जावलाखेलको चिडियाखानाअगाडिको ट्याक्सी स्ट्यान्डमा एउटा मात्रै ट्याक्सी थियो । मलाई गौशाला आउनुपर्ने थियो । ट्याक्सीतिर हेरेँ– ड्राइभरको हुलिया डरलाग्दो थियो । कपाल तालु, कानमा बडा मुन्द्रा, एकदमै कालो चश्मा, हातमा बेरेको रुद्राक्षको माला । ठ्याक्कै नेपाली टेलिफिल्महरूमा कहिले काहीँ खेल्ने ‘दावा डन’ जस्तै । मलाई उनको ट्याक्सीमा चढ्न मन लागेन । तर, अरू ट्याक्सी नभएको र घर जान ढिलो भइसकेकाले मसँग अरू उपाय भएन ।
उनको नजिकै गएँ र भने, ‘दाइ खाली हो ?’
‘खाली हो सर !’ उनले अति नै नम्र स्वरमा भने ।
म त छक्क परेँ । उनको स्वरूप र उनको स्वरमा आकाश र जमिनको फरक थियो । उनको लवज सुनेपछि मेरो डर हरायो । घर आउनका लागि ट्याक्सी चढेँ ।
ती ट्याक्सीचालक बहुत मजाका मान्छे रहेछन् । कुरा सुरु गर्दै उनले भने, ‘मेरो ट्याक्सीमा खासै मान्छे नै चढ्दैनन् सर । कहिले काहीँ खाली हिँडिरहेको बेला, बाटोमा बुढा मान्छेलाई अनि अपांग मान्छेहरूलाई लगिदिन्छु भन्छु, चढ्नै मान्दैनन् !’
मैले भनेँ, ‘तपाईंलाई देखेर डराउने होला । म त अघि डराएँ ।’
उनले हाँस्दै भने, ‘होला सर । मलाई फेरि पहिलादेखिको सोख हो यो । एक्सरसाइज गर्ने, ड्रेस अप गर्ने । अहिले ५५ वर्षको भएँ ।’
मलाई छक्क लाग्यो । उनी मुस्किलले ४० वर्षका जस्ता देखिन्थे ।
मैले कुरा मोड्दै सोधँे, ‘भुइँचालो आउँदा, कता हुनुहुन्थ्यो त दाइ ?’
उनले भने, ‘सर ! म त तीनजना विदेशी केटी लिएर भक्तपुर घुम्न गा’को थिएँ । ‘ल, हामी भित्र घुम्छौँ । तिमी यहीँ पर्ख’ भनेर तिनीहरू भित्र गए । म चाहिँ गाडीमा पल्टिएँ । एकैछिनमा सबै मान्छे भाग्–भाग् भन्दै कुदे । म त केही बुझ्दै नबुझी भाग्न खोजेँ । के–को हिँड्न सक्नु ? खुट्टै चलेनन् ।’
मैले चाख मान्दै सोधेँ, ‘अनि ?’
उनले भने, ‘अनि एउटा सिंहको मूर्तिमा दह्रो गरी समातेर उभिएँ । मूर्ति त यस्तो हल्लियो कि कुरै छोड्नु । म त छक्क परेँ । के भा’को यस्तो भनेर । आज (त्यस) बिहानै जाँड पनि खाको छैन । पछि पो मान्छेले भुइँचालो आयो भने । अनि पो मलाई थाहा भा’को ।’
मैले हाँस्दै सोधेँ, ‘त्यसपछि के भयो त ?’
उनले भने, ‘हेर्नु सर ! मान्छेको मन कस्तो पापी ? सबैतिर घर लडेर, मान्छे रोएर बिजोग थियो । मलाई चाहिँ ती विदेशीहरू पनि कता हराए ? मरे कि बाँचे ? अब मेरो पैसा गयो भन्ने लाग्यो ।’
उनले मतिर हेरे । मैले केही नभनी सुनिरहेँ ।
उनले नै अगाडि भने, ‘फेरि आफैँ सोचेँ– थुक्क मेरो मन । विचरा अर्काको देशमा घुम्न आका तिनीहरू कहाँ फसे होलान् भन्ने लाग्यो । अनि उनीहरूलाई खोज्न हिँडे ।’
मलाई उनको कुरा एकदमै मन प¥यो । सोधेँ, ‘खोज्नै जानुभयो ?’
उनले भने, ‘हो त । खोज्दै गएँ । काहीँ छैनन्, भेटिँदैनन् । अलि अगाडि गएपछि फेरि भुइँचालो आयो । कृष्ण मन्दिर मेरै छेउमा बर्लंग लड्यो । एकछिन त्यहीँ बसेँ । अलि साम्य भएपछि फेरि अगाडि गएँ । अलि पर पुग्दा त तिनीहरू तीनैजना एकअर्कासित अँगालो मारेर बसेका रहेछन् ।’
मैले फेरि सोधेँ, ‘अनि के भयो त ?’
उनले भने, ‘मैले उनीहरूको छेउमा पुगेर ‘यु ओ के ?’ भनेर सोधेँ । विचराहरू त मलाई समातेर ग्वाँ–ग्वाँ रोए । मलाई त उनीहरूप्रति कस्तो माया लाग्यो सर ।’
मेरो मन पो भरिएर आयो । भनेँ, ‘हामीलाई खोज्दै ट्याक्सी चालक आयो भनेर होला दाइ, खुशीले रो’का ।’
उनले भने, ‘खोई के होला ? अनि मैले ‘गो होम ?’ भनेर सोधेँ । अनि हामी चारैजना विस्तारै बाहिर निस्कियौँ । कता–कता फेरि हल्लाउँथ्यो, एकछिन बस्थ्यौँ । उनीहरू बसेको होटल पुग्न तीन घन्टा लाग्यो ।’
मैले जिस्क्याउँदै सोधेँ, ‘अनि पैसा दिए त दाइ ?’
उनले हाँस्दै भने, ‘दिए सर ।’
ती दाइसँग यस्ता रमाइला कुरा गर्दै मेरो घर आइपुग्यो । बिदा माग्नुअघि मोबाइल नम्बर मागँे । मलाई थाहा थियो, फोन त गरिँदैन होला । त्यही पनि मागेँ । उनले नाम र नम्बर टिपाए । अनि हात हल्लाउँदै बिदा भएँ ।
कोठा छिर्दै गर्दा मेरी श्रिमतीले भनिन्, ‘कोही मान्छे कस्ता असल हुन्छन् है !’
मैले जवाफमा केही भनिनँ । अघिका देख्दैका डरलाग्दा ट्याक्सी चालकलाई सम्झेँ र मुस्कुराएँ ।
प्रतिक्रिया