
सुर्खेत । गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषिलाई रोजगारीको आधार बनाई मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले २ वर्षअघि थालेको कृषि व्यवसाय कृषि अध्ययन गर्ने अन्य विद्यार्थीका लागि पनि रहरलाग्दो बनेको छ । कृषि विज्ञान पढेर पनि रोजगारीका लागि अन्य विभिन्न क्षेत्रमा भौँतारिनेहरूका लागि गतिलो उदाहरण बनेका छन्— समीर ।
गुर्भाकोटको पुख्र्यौली बारीमा सिम्ताली एग्रोफार्मको नाममा ड्रागन, आँप र लिची रोपेर हरियाली भइरहँदा भेरीगंगा नगरपालिकाको रामघाटमा थालेको बायोग्रिन एग्रोबाट सिजनल कृषि उत्पादनहरूले मनग्य आम्दानी बढाउन थालेका छन् । आफ्नो फार्ममा परिवारका ५ जनासहित १२ जनाले रोजगारी पाएको उनले बताए । व्यवसाय थालेको छोटो अवधिमै भएको आम्दानीले कृषि पेसाप्रति भरोसा बढेको उनी बताउँछन् । गुर्भाकोटमा फलफूल खेती गरिएको छ । त्यसको उत्पादन हुन केही समय लाग्ने भए पनि रामघाटको फार्मबाट छोटो समयमै राम्रो कमाइ भएको उनले बताए । ३० रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिरहेका समीरले मौसमअनुसार खेती गरेका छन् । अघिल्लो वर्ष फूल खेती गरेका उनले फूलको सिजनपछि खरबुजा लगाए । उनले यो सिजनमा झन्डै ५०० क्विन्टलभन्दा बढी खरबुजा उत्पादन गरेको सुनाए ।

अहिले उनको फार्ममा तिते करेला, खरबुजा र गोब्रे च्याउ राम्रै मात्रामा उत्पादन भइरहेको छ । पछिल्लो ३ महिनामा ४०० किलोभन्दा धेरै च्याउ बिक्री गरेको बताउँदै उनले भने, ‘च्याउ र खरबुजा सँगसँगै उत्पादन भइरहेको छ । ३ महिनामा ५०० क्विन्टल हाराहारी खरबुजा र ४०० किलो च्याउ बिक्री भयो ।’ कृषि उत्पादनका लागि बजार अभाव नभएको उनको अनुभव छ । बर्खामा फूल खेतीबाट मनग्य आम्दानी भएपछि हौसिएका उनले बजारको माग र समयअनुसारको उत्पादनमा जोड दिएका छन् । ‘सुर्खेतको रामघाटमा फुलाएको हजारी फूल नेपालका विभिन्न ठाउँमा पठाउन सकेँ,’ उनले सन्तोष व्यक्त गर्दै भने, ‘च्याउ र खरबुजाका लागि सुर्खेत आसपासकै बजार पर्याप्त छ ।’ आफ्नो उत्पादनले बजार मागको नगन्य मात्रामा मात्रै आपूर्ति धान्ने सुनाए ।
औसतमा २५ रुपैयाँ किलो खरबुजा बिक्री गरेका समीरले गोब्रे च्याउ प्रतिकिलो ५०० रुपैयाँमा बेचिरहेको बताए । सुरुमा आफ्नो पढाइको प्रयोगात्मक गर्न सजिलो हुने लागेर कृषिमा हौसिएका उनी अहिले राम्रो आम्दानी हुन थालेपछि पेसा नै यसैलाई बनाएका छन् । व्यवसाय विस्तार गर्न अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन गरिरहेका समीर युवाहरूलाई सामूहिक रूपमा कृषिमा आकर्षण गर्न सके देशको अर्थतन्त्र बढाउन मद्दत गर्ने विश्वास गर्छन् । व्यवसाय सुरु गरेको छोटो अवधिमा सबै खर्च कटाएर औसतमा मासिक १ लाख २५ हजार रुपैयाँ आम्दानी भएको उनले बताए ।

आफूले थालेको जग्गामा सिँचाइ सुविधा नभए पनि खरबुजा खेतीका लागि थोपा सिँचाइ प्रविधि अपनाएको उनले बताए । व्यवसाय विस्तार गर्दै कर्णालीका विभिन्न जिल्लामा पु¥याउने लक्ष्य उनको छ । ‘कृषिमा रुचि भएका युवाहरूलाई समेटेर उत्पादन बढाउने अन्य ठाउँमा पनि बजार विस्तार गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘हाम्रो देशलाई कृषिप्रधान भनिएजस्तै उत्पादनप्रधान बनाउन जरुरी छ ।’ उनले आफ्नो फामबाट केही समयमा ड्रागन, लिची र आँपले पनि उत्पादन दिने बताउँदै तरकारीको बिउ उत्पादन र फूल खेतीलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
नेपाललाई कृषिप्रधान देश भने पनि त्यसअनुसारको योजना, पूर्वाधारको विकास र कृषकलाई राज्यको सहयोग जरुरी भएको समीर बताउँछन् । कृषि सम्भाव्य क्षेत्र हो भने यसका लागि सरकारले ठुलो योजना बनाउनुपर्ने उनको तर्क छ । समयमा बिउवीजन, भारतीय उत्पादनसँगको बढ्दो प्रतिस्पर्धा तथा छोटो समयमै धेरै नाफा कमाउने मनसायले कृषिमा युवाहरू टिक्न नसकेको उनको बुझाइ छ । किसानले सधैँ सिँचाइ, बिउबिजन र प्राविधिक सहयोगको समस्या भोग्दै आएको उनी बताउँछन् । उत्पादन भएको सामानको मूल्य निर्धारण नहुँदा पनि किसान मारमा पर्ने गरेको उनी बताउँछन् । प्रविधि अभाव, गुणस्तरीय बिउबिजन, सिँचाइ, मलको अभाव तथा मूल्य निर्धारण नहुनुजस्ता समस्याले किसान मर्कामा परेको उनले बताए । रोजगारीको खोजीमा लाखौँ रुपैयाँ खर्चेर बिदेसिएका युवाहरूका लागि थोरै लगानीले स्वदेशमै मