‘दुई तिहाईसहित प्रदेश–३ मा बलियो र स्थिर सरकार चलाउँछौँ ‘-अष्टलक्ष्मी

नेपालमा आफूले पाएको मन्त्री अस्वीकार गर्दै अरूलाई अवसर दिनुपर्छ भन्ने नेताहरू कति जना होलान् ? यसको सजिलो जवाफ हुन सक्छ, सायदै होलान् । तर, आफूले दुईपटक अवसर पाइसकेको भन्दै अर्को महिलालाई अवसर दिने नेतृ हुन्, नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । चार वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारमा शाक्यलाई पार्टीले मन्त्रीका लागि सिफारिस ग¥यो ।

तर, उनले पार्टी नेतृ शान्ता मानवीलाई मन्त्री बनाउन आग्रह गरेर राजनीतिभित्र पनि इमान हुँदोरहेछ भन्ने उदारहण दिइन् । तीनै शाक्य अहिले काठमाडौं क्षेत्र नम्बर ८ को ‘ख’ (१) क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । एमाले वृत्तमा प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका रूपमा हेरिएकी शाक्यले राजधानीसमेत रहेको ३ नम्बर प्रदेश निर्माणका लागि विकास र समृद्धिको खाकासमेत सुनाइन् । प्रस्तुत छ शाक्यसँग सौर्य दैनिकले गरेको कुराकानी ।

पार्टीका अधिकांश शीर्षस्थ नेताहरू प्रतिनिधिसभाको उम्मेदवार बन्न हानथाप गरिरहेको बेला तपाईं भने प्रदेशसभामा झर्नुभयो, किन हो ?
शीर्ष तहका नेता प्रदेशमा झर्नु हुँदैन भन्ने मान्यता नै गलत हो । हामी पहिलोपटक संघीय र प्रादेशिक संरचनामा जाँदै छौँ । प्रदेशको संरचना बनाउनुपर्ने दायित्व हामीसँग छ । गाउँ र नगरपालिका बलियो भयो भने प्रदेश बलियो हुन्छ । अनि प्रदेश बलियो भयो भने केन्द्रीय सरकार बलियो हुन्छ । प्रदेशलाई बलियो बनाउने भनेको– स्थानीय विकासका स्थानीय जनताको पहुँचलाई सहज बनाउनु र स्थानीय विकासलाई मजबुत बनाउनु पनि हो ।

त्यसैले प्रदेश सरकारको आफ्नै महत्व छ । केन्द्र सरकारलाई पनि बलियो र स्थिर बनाउने भूमिका प्रदेश सरकारको हो । स्थानीय तहको कामलाई पनि सघाउनुपर्ने र लोकतन्त्रलाई तलैदेखि बलियो बनाउन यसले भूमिका खेल्नु पर्दछ । तीन वटा सरकारको कुरा गरिरहँदा यो प्रदेश सरकार अत्यन्तै महत्वपूर्ण छ भन्ने ठानेर मैले प्रदेशमा जाने निर्णय गरेँ । हाम्रो प्रदेश कमिटीको सचिवालयले पनि सर्वसम्मत रूपमा मलाई नै प्रदेशमा पठाउने निर्णय गरेकाले पनि म प्रदेशसभाको उम्मेदवार बनेको हुँ ।

भनेपछि अब तपाईंको योजना ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने ?
मुख्यमन्त्री को बन्ने भन्ने कुरा पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । म पार्टी निर्णयको सदैव सम्मान गर्ने मान्छे हुँ । निर्णय हुनुभन्दा पहिला धेरै हल्ला गर्नु उपयुक्त हुँदैन । तर, म यो प्रदेशको संयोजकसमेत भएको हुँदा मुख्यमन्त्री म बन्ने कुरा अनुमान गरेको हुन सक्छ । निर्वाचन जितिसकेपछि पार्टीले सबै कुरा विश्लेषण र मूल्यांकन गरेर कसलाई मुख्यमन्त्री बनाउने निर्णय गरिहाल्छ । म प्रदेश संयोजक नै चुनाव लडेपछि मुख्यमन्त्रीको चर्चा हुनु स्वाभाविक पनि भो । तर, यस विषयमा अहिले धेरै चर्चा गर्नु समयोचित हुँदैन ।

