महाभारतको सन्देश गणतान्त्रिक व्यवस्था !

राजा दुष्यन्त र शकुन्तलाका पराक्रमी पुत्र राजा भरतले विशाल भारत वर्षको मात्रै स्थापना गरेनन्, उसले असल राजाका कर्तव्यहरू पनि निर्धारित गरे । उनका अनुसार एउटा असल राजाका तीन कर्तव्य हुन्छन् जनतालाई न्याय दिने (आन्तरिक सुशासन), जनताको सुरक्षा गर्ने (बाह्य आक्रमणबाट रक्षा) र त्यो दुबैको प्रत्याभूति गर्न सक्ने उत्तराधिकारी (अर्थात्, युवराज) दिने । आफ्ना छोराहरूमा यी गुणहरू नदेखेकाले एउटा जनताको छोरो भारतद्वाज ऊपमन्यूलाई उनले आफ्नो युवराज घोषित गरे ।
त्यसै दिनदेखि राजा भरतले भारत वर्षमा ‘गणतान्त्रिक’ शासन प्रणालीको सुरुआत गरेका थिए, जसअनुसार भारत वर्षमा (अर्थात्, हस्तिनापुरमा) जन्मको आधारमा होइन कर्मको, योग्यताको आधारमा राजा हुने प्रचलन बस्यो ।
कालान्तरमा उक्त देशमा शान्तनु नाम गरेका राजा भए । उनले गंगासँग उनको व्यवहारबारे प्रश्न नगर्ने सर्तमा प्रेम विवाह गरे र अन्तमा त्यही सर्त पालना नभएकाले गंगाले उनलाई छाडिन् । तर, गंगाबाट शान्तनुलाई साह्रै विद्वान र वीर देवव्रत नाम गरेका एउटा छोरा प्राप्त भएको थियो । उनले देशको रक्षा गर्ने तथा न्याय दिने जस्ता योग्यता आवश्यक समयमा प्रदर्शन गरेकाले राजा शान्तनुले उनलाई कर्म कै आधारमा युवराज घोषित गरेका थिए । एक्ला शान्तनु फेरि सत्यवती नामकी अर्की युवतीसँगको प्रेममा फँसे । सत्यवतीका पिताले विवाहका लागि सत्यवतीको छोरा राजा हुनै पर्ने सर्त राखे । नैतिक हिसाबले उक्त सर्त स्वीकार्न नसकि शान्तनु खाली हात घर फर्के । तर उनी सत्यवतीको प्रेममा पागल जस्तै रहन थाले । आफ्ना पिताको यस्तो बेहाल भएको जानकारी पाएका देवव्रत पिताको सेवा गर्ने कि देशको भन्ने मानसिक द्विविधामा फँस्छन् । अन्तमा पिता कै सेवा गर्ने विचारले देवव्रत आफंै सत्यवतीका पिताकहाँ पुगेर आफ्नो सट्टा सत्यवतीका पुत्रलाई राजा हुने निश्चितता प्रदान गर्छन् । यसमा देवव्रतका सन्तानले पछि कुनै अवरोध खडा गर्र्न नसक्ने आश्वासनको पनि माग भएपछि देवव्रतले आफू आजीवन अविवाहित र निःसन्तान रहने प्रण गर्दछन । यो भीष्म प्रतिज्ञा गरेको हुनाले उनलाई भीष्म पनि भनिन थाल्यो ।
भनिन्छ, यो प्रतिज्ञाको सबैले प्रशंसा गरे । भीष्म प्रतिज्ञा गरेर देवव्रतले आफ्ना पितालाई उनकी प्रेमिकासँग त मिलाइदिए तर त्यसको साथै हस्तिनापुरमा कर्म र योग्यताबाट राजा हुने विधानलाई तोडेर जन्मको आधारमा राजा हुने परम्पराको पुनः सुरुआत गरिदिए । सम्पूर्ण देशलाई नै योग्य नेतृत्व पाउने अवसरबाट एकाएक वञ्चित गरिदिए । शासन विधिमा गरिएको यस्तो जवर्जस्ती परिवर्तन देशलाई कसरी घातक हुन सक्छ भन्ने परिदृश्य देखाएर गणतान्त्रिक व्यवस्थाको पक्षमा समाजलाई सचेत गराउने लक्ष्य महाभारतको कथाले लिएको देखिन्छ ।
जन्मको आधारमा राजा हुने परम्पराको (राजतन्त्रको) धेरै कमजोरीमध्ये राजाले अयोग्य सन्तान जन्माउनु वा सन्तान जन्माउनै नसक्ने परिस्थिति हुनु पनि एक हो । राजाको सन्तान जन्माउने प्रक्रियामा कुनै प्रकारको त्रुटि हुन आएमा राजाका उत्तराधिकारीको व्यवस्था कसरी होला, देशले कस्तो (कस्तो राजा पाउला, उत्तराधिकारीसम्बन्धी अरू कस्ता समस्याहरू उठ्लान र तिनको विधिवत समाधान कस्ता कस्ता होलान् भन्ने विवरणको पोको महाभारतको कथा हो ।
