चैत्र १६ गते नेपालका विख्यात इतिहासकार धनवज्र वज्राचार्यको ८४औँ जयन्ति ‘ज्ञानगुनका कुरा’ साहित्यिक प्रतिष्ठानको तत्ववधानमा किस्ट कलेज, कमलपोखरीमा आयोजित थियो । नेपालका राम्रा वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथि अनि लुम्बिनी–बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धर विशिष्ट अतिथि रहेको यस समारोहको अध्यक्षता सोही विश्वविद्यालयका अर्का पूर्वउपकुलपति प्राडा तुलसीराम वैद्यले गरेको उक्त समारोहमा नेपालका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको समुपस्थिति थियो ।
यस कार्यक्रमको सन्दर्भ धनवज्रको ८४ औँ जन्मजयन्ति भए तापनि यसको प्रसंगचाहिँ उनीबाहेक ‘ज्ञानगुनका कुरा’ का बिपी विशेषांक भाग १९१, प्राडा दिलबहादुर क्षेत्री विशेषांक–१, प्राडा शोभा पोखरेल विशेषांक र न्याय भाग–२१– हरिप्रसाद प्रधान स्मृति अंक–२ लगायतका विशेषांकहरूको विमोचन सम्पन्न गर्नुथियो । यीमध्ये उक्त पत्रिकाका सम्पादक शेषराज शिवाकोटी सम्पादित ‘धनवज्र वज्राचार्य : दृष्टिकोण र मूल्यांकन’ शीर्षकको पुस्तकचाहिँ विशेष महत्वको पनि थियो । प्रस्तुत लेख उक्त ६ पुस्तकहरूको संक्षिप्त समीक्षामा केन्द्रित छ ।
(ख) प्रसंगमा ९० डिग्रीको परिवर्तन
दुर्भाग्यवश, यी पंक्ति प्रकाशमा नआउँदै वैशाख १२ गते शनिबार मध्याह्न ११.५६ बजे ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछि झन्डै सोही म्याग्निच्युडका ३ समेत गरी झन्डै ३१५ ठूला र साढे २३ हजार ४ म्याग्निच्युडभन्दा तलका प्रकम्पनहरूको मारमा परी हालसम्म झन्डै ९००० हजारको ज्यान जाने र २३ हजार बढी घाइते हुनेहरूको पीडाभित्र मुलुक गुज्रिरहेको परिवेशमा म स्वयं पनि घाइते अवस्थमै अरु पनि केही कृत्तिहरूको अध्ययन गर्नुपर्ने संयोग पनि यसै प्रसंगमा जोडिन आयो । तीमध्ये मुख्य थिए– किशोर नेपालको ‘मेरो समय’ र हिरण्यलाल श्रेष्ठको ‘चीनसँगको ६० वर्षे गतिशील सम्बन्ध’ । त्यसैगरी ऋषिकेश शाहको प्रारब्ध र पुरुषार्थलगायत पुस्तकहरू पनि पढ्नु प¥यो । दुःखका साथ भन्नुपर्छ– प्रस्तुत सन्दर्भभित्र उक्त कृतिहरूचाहिँ नसमेटिएको हुँदा गत महिना मात्र प्रकाशित ज्ञानगुनका कुरा सम्बद्ध अन्य कृतिहरूमाथि मात्र संक्षिप्त समीक्षा यस सन्दर्भमा प्रस्तुत छ ।
(१) धनवज्र वज्राचार्य : दृष्टिकोण र मूल्यांकन
ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा जम्मा १६ वटा आलेखहरू संग्रहित छन् । लगनशील विद्वान् न्यायाधीश शेषराज शिवाकोटीको ओजस्वी प्रकाशकीय मन्तव्य रहेको यो पुस्तक मूल्य रु. १५०/– अनि पृष्ठ संख्या ११२ तथा उत्कृष्ट कागजमा लिपिबद्ध छ । देशका नाम चलेका ‘प्राडा’र इतिहासको अतिरिक्त संशोधन मण्डलका हस्ति महेशराज पन्तको धनवज्रसम्बन्धी अग्रलेखले यस पुस्तकलाई विचारोत्तेजक एवं संग्रहणीय तुल्याइदिएको छ ।
(२) ज्ञानगुनका कुरा भाग –१९०
ज्ञानगुन प्रकाशनको यो १९०औँ अंक धनवज्र वज्राचार्य स्मृति अंक–७ भएबाट यस नाममा यसपूर्व ६ अंकहरू प्रकाशित भइसकेको स्वतःसिद्ध छ । यस अंकमा चाहिँ उही नेपालका इतिहास विषयका नाम चलेका ‘प्राडा’बाहेक साहित्यकार रमेश गोर्खाली र भरतजंगम जस्ता हस्ति एवं साहित्यनुरागीहरूका लेखहरू पनि समावेश छन् । जम्मा लेख संख्या सात रहेको यसमा ज्ञानगुन प्रतिष्ठानले गरेका विभिन्न सम्मान समारोहहरूका चित्रहरू पनि प्रस्तुत छन् ।
(३) ज्ञानगुनका कुरा भाग – १९१