मुख्यमन्त्री बन्नेगरी अध्यक्ष केपी ओलीले तपार्इंलाई प्रदेशसमा पठाउनुभएको सत्य हो ?
व्यक्तिगत रूपमा अध्यक्षले पठाउने भन्दा कमिटीले गरेको निर्णय हो । यद्यपि, अध्यक्षको भूमिका निर्णायक हुन्छ । सुरुमा त मलगायत पदाधिकारीहरू सबै प्रतिनिधिसभामै जाने कुरा पनि भएको हो । काठमाडौंको ९ नम्बर क्षेत्र मेरा लागि सुरक्षित पनि थियो । तर, मैले प्रदेशमा जानुपर्छ भन्ने कुरा आयो । त्यसलाई मैले स्वीकारेको हुँ । प्रतिनिधिसभामा म पटकपटक चुनाव लडेँ ।

एकपटक हारेको अनुभव पनि लिएँ । जितेको अनुभव पनि लिएँ ।  म ०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य पनि भएँ । मैले संविधानसभाको मस्यौदा समितिमा रहेर संविधान निर्माणमा निष्ठापूर्वक खेल्नुपर्ने भूमिका खेलिसकेको छु । अनि दुईपटक मन्त्री पनि भएँ, त्यसपछि मलाई के लाग्यो भने एउटै मान्छे पटकपटक सांसद र मन्त्री किन हुने ? हाम्रो पार्टीमा धेरै योग्य महिला कमरेडहरू हुनुहुन्छ ।

त्याग गरेका, जेलनेल भोगेका महिला कमरेडहरूलाई अवसर दिनुपर्छ भन्ने मलाई लाग्यो । मैले नछाडेसम्म त अरू महिला कमरेडले अवसर नपाउने भए, त्यसैले पनि मैले मन्त्री पनि बन्दिनँ र प्रतिनिधिसाको उम्मेदवार पनि बन्दिनँ भनेको हो । मलाई मुख्यमन्त्री बनाउने वा नबनाउने पार्टी निर्णयमा भर पर्छ । तर, म निश्चिन्त छु, पार्टीले विवेकपूर्ण निर्णय लिनेछ ।

अब तपाई हुन बाँकी मुख्यमन्त्री र प्रधानमन्त्री मात्रै रह्यो होइन ?
अहिले जे ढंगले प्रदेशसभामा गएँ, प्रदेश बनाउनुपर्छ भन्ने सोचेर गएको हो । मैले एक्लैले बनाउने होइन, सबै साथीहरूलाई समेटेर यो प्रदेशलाई राम्रो बनाउने हो । यो प्रदेशको समृद्धि र विकासका लागि मैले काम गर्नुपर्छ भन्ने मेरो धारणा हो । प्रदेशलाई साँच्चिकै समृद्धि र विकसित बनाउन सकियो भने मात्र त्यसपछि देश बनाउन सकिन्छ ।

प्रदेशको नेतृत्व राम्रोसँग गर्न सकियो भने देशको नेतृत्व गर्न सकिन्छ । यो एक प्रकारको नयाँ अनुभव, चुनौति र अवसर पनि हो, मेरा लागि । यसमा सफल हुने वा नहुने भन्ने कुरा मेरो अनुभव, इमान र सबैको सहयोगमा निर्भर हुने विषय हो ।

तपाईं मुख्यमन्त्रीको दाबेदार एक मात्र महिला नेता बन्नुभयो होइन त्यसो भए ?
मैले भनिसकेँ, निर्वाचन हुनै बाँकी छ । को मुख्यमन्त्री, को मन्त्री, को सभामुख, अनि को को मन्त्री हुने भन्ने कुरा निर्वाचन जितिसकेपछि हुने कुरा हो । तसर्थ मुख्यमन्त्री बारे स्वःस्फुर्त र आ-आफैँ घोषणा गर्दै हिँड्नु पार्टीको पद्दति अनुरूप हुँदैन । यसबारे म धेरै भन्न चाहन्न । मैले खासगरी पदको निमित्त भन्दा सेवाको निमित्त जिम्मेवारी स्वीकार गर्ने मान्छे हुँ । अर्को कुरा प्रदेश हाम्रा लागि नयाँ अभ्यास हो ।

अहिलेसम्म हामीले विभिन्न देशको अनुभव मात्र हेरेका छौँ । भारतमा धेरै महिलाले प्रदेशको मुख्यमन्त्री बनेर चलाएको र सफल भएको हामीले देखेका छौँ । अब महत्वपूर्ण पदमा बसेर तलको जिम्मेवारी लिनुहुँदैन भन्ने कुरा कसैले पनि सोच्नु हुँदैन । आवश्यकताले तलमाथि जता पनि बसेर काम गर्ने मानसिकता हामीले बनाउनुपर्छ । प्रदेशको राम्रोसँग नेतृत्व गर्न सकियो भने महिलाले देशकै नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण हामीले पेस गर्न सक्नुपर्छ ।

मैले महिलाको नाताले के भन्न जरुरी छ भने हामी स्थानीय तहमा ठूलो संख्यामा उपप्रमुख, वडा सदस्य तथा प्रमुख पदमा निर्वाचित भएका छौँ । उपप्रमुख भएका धेरै महिलासँग मैले कुरा गरेकी छु, उनीहरूमा धेरै ठूलो उत्साह र आत्मविश्वास देखिएको छ । महिलाले गर्न सक्दैनन् कि भन्ने थियो, तर महिलाले स्थानीय तहमा राम्रो काम गरिरहेका छन् । गरेर देखाउनेछन् ।

राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख भएर महिलाले नेपालबाट विश्वलाई उदाहरण दिइसकेका छन् । तीनै जनाले आआफ्नो ठाउँबाट राम्रो काम गर्नुभयो ।  यसले हामी सबै नेपाली महिलालाई राजनीतिक र सामाजिक क्षेत्रमा अघि बढ्ने उत्प्रेरणा प्राप्त भएको छ । विभिन्न कारणले योपटक प्रतिनिधिसभामा धेरै महिलाहरूलाई उम्मेदवार बनाउन सकिएन । किन यस्तो भयो आगामी दिनमा यसको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्छ भन्ने मेरो जोड रहेको छ ।

अहिले त महिलालाई अधिकांश स्थानीय तहमा उपप्रमुख मात्र बनाइएको छ, उनीहरूले इमानदारी र दक्षतापूर्वक काम गरे भने आफ्नो कामकै आधारमा अब ५ वर्षपछि हुने निर्वाचनमा प्रमुखको दाबेदार हुनेछन् ।  त्यस कारण म भन्न चाहन्छु महिलालाई विश्वासका साथ जिम्मेवारी सुम्पनुपर्छ । महिलाहरूको विशेषता भनेको उनीहरू जाँगरिला हुन्छन् । दिएका जिम्मेवारी राम्ररी पूरा गर्छन् । सबैका बारेमा त भन्न सकिन्न । तर, अधिकांश महिलाहरू इमानदार र भ्रष्टाचारविरोधी पनि हुन्छन् ।

मुख्यमन्त्रीको दाबेदारी गरिरहँदा यो प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत आउने सम्भावना कति देख्नुभएको छ ?
एकदमै आउँछ । यो कुरा मनोगत होइन । विगत निर्वाचनमा वामपन्थीहरूले पाएको मतको आधारमा भनेको हो । त्यसमा पनि निर्वाचन प्रचारप्रसारको क्रममा जनसमुदाय बीच पुग्दा उहाँहरूबाट प्राप्त सहानुभूति र समर्थनलाई हेर्दा यो पटक वामपन्थीहरूको ठूलो सम्भावना मैले देखेको छु ।
अर्को कुरा हामी सामान्य बहुमतको कुरा मात्र गरिरहेका छैनौँ, हामी दुईतिहाई मत ल्याएर यो प्रदेशमा बलियो र स्थिर सरकार बनाउँछौँ ।

स्थानीय चुनावको परिणामलाई हेर्ने हो भने सामान्य बहुमत त एमाले एक्लैको छ । यो प्रदेशमा स्थानीय तहको चुनावमा एमाले एक्लैले ५२ प्रतिशत मत ल्याएको तथ्य हाम्रो सामु छँदै छ । अहिले त नेकपा (माओवादी) समेतको गठबन्धनमा आएपछि हामी दुईतिहाई मत ल्याउँछौँ भन्ने हाम्रो अपेक्षा हामीले नगरेर अरू कसले गर्ने ?

तपाईं प्रदेशको नेतृत्व गर्दै गर्दा के सोच बनाउनुभएको छ, यहाँको विकास र समृद्धिका लागि ?
अहिले हामीले यो प्रदेशमा नेतृत्व गरेपछि के के गर्ने भनेर मोटामोटी अवधारणा तयार गरेका छौँ । वाम गठबन्धनले यो प्रदेशमा सरकार बनाएपछि सर्वप्रथम हामीले आफूलाई चाहिने कानुनहरू बनाउने छौँ । सबैसँग सल्लाह गरेर प्रदेशको विशेषता, आर्थिक स्रोत र आवश्यकता हेरी विकास र पूर्वाधारका रूपरेखा बनाउने छौँ र क्रमशः कार्यान्वयन गर्दै जानेछौँ । त्यसपछि आर्थिक समृद्धिको बाटोमा यो प्रदेशलाई लग्नेछौँ । जलस्रोतका लागि यो प्रदेश उर्वर छ ।

ऊर्जा विकासलाई हामीले प्राथमिकतामा राख्नेछौँ । पर्यटनका लागि यो प्रदेश अपार सम्भावना भएको ठाउँ हो । हामीले पर्यटन विकासका योजना ल्याएका छौँ । वन जंगल जडीबुटीको भण्डार नै हो हाम्रो यो प्रदेश । फलफूल, तरकारी, दूध, माछामासु र कृषिको अत्यन्त राम्रो सम्भावना भएको प्रदेश हो, यो । हामीले त्यसलाई क्रमशः कार्यान्वयनमा उतार्नेछौँ । चीनसँग सीमा जोडिएको प्रदेश भएकाले हामीले चीनको सहयोगमा धेरै काम गर्न सक्छौँ । केरुङबाट रेलवे जोड्ने कुरा भयो ।  अवरुद्ध भएको तातोपानी नाका सुचारु र व्यवस्थापन गर्ने काम हामीले गर्छौं ।

पूर्वाधारको विकास गरेर हामी यो प्रदेशलाई देशकै सबैभन्दा समृद्ध प्रदेशको रूपमा उभ्याउन चाहन्छौँ ।  त्यो दृष्टिकोणसहित हामी काम गर्छौं, मचाहिँ यसमा ढुक्क छु । म हिजो भूमिगतकालमा पनि यही प्रदेशमा बसेर विभिन्न जिल्लामा राजनीतिक र संगठनात्मक काम गरेँ । यो प्रदेशका सबै जिल्लाका धेरैजसो गाउँमा पुगेकी छु । यो प्रदेशको विकास कसरी गर्नुपर्छ भन्ने जानकारी छ । यो प्रदेशमा एमालेका धेरै प्रभावशाली नेताहरू प्रदेशसभाको उम्मेदवार बनेका छन्, सबैले आफूलाई भावी मुख्यमन्त्रीको दाबेदार भन्दै भोट मागिरहेका छन्, भोलि

मुख्यमन्त्री बन्ने बेलामा समस्या त हुँदैन ?
मेरो विचारमा त्यस्तो पटक्कै हुँदैन । प्रदेशमा धेरै कामहरू हुन्छन् । धेरै जिम्मेवारीहरू हुन्छन् । आवश्यकताअनुसार जिम्मेवारी विभाजन गर्नुपर्छ । हामी त्यसै गर्छाैं । मैले पहिला नै चर्चा गरिसकेँ । संघीय व्यवस्था हाम्रो पहिलो अनुभव हो । प्रादेशिक अवधारणामा प्रवेश गरेपछि यसमा अनेकौँ अवसर र चुनौतिहरू हुन्छन् । हामीले धैर्यता र हिम्मतका साथ त्यसको कुशल व्यवस्थापन गर्नुपर्छ । प्रदेश सभामा हामी सल्लाह गरेर नै गएका हौँ ।

पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल, सानु श्रेष्ठलगायत धेरै महत्वपूर्ण व्यक्तिहरू प्रदेशसभामा लड्नुभएको छ । मुख्यमन्त्री एक जना हुने हो । हाम्रो पार्टीमा यसबारे धेरै समस्या आउने छैन । हाम्रो एउटा राम्रो र सक्षम टिम बन्नेछ । कोही सभामुख बन्नुहोला, कोही विज्ञताको हिसाबले सरकार चलाउन बस्नुहोला, कोही प्रदेशसभा सञ्चालन गर्नुहोला ।

योग्य, अनुभवी र सिनियर साथीहरू प्रदेशसभाको चुनाव लड्दा यो प्रदेशको गरिमा बढने अपेक्षा मैले गरेको छु ।  यो प्रदेशको बारेमा एमालेले कति महत्व दिएको रहेछ भन्ने कुरा त हाम्रा उम्मेदवारहरूको नाम र अनुहार हेरेर पनि भन्न सकिन्छ ।

यो निर्वाचनमा तपाईंका मुख्य एजेन्डाहरू के के हुन् ?
पहिलो कुरा त म सुखी नेपाली र समृद्ध नेपाल बनाउने पार्टीको घोषणापत्रप्रति पूर्ण प्रतिबद्ध छु । त्यसलाई योजनाबद्ध रूपमा क्रमशः कार्यान्वयन गर्ने प्रयत्न हुनेछ । विकास र समृद्धिको हाम्रो यात्रामा राजधानीसमेत रहेको प्रदेश–३ लाई नमुनाका रूपमा अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको यथाशीघ्र पुनर्निर्माण, भूकम्पले क्षति गरेको निजी आवासहरूको पुनर्निर्माण, महिला सशक्तीकरण, युवाहरूका लागि रोजगारी सिर्जना गर्नेजस्ता कुराहरू मेरा मुख्य प्राथमिकता रहेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो र उद्योगधन्दा हाम्रो आवश्यकता हुन् । गाउँ र सहरलाई जोड्न यातायातको व्यवस्था महत्वपूर्ण ठान्दछु । व्यवस्थित सहरीकरण र वातावरण मैत्री दिगो विकास निर्माण पनि हाम्रो प्राथमिकता हो । हामी चुनाव जित्न मात्र यी कुराहरू भनिरहेका छैनौँ, हामी यो गरेर देखाउँछौँ । कतिपय दल र उम्मेदवारहरूले खाली चुनाव जित्नका लागि मात्र आश्वासन दिने काम गरिरहेका छन् । यो सर्वथा गलत हो । अब जनताका बीचमा गरिएका प्रतिबद्धताहरू पालना गर्ने कुरामा शंका नराख्न म आग्रह गर्दछु ।

एक समयको प्रतिस्पर्धी शक्तिबीच वाम तालमेल गरेर चुनाव लड्नुभएको छ । एकथरीले यो मिलाप अर्थात् तालमेललाई चुनावसम्म मात्र हो भनेका छन् । यो गठबन्धनबारे तपाईंको धारणा के छ ?
हो, एक समय हाम्रो पार्टी एमाले र माओवादी केन्द्र प्रतिस्पर्धी शक्ति नै थियो । फरक कार्यनीति लिएर अघि बढ्ने क्रममा विगतमा राम्रा नराम्रा सबै कुरा भएका छन् । सम्झनै नसकिने घटना दुर्घटना पनि भएका छन् । तर, म स्पष्ट पार्न चाहन्छु । द्वन्द्वको त्यो डरलाग्दो कालमा पनि माओवादी पार्टीलाई सशस्त्र युद्धको बाटो छाडेर शान्तिपूर्ण संघर्षको बाटोमा आउन÷ल्याउन हाम्रो पार्टीले धेरै महत्वपूर्ण राजनीतिक भूमिका खेलेको थियो ।

समान कम्युनिस्ट विचार राख्ने पार्टीको हैसियतले संघर्ष र एकताको मार्ग अवलम्बन गर्दै आएको प्रसंगलाई पनि भुल्नु हुँदैन ।  धेरै उतारचढावपछि देशको परिस्थिति, जनताको माग र आमकार्यकर्ताको भावनालाई आत्मसात गरेर अहिले चुनावी गठबन्धन भएको छ । हाम्रो देशको राजनीतिलाई स्थिर बनाउन, शान्ति, लोकतन्त्र र आर्थिक समृद्धिको कार्यभारलाई सार्थक बनाउन तथा छरिएको नेपाली कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन यो गठबन्धन गरेका हौँ ।

म स्पष्ट भन्न चाहन्छु हाम्रो यो तालमेल चुनावी गठबन्धनसम्म मात्र सीमित हुने छैन । निकट भविष्यमा हाम्रो यो तालमेल पार्टी एकतामा परिणत हुनेछ ।  हामी दुबै पार्टी यो विषयमा दृढ र प्रतिबद्ध छौँ ।  हाम्रो यो एकताले आमजनसमुदाय र कार्यकर्तामा ठूलो खुसी र उत्साह ल्याएको छ । हामीले भनेका छौँ, विगतमा तीता कुराहरूलाई अहिले नखोतलौँ । त्यसलाई इतिहासको विषय बनाऔँ । जे भए पनि एक दिन ती सम्पूर्ण कुराको समीक्षा हुनेछ । हामीले विगतबाट पाठ सिक्नुपर्छ । हामीले उज्ज्वल भविष्यको निम्ति कार्य गर्नुपर्छ ।

हाम्रो एकताबाट एकथरि मान्छेहरू ज्यादै आत्तिएका छन् र जनतामा भएनभएको भ्रमहरू छर्दै हिँडेका छन् । हामीले त्यस्ता गलत र झूठा कुराहरूबाट रत्तिभर आत्तिनु हुँदैन । हामी कम्युनिस्टहरू हौँ । तथ्यको आधारमा सत्यको नजिक पुग्ने हामीले गर्नुपर्छ । हाम्रो यो एकताबाट म असाध्यै खुसी छु । यसलाई लक्ष्यसम्म पु¥याउन हामी सबैको निष्टापूर्वक जिम्मेवारी भूमिका खेल्नुपर्छ । सबैसँग म यही आग्रह गर्न चाहन्छु ।

प्रदेशको राजधानी कहाँ राख्ने भन्ने चर्चा धेरै सुनिन्छ । कसैले काठमाडौं उपत्यकामा नै उपयुक्त भन्छन्, कसैले काभ्रे र हेटौंडा, यसबारे तपाईंको धारणा के छ ?
राजधानी राख्नेजस्तो महत्वपूर्ण कुरा, भावना आएर कुनै एक जना व्यक्तिले भन्न सक्ने कुरा होइन । चाहना त सबैको आआफ्नै ठाउँमा राखौँ भन्ने होला । तर, राजधानी हुन त्यसका केही पूर्वाधारहरू हुन आवश्यक पर्छ ।  हाम्रो प्रदेशमा १३ जिल्ला पर्दछ । सबैलाई पायक पर्ने ठाउँ हुनुप¥यो । न्यूनतम भौतिक पूर्वाधार पनि हुनुप¥यो । राजधानीजस्तो कुरा एकपटक निश्चित गरेर भौतिक पूर्वाधार बनाइसकेपछि बारम्बार सार्न सकिँदैन ।

तसर्थ, यसबारे म अहिले धेरै भन्न चाहन्न । सिन्धुलीदेखि रसुवा र रामेछापदेखि धादिङसम्म सबै जिल्लामा जनताको भनाइहरू मैले सुनेको छु ।  राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । प्रदेशसभा गठन भएपछि सबैसँग व्यापक सरसल्लाह गरेर टुंगो लगाउने पक्षमा छु । सस्तो लोकप्रियताको निम्ति जहाँ गयो त्यहीँ राजधानी भयो भनेर मैले भन्न मिल्दैन । त्यसैले व्यवस्थित मापदण्ड अर्थात् आधार तयार गरी प्रदेशसभाले राजधानीको विषय टुंगो लगाउनेछ ।

 

प्रतिक्रिया