यो शृंखलाको सुरुमा सत्यवतीका छोराहरू क्रमैले राजा त हुन्छन् तर सन्तान जन्माउनुअघि नै दुबैले मृत्युवरण गर्न पुगेकाले देशलाई राजा दिन रानीहरूले व्यासको वीर्यदान लिनुपर्छ । यसै क्रममा दरबारको जेठो छोरो (धृतराष्ट्र) अन्धो जन्मेकोले ऊ राजा हुन अयोग्य हुन्छ । उसको भाइ (पाण्डु) ले राज्य पाउँछ । उसलाई पनि रानीहरूसँग सहबास गर्न नहुने श्राप पर्छ र ऊ वैरागिएर वनबास जान्छ । धृतराष्ट्र प्रतिनिधि राजा हुन पुग्छन् । उता वनमा रहँदा पाण्डुका रानीहरूले पनि आफ्ना सासूले जस्तै शक्तिशाली पुरुषहरूबाट वीर्यदान लिएर पाँच सन्तान (पाण्डव) जन्माउँछन् । ती सन्तानमध्येका जेठा, युधिष्ठिर, दरबारमा रहेका प्रतिनिधि अन्धो राजाका जेठो छोरो (दुर्योधन) भन्दा पनि जेठा हुन्छन् ।
यहाँ आइपुगेपछि हस्तिनापुरको राजसिंहासनको असली हकदार दरबारबासी दुर्योधन हो कि वनबासी युधिष्ठिर भन्ने विषयमा ठूलो प्रश्न खडा हुन्छ । दरबारबासी कौरवहरू (दुर्योधन पक्ष) वनबासी पाण्डवहरूलाई (युधिष्ठिरहरूलाई) आफूसरहको हकदार मान्न हिच्किचाउँछन् र यो समस्यालाई विभिन्न पात्रहरूका अभिमान र प्रतिशोधको भावनाले कदममा यति धेरै जटिल बनाउँदै जान्छ कि मान्छेको रूपमा आएका ईश्वरले (कृष्ण) प्रयत्न गर्दा पनि यस्को चित्तबुझ्दो समाधान निस्कन नसकेर महाभारतको युद्ध भएरै छाड्छ । यो युद्धले गर्दा धनजनको अपार क्षति हुन पुग्दछ । यस्को सेरोफेरोमा कथाभित्रका घटनाक्रमहरू बढो रोचक ढंगले विकसित हुन्छन्, निकै ज्ञान–गुनका कुराहरू (गीता) पनि आउँछन् जसले यो उपन्यासलाई अजम्मरी बनाइदिएको छ ।
यहाँनेर ध्यान दिन योग्य कुरा के हो भने महाभारतको कथाको मूलजरोमा देवव्रतले गरेको ‘भीष्म’ प्रतिज्ञा रहेको छ । यो प्रतिज्ञाले तात्कालीन विधानको उल्लंघन गरेको छ । आफ्नो व्यक्तिगत सन्तोषका लागि अर्थात् आफ्ना पितालाई मनपरेकी श्रीमती ल्याइदिन, हस्तिनापुरको राजगद्दीको उत्तराधिकारी योग्यताको आधारमा छान्ने विधानलाई देवव्रत अर्थात् भीष्मले अभिमानपूर्वक परिवर्तन गरेर जन्मको आधारमा राजा हुने व्यवस्था नगरेको भए महाभारतको कथाको सुरु र अन्त यस प्रकारको हुने नै थिएन भन्न सकिन्छ ।
देशको राज्यसत्ता कर्म अर्थात् क्षमताको आधारमा नभई जन्मको आधारमा प्राप्त हुने व्यवस्था भयो भने, अरू कुरा त परै राखौँ, राजामा हुन सक्ने प्रजनन् प्रणालीका दोषको (सन्तान जन्माउन नसक्ने वा अयोग्य सन्तान जन्मने) कारणले मात्र पनि त्यो देश र सभ्यताकै विनाश निम्तन सक्ने सम्भावना भएकाले महर्षि व्यासले महाभारतको
कथामार्फत हामीलाई शिक्षा दिएका छन् ।
(१) जन्मको आधारमा हैन कर्मको आधारमा शासक छान ।
(२) जतिसुकै पराक्रमी, विद्वान र शक्तिशाली भए पनि व्यक्तिगत लाभ वा स्वार्थ सिद्ध हुने भए पनि देशको विधान नै मिचिने (वा बदलिदिने) खालका निर्णय एक्लै (वा २–४ जना मिलेर) लिनु हुन्न भन्ने सन्देश दिएका छन् ।
औपन्यासिक नै भए पनि सायद महाभारतको कथा राजतन्त्रभन्दा गणतन्त्र उच्चकोटीको राज्य व्यवस्था हो भन्ने खालको राजनीतिक चेतना फैलाउन लेखिएको पहिलो ग्रन्थ हुन सक्छ ।

प्रतिक्रिया