ज्ञानगुनले यो अंकचाहिँ नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली साहित्यमा यौनमनोविज्ञानका प्रयोगकर्ता विख्यात साहित्यकार बिपी कोइराला शतवार्षिकी अंक– २ का नाममा प्रकाशित छ । यसमा नेपालका एकाध ‘प्राडा’ बाहेक एसपी ‘आशा’ र देवीप्रसाद वनवासी । त्यसैगरी, डिल्लीराज ‘श्रीधर’ र माधव काफ्लेसमेत ६ जनाका लेख–रचना संग्रहित देखिन्छन् । यीमध्ये देवीप्रसाद वनवासीको एउटा अड्वांगे लेख पनि यसमा छापिएको रहेछ । उक्त लेखमार्पत फेरि एकपल्ट अर्को नेपालीले संशोधनमण्डलमाथि गाली गरेको भाव पढ्नुपर्दा म निकै खिन्न भएँ । लाग्यो, नेपाली लेखकहरूले अभै पनि मानिसको देवत्वकरण गर्ने सिद्धान्त परित्याग गर्न सकिरहेका रहेनछन् । कस्तै व्यक्ति, त्यो बिपी कोइराला वा प्रचण्ड नै भए पनि त्यो दोषरहित हुन सक्दैन भन्ने तथ्य अकाट्य हो । कमबेसी मात्र तर गल्ती नगर्ने मान्छे नै हुँदैन भन्ने तथ्यविरुद्ध बहस गर्नु मूर्खताबाहेक अर्थोक नहुने स्पष्टै छ । संशोधनमण्डलले त यस सत्यलाई उद्घाटन मात्र गरिदिएको हो, स्वयं संशोधकहरू पनि दोषरहित हुने कुरा आउँदैन, कुरा यत्ति हो ।
(४) ज्ञानगुनका कुरा भाग–१९२
यो अंक प्राडा दिलबहादुर क्षेत्री अंक–१ का रूपमा प्रकाशित छ । डा.क्षेत्री नेपाली ‘प्राडा’ मध्ये निकै चालु मानिन्छन् जो समाजका विभिन्न विधाहरूमा आफ्ना कृति, बोलीचाली र आनीबानीका कारण निकै प्रचारित पनि छन् । सँगसँगै आफ्नो बौद्धिक प्रयासका लागि पनि त्यतिकै सम्मानित छन् । सामाजिक अभियानमा पनि त्यतिकै सक्रिय छन् । वस्तुतः उनको यसै योगदानलाई कदर स्वरूप ‘ज्ञानगुन’ ले यो विशेषांक प्रकाश गरेको स्पष्टै छ जसमा साना–ठूला २९ व्यक्ति–व्यक्तित्वले उनी माथि उल्लेख्य प्रकाश पारेका छन् । त्यसैले डा.क्षेत्रीबारे जान्न चाहनेका लागि यो विशेषांक निकै लाभदायक हुने देखिन्छ ।
(५) ज्ञानगुनका कुरा भाग–१९३
यो भाग १९३ चाहिँ प्राडा शोभा पोखरेल अंक–१ का रूपमा प्रकाशित छ । शोभा पोखरेल इतिहासका प्राध्यापक रही त्रिविको इतिहास परिवारमा निकै लोकप्रिय भएकाले त्यसकी भाउजू अर्थात् ‘इतिहासकी भाउजू’ का रूपमा पनि विख्यात छिन् । साथै, टंकप्रसाद आचार्य प्रतिष्ठानलगायत संघसंस्थामा रही सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छिन् यी इतिहासकी भाउजू । यस अंकमा यिनी विषयमा विभिन्न व्यक्तिहरूका जम्मा ९ वटा आलेख संग्रहित देखिन्छन् ।
(६) न्याय, भाग – २१
साहित्य र वांमयका लागि ज्ञानगुन प्रकाशनले इतिहास र साहित्यका विभिन्न विधा र व्यक्तित्वमाथि विचरण एवम् मानसम्मान गर्दै आएको छ भने कानुनतर्प चाहिँ ‘ज्ञानगुन कानुन प्रतिष्ठान’ नामबाट न्यायतर्पm पनि शेषराज शिवाकोटीले त्यतिकै बौद्धिक अभ्यास गरिआएको पाइन्छ । हालसम्म यसतर्पm २१ अंक प्रकाशित देखिन्छन् भने हरिप्रसाद प्रधानतर्पm चाहिँ यो अंक २ का रूपमा प्रकाशित छ ।
हरिप्रसाद प्रधान नेपालको प्रधान न्यायलयका प्रथम अनागरिक न्यायाधीश भए पनि यिनी आफ्नो निर्भीक न्यायपद्धति र प्रजातान्त्रिक मूल्य–मान्यताले गर्दा निकै नै प्रतिष्ठित व्यक्ति थिए । जसको पक्ष पोषणले गर्दा २००७ को दशकमा निजको दरबारसँग नै टक्कर पर्न जाँदा अन्ततः त्यहाँबाट नै विस्थापित हुनुपरेको देखिन्छ । यही कारण हो, यिनले पनि निर्भीक एवं आदर्श न्यायमूर्तिप्रतिको सद्भाव बढोस् भन्ने ध्येयले गुणग्राही सम्पादक शिवाकोटीले प्रधान जस्ता ज्ञानी र दृढनिश्चयी व्यक्तिलाई पनि महत्व दिएर न्याय भाग–२१ लाई ‘हरिप्रसाद प्रधान स्मृति अंक–२’ प्रकाशमा ल्याउने प्रशंसनीय निर्णय गरेर प्रशंसनीय कार्य गरेको मान्नुपर्छ । अतः उनीबारे जान्न यो अंक पनि निकै लाभदायक देखिन्छ ।
प्रतिक्रिया