृतिहरू पनि बढिरहेका छन् । देशभित्र सञ्चालित वचत तथा ऋण समूहरूको केन्द्रीय निकायको आवश्यकता महसुस गरी ०४५ साल ३२ साउनमा वचत समूह राष्ट्रिय संघ तदर्थ समितिको नामबाट सुरु भएको नेफ्स्कुनले शुक्रबार आफ्नो २६औँ साधारणसभा सम्पन्न गर्दै छ । नेफ्स्कुनले सञ्चालन गरिरहेका विभिन्न अभियान तथा समग्र गतिविधि बारे २६औँ साधारणसभाको अवसरमा नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतसँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानीको सम्पादित अंश:
सहकारी आन्दोलन अहिले कुन चरणमा पुगेको छ ?
नेपालमा सहकारी आन्दोलन सुरु भएको धेरै भएको छैन । त्यसमा पनि वचत तथा ऋण सहकारी आन्दोलन अहिले ३० वर्षको हाराहारीमा छ । हामी अहिले २६औँ साधारणसभा सम्पन्न गर्दै छौँ । यो समयसम्म आइपुग्दा सहकारीको पर्याप्त विकास भएको त नभनौँ । तर, सहकारीको क्षेत्रमा आशा गरेका केही उपलब्धी भने अवश्य भएका छन् । ०४५ सालमा हामीले वचत तथा ऋण सहकारीको अवधारणा अगाडि बढाएका थियौँ ।
अहिलेसम्म आउँदा करिब १४ हजारभन्दा बढी वचत तथा ऋण सहकारी स्थापना भइसकेका छन् । यसै अनुपातमा कृषि सहकारी, वहुउद्देशीय सहकारी तथा अन्य खालका सहकारी खुलेका छन् । सबैका आआफ्नै कार्यक्षेत्र छन् । तर, वचत तथा ऋणभन्दा वाहेकका केही सहकारीहरूले पनि वचत तथा ऋणको कारोबार गर्ने गरेका छन् भन्ने सुन्नमा आएको छ । तर, वचत तथा ऋण सहकारीहरू भने नेपाल सरकारको तीन खम्बे अर्थनीतिको अवधारणसँग सम्बन्धित भएर काम गरिरहेका छन् । आर्थिक विकासका लागि वचत तथा ऋण सहकारीहरूको महत्वपूर्ण योगदान रहेको छ । समग्रमा भन्नुपर्दा सहकारी आन्दोलन अब विकासको चरणमा प्रवेश गर्दै छ ।
गुणस्तरीय सहकारीभन्दा संख्यात्मक रूपमा बढी भएजस्तो लाग्दैन ?
सहकारी खोल्ने चरण सकिएको भने होइन किनकी गाउँ केन्द्रित सहकारी संस्था आवश्यक छन् । जुन ठाउँमा सहकारीको विकास हुन बाँकी छ त्यहाँ थप्नुपर्ने आवश्यकता छ । तर, सहरबजारमा भने आवश्यकताभन्दा बढी सहकारी खोलिएका छन् । गाउँ या सहर सबै क्षेत्रमा काम गर्ने सहकारीको गुणस्तर भने बढाउँदै लानुपर्छ । सहकारीहरूको गुणस्तर सुधारका लागि नेफ्स्कुनले नेपाल सरकार तथा सहकारी विभाग, सहकारी महासंंघ लगायतका संस्थाहरूसँगको सहकार्यमा केही योजना कार्यक्रमहरू अगाडि सारेको छ । यसबाट पनि सहकारीहरूको गुणस्तर सुधारमा सहयोग पुग्नेछ ।
सहकारीलाई गाउँ केन्द्रित बनाउन के गर्दै हुनुहुन्छ ?
