घरेलु तथा साना उद्योग महासंघको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं । लघु, घरेलु तथा साना उद्यमीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, संगठनात्मक अप्ठयारा पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक–निजी साझेदारी ढाँचालाई मजबुद बनाउँदै रोजगारी सिर्जनामा सबैको ध्यान जानुपर्ने बताए । उनले स्थानीय आर्थिक विकासका लागि उद्यमीलाई प्रोत्साहन र परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा राखे ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिँदै निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यान जानुपर्ने बताए । सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै उनले उद्योगीको मुहारमा खुसी ल्याउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासंघले जनाएको छ । २५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ ।

आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् । महासंघका अनुसार मुलुकभर ९ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया