सरकारद्वारा घोषित १० वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दासमेत निर्माण कार्यले गति लिन सकेको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनमा नयाँ सहर घोषणा भएको पाँच वर्षपछि मात्र बल्ल आयोजनाको रूपमा कार्यान्वयन थालिएको तर गति लिन नसकिरहेको पाटनका स्थानीय वसन्त विष्टले जानकारी बताए ।चालु आवमा नयाँ सहर आयोजनाका लागि झन्डै नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजना कार्यान्वयन कार्यालयले जनाएको छ । ढिला गरी पूर्वाधार निर्माण कार्य सुरु भएको पाटनमा निर्माणको गति पनि सुस्त भएको भन्दै स्थानीयवासीले समयमै लक्ष्य प्राप्त हुनेमा शंका व्यक्त गरेका छन् । घोषणा भए पनि नयाँ सहरको पूर्वाधार निर्माणको काम भने सुस्त गतिमा बढिरहेको पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताए । उनले भने, ‘यस्तो अवस्थामा समयमै लक्ष्य प्राप्त हुन मुस्किल पर्छ ।’
गुरुयोजना बनाएर पूर्वाधार निर्माण
पाटन नयाँ सहर निर्माणका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माणका काम थालिएका छन् । चालु आवमा पाटनमा चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइटसम्म पुग्ने बाटो निर्माणको काम भइरहेका छन् । यस्तै, पाटनको हीरापुरमा पार्क निर्माण, खुला मञ्च निर्माण, ढल व्यवस्थापनलगायतका काम भइरहेको आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको सहरी तथा भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ । सरकारले आव ०६७÷६८ मा पाटनसहित १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो । पाटनलाई आगामी ०८८ सालभित्र नयाँ सहरको रूपमा विकास गरिसक्ने लक्ष्य राखिएको सहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर त्रिलोक विष्टले बताए ।समयमै टेन्डर सम्पन्न भए पनि निर्माण व्यवसायीले समयमै काम नगर्दा नयाँ सहर कार्यान्वयनको गति सुस्त रहेको हो । इन्जिनियर विष्टले भने, ‘एउटै ठेकेदारले धेरै ठाउँमा हात हालेको हुन्छ । समयमै काम नगर्ने परिपाटीले समस्या निम्तिएको हो ।’
पाटन नयाँ सहर आयोजना कार्यान्वयन कार्यालयको काम सन्तोषजनक नभएको भन्दै स्थानीयवासी पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, मुख्य समस्याको रूपमा रहेको जग्गा खरिदको काम र निर्माण व्यवसायीको मनपरिले नयाँ सहर कार्यान्वयन प्रक्रिया अल्झिएको हो ।
नगर विकास समिति सक्रिय भएन
पाटन नगर विकास समिति सक्रिय नहुँदा नयाँ सहर निर्माण कार्यमा समस्या भएको छ । समितिले एक वर्षदेखि पूर्णता नपाउँदा कुनै काम हुन नसकेको नगर विकास समिति अध्यक्ष नारायण भण्डारीले बताए । अध्यक्ष भण्डारीले भने, ‘समितिमा म एक्लै छु । त्यसैले बैठक बस्न नसकेको अवस्थामा समिति निस्क्रिय छ भन्दा फरक पर्दैन ।’विगतका समिति पनि निस्क्रिय रहँदा जग्गा विवाद सल्टिएन र अब पनि पूर्णता दिन सकिएको छैन । उनले भने, ‘अब समितिलाई पूर्णता दिन पहल गर्नेछौँ,’ उनले थपे, ‘विगतमा के के भयो केही थाहा पाउन सकिएन, रजिस्ट्रार पनि पाएको छैन ।’ २० वर्षभित्रै नयाँ सहरको रूपमा विकास गर्ने लक्ष्य लिइए पनि पाँच वर्षसम्म पनि जग्गा विकास, बजार र बस्ती व्यवस्थापनका लागि पाटन नगरपालिका र सहरी तथा भवन डिभिजन कार्यालयले कुनै पहल गर्न सकेको छैन । एकातिर पाटनलाई नयाँ सहर बनाउने चर्चा छ भने अर्कोतिर पाटनबाट बसाइँ सर्नेको संख्या पनि रोकिएको छैन । पूर्वाधार निर्माणका कामलाई गति दिनसके स्थानीयवासीमा छाएको निराशा कम जानेछ ।
रोजगारीको अवसरको सिर्जना, सर्वसुलभरूपमा गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन सकिए पाटनलाई आगामी १५ वर्षभित्र नयाँ सहरका रूपमा विकास गर्न सकिने विज्ञको भनाइ छ । यस्तै पाटनमा रहेको जग्गा अतिक्रमण रोकिएको छैन । बजार क्षेत्रमा रहेको जग्गा त्यहाँका स्थानीयवासीले अतिक्रमण गरेर पसल थापेर बसेकाले पाटन सहर विकासका लागि समस्या भएको नगर विकास समितिले जनाएको छ ।
पाटन विमानस्थल पुनः सञ्चालनको तयारी
सुदूरपचिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी गरिएको छ । पाटन विमानस्थल बन्द भएको दुई दशकपछि पुनः सञ्चालनको लागि तयारी थालिएको हो । सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्न विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भएको छ । पाटन विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरण विमानस्थल सञ्चालनका लागि उत्कृष्ट रहेको रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्सीका एयरपोर्ट इन्जिनियर गुरुदत्त घिमिरेले बताउँछन् । पाटन विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाको मध्यबिन्दुको रूपमा यो क्षेत्रलाई विकास गर्न सकिने प्रचुर संभावना छ ।सुदूरपचिमकै दोस्रो ठूलो यो विमानस्थल सञ्चालनमा नआउँदा गौचरण र खेल मैदानमा परिणत भएको छ । ०३४ सालमा सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल ०५२ सालदेखि पूर्णरूपमा बन्द अवस्थामा छ । नौ सय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो विमानस्थल हो ।
बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको ‘मिनी’ सदरमुकाम भनेर परिचित छ र यो विमानस्थल सञ्चालनमा आउन सके यस क्षेत्रको विकास हुने निश्चित छ । यस विमानस्थलका कार्यालय भवन १२ वर्षे द्वन्द्वकालमा क्षतिग्रस्त बनेका थिए । यो विमानस्थल सञ्चालन हुनसके व्यापार व्यवसाय फस्टाउनुका साथै पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयवासी कपिल केसीले बताए ।
‘भारतसँग सीमा जोडिएकाले दुई देशबीचको व्यापार फस्टाउनेछ,’ उनले भने, ‘व्यापार व्यवसाय फस्टाउँछ नै र विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ ।’ पर्यटकीय आकर्षणका रूपमा रहेका नेपालकै गहिरो गुफा पाताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायत क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । पाटन सहरमा रूपान्तरण भए सुदूरपश्चिमका जनताको जीवनस्तर माथि उठ्ने र अबको २० वर्षभित्र यहाँ एक लाख मानिसले बसोबास गर्न सक्ने आशा राखिएको छ ।
प्रतिक्रिया