वास्तममा भन्ने हो भने वित्तीय कारोबार गर्ने सहकारीहरू सहर केन्द्रित हुन नहुने हो तर हामीकहाँ ठीक उल्टो भएको छ । तपार्इंले भनेकोजस्तो सहरमा सहकारीको संख्या बढी नै भएको छ । तर, हामीले सहरका भन्दा गाउँका सहकारीको विकासमा बढी ध्यान दिएका छौँ । जुन ठाउँमा बैंकको पहुच पुगेको छैन त्यो ठाउँमा सहकारीको भूमिका निकै राम्रो पनि भएको छ । सरकारले पनि अहिले नयाँ वचत तथा ऋण सहकारी दर्ता बन्द गरेको छ । जति खुलेका छन् तिनलाई पनि एउटा पद्धतिमा जोडेर लानुपर्ने जरुरी छ । नेपाल सरकारको अनुगमनको पाटो कमजोर छ यसको फाइदा उठाउँदै वा सहकारिताको सिद्धान्तविपरीत चलेर केही सहकारी बिग्रिएका थिए । अहिले पनि सहरका सहकारीहरूमा केही समस्या छन् । अव ऐन पनि आएको छ । सरकारले पनि यसको अनुगमनमा ऐनअनुसार कडा भएर लाग्ने हो सहकारी क्षेत्र अभैm राम्रो हँुदै जानेछ ।
सहकारीहरूको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय मान्यतामा लैजानका लागि हामीले एक्सेस, गुणस्तर सुनिश्चतता प्रोविसन तथा वित्तीय तालिम लगायतका थुप्रै कार्यक्रमहरू अगाडि सारेका छौँ । यसका लागि सहकारी विभाग र सरकारका अन्य निकाय पनि लागिपरेका छन् । जति हुनुपथ्र्यो त्यति मात्रामा भने यस्ता कार्यक्रम हुन सकेका छैनन् ।
नेफ्स्कुनले सुरु गरेको एकरूपता प्रणाली कहाँ पुगेको छ ?
एकरूपता प्रणाली अभियानलाई पनि हामीले निरन्तर अगाडि बढाएका छौँ । त्यो एकैपटक सम्पन्न हुने काम होइन यसअन्तर्गत हरेक वचत तथा ऋण सहकारीलाई एकै ढाँचामा लाने काम हुन्छ । जस्तै हेर्नमा, गर्नमा, लगायतका गतिविधिमा एकनासको हुने भन्ने हो । यसको कार्यान्वयनका लागि दोलखा जिल्लालाई नमुना छानेर सुरु गरेका छौँ । यसमा सफलता प्राप्त गर्न केही समय लाग्छ नै ।
बाहिर भएका संस्थालाई नेफ्स्कुनमा ल्याउन के पहल गर्दै हुनुहुन्छ ?
यसका लागि सहकारी दर्ता गर्ने निकायले फेडरेसनको सदाशयता लिएर जान अनिवार्य गर्नुपर्छ । भने, हामीले सधैँ सदस्यता लिने बाटो खुला गरेका छौँ । संस्थाहरूले जतिबेला आए पनि हामी सदाशयता दिन तयार छौँ । तर, अधिकजसो संस्थाहरू हामीसँग जोडिएका छन् । हामीसँग दुई किसिमका सदस्य छन् । एउटा प्रत्यक्ष जसमा २५ प्रतिशत सदश्य आवद्ध छन् भने अर्को अप्रत्यक्ष तरिका हाम्रा जिल्ला संघहरू जोडिएर ७५ प्रतिशत सहकारी हामीसँग आवद्ध भएका छन् । १४ हजार सहकारी मध्ये तीन सय सहकारीको नाम मात्र भेटिन्छन् । केहीमात्रामा छुटेका होलान् सबैलाई संघमा आवद्ध हुन हामीले आग्रह गरिहेका छौँ ।
कतिपय सहकारी दर्ता मात्र छन् भन्नुभयो सहकारी ऐनअनुसार विभागले अनुगमन तथा नाम मात्रका सहकारी खारेज गर्न नसकेको हो ?
विभागले गर्न नसकेको या नगरेको त भन्न मिल्दैन सरकारी निकाय हो आफ्नो तरिकाले काम गरिरहेको छ । विभागले अडिट गरे नगरेको, विनियमअनुसार काम गरे नगरेको हेरिरहेको होला । यसमा नेफ्स्कुनले पनि लगातार तीन वर्षसम्म सम्पर्कमा नआउने संस्थाहरूको सदस्यता खारेज गर्ने गरेको छ । यसवर्ष पनि केही संस्थाको सदस्यता खारेज गरेका छौँ । हामी सुशासनका लागि यत्रो ठूलो अभियान सञ्चालन गरिरहेका छौँ । अनि आचारसंहिता तथा सिस्टम नमान्नेलाई सदस्यबाट नहटाएमा या सुधार नगराएमा अभियानको औचित्य नै भएन नि !
आर्थिक विकासमा सहकारीको के भूमिका रहन्छ ?
आर्थिक विकासमा सहकारीको धेरै ठूलो भूमिका रहन्छ । अहिले प्रत्यक्ष नेपालको समग्र विकासमा सहकारीको झन्डै पाँच प्रतिशत योगदान रहेको छ । त्यस्तै आर्थिक विकासमा २० प्रतिशत योगदान छ । सिधै हेरेर जाने हो भने पनि गाउँतिरका कुनै कुनै सहकारीको वित्तीय कारोबार साच्चिकै लोभलाग्दो छ ।
बैंकको भन्दा राम्रो पद्धतिमा सहकारी चलिरहेका छन् । गाउँघरमा लगाइने सुके व्याज, कोसेली व्याज आदि अहिले पूरै विस्तापित भइसकेको अवस्था छ । जनताले जति चाह्यो त्यति ऋण पनि पाउने तथा भएको केही आम्दानीलाई वचत पनि गर्न थालेका छन् । विकास निर्माणको काममा पनि सहकारीको ठूलो भूमिका रहेको छ । सहकारीहरूलाई सरकारले भनेअनुसार सुविधा दिन नसके पनि आफ्नै प्रयासबाट पुँजी निर्माण गरेर काम गरिरहेका छन् । यो महत्वपूर्ण काम हो ।
नयाँ सहकारी ऐनलाई कसरी हेर्नुभएको छ ?
धेरै लामो समयपछि सहकारी ऐन आएको छ यो निकै खुसीको कुरा हो । यस ऐनमा हामीले आवश्यकता महसुस गरेका धेरै कुरा परेका छन् । सहकारीहरूमा बढ्दै गएको विकृति कम हुनेछन् । सहकारी क्षेत्रको विकासमा ऐनले महत्वपूर्ण भूमिका हुनेछ । तर, कतिपय कुरा ऐनमा छुटेका पनि छन् । कतिपय कुराहरू तोकिए बमोजिम हुनेछ भनेर अस्पष्ट पारिएका छन् । नियमावली नआउँदासम्म काम गर्न गाह्रो छ । समग्रमा भन्नुपर्दा सहकारी ऐन ठीकै छ ।
वचत तथा ऋण सहकारीको लगानी कुन क्षेत्रमा बढी छ ?
वचत तथा ऋण सहकारीहरूको लगानी उत्पादनमुखी क्षेत्रमा खासै जान सकेको छैन । हामीले योजना बनाएजस्तो उत्पादनमुलक काममा भने लगानी छैन । तर, सरकारले नसकेको ठाउँमा तथा विकट गाउँगाउँमा सहकारीहरूले वित्तीय कारोबार गरिरहेका छन् । जनतामा वचत गर्ने वानीको विकास सहकारीकै कारण भएको छ । जनचेतनाको विकास र वित्तीय कारोबारमा सहकारीको लगानी छ ।
सरकारले थोरै पनि गाइड गर्ने हो भने वचत तथा ऋण सहकारीले अझै राम्रो गर्न सक्थे । लगानी बढाउन सक्थे । तर, सरकारको सहयोग कहाँनिर पाइरहेका छैनौँ भने राष्ट्र बैंकले गरिबका लागि सरकारले छुट्याएको पैसा सहकारीमार्फत गाउँमा नपठाएर सहरका बैंकलाई दिइरहेको छ । हामीचाहिँ दूरदराजमा काम गर्ने तर सहयोग छैन । यसका लागि नेफ्स्कुनले लबिङ गरिरहेको छ । यो अभियानले खोजेको सुविधा सरकारले दिन नसके पनि सहकारीको क्षमता अभिवृद्धिका लागि हुने काम स्थानीय तहलाई दिएको छ । स्थानीय तहबाट राम्रोसँग पहल हुनसके सहकारी क्षेत्रलाई अझै मजवुत र उत्पादनमुखी बनाउन सकिन्छ ।
तपार्इं नेफ्स्कुनको अध्यक्ष भएर आएपछि के गर्नुभयो ?
नेफ्स्कुनले जे काम गर्नुपर्ने हो त्यही कामहरूलाई प्राथमिकताका साथ गरिरहेको छ । सबैभन्दा पहिला यो सहकारी ऐनको लागि खट्यौं । सहकारीबाट लिइने कर अत्याधिक बढी भएको महसुस भएको हुँदा अभियानको मागअनुसार यसलाई घटाउन हामी हरदम प्रयासमा छौँ ।
ऐनले करको अनुपात पनि दिएको छ । नीतिगत रूपमा सुशासनमा जानका लागि हामीले अभियान चलाइरहेका छौँ । म अध्यक्ष भएर आइसकेपछि १९ ओटा संस्था एक्सेसको ब्रान्ड पाउन सफल भएका छन् । त्यस्तै नेपाल ब्रान्डको लागि पनि सयभन्दा बढी संस्था छनोट भएर आउँदै छन् । काठमाडौं उपत्यकालाई लक्षित गरेर जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम सुरु गरेका छौँ ।
त्यसभित्र बसेर पनि धेरै संस्थाले राम्रो काम गरिरहेका छन् । स्थिरीकरण कोषको कुरा पनि हामीले धेरै पहिलेदेखि उठाउँदै आएका थियौँ । हाम्रै बलका कारण त्यो कुरा ऐनमा समेटिएर आएको छ । एकीकृत साकोसको काम पनि सुरु गरेका छौँ । संस्थाहरू एकीकरणको काम पनि अगाडि बढाएका छौँ । यसवर्ष उल्लेखनीय संख्यामा संस्थाहरू एकीकरण भएका छन् । त्यस्तै हामीले एउटा सफ्टवेयर विकास गरेर अगाडि बढेका छौँ । कतिपय सहकारीहरूले एटिएम सेवा पनि सुरु गरिसकेका छन् । रेमिट्यान्स र इन्सोरेन्सको काम पनि हामीले अगाडि बढाएका छौँ । सरकार र अन्य सहयोगी संस्थाहरूसँग मिलेर हामी काम गरिरहेका छौँ ।
२६औँ साधारणसभाको अवसरमा के भन्नुहुन्छ ?
हाम्रो प्रमुख एजेन्डा नै हरेका सहकारीले सुशासनमा लाने नै हो । जनताको विश्वास कायम गरीराख्न पनि सबै संस्थाहरूलाई नेटवर्कमा समावेश भएर सुशासनमा जान अनुरोध गर्न चाहन्छु भने, यो काम तीव्रगतिमा नेफ्स्कुनले अगाडि बढाउँदै छ । धेरै समय दिएर धेरै साथीहरूले स्वयंसेवक भएर खटिरहनुभएको छ । अभैm धेरैकाम गर्न बाँकी नै छ । जति समय परिवर्तन हुँदै गयो त्यति नै काम पनि बढेको छ । हरेक दिन वित्तीय दायित्व पनि बढ्दै गएको छ । यसका लागि पनि नेटवर्कमा समावेश गरेर सबैलाई हरेक क्षेत्रमा सहयोग गर्दै लानेछौँ । नेफ्स्कुनमा आउन बाँकी सबैलाई यस अभियानमा आउन अनुरोध छ ।
प्रतिक्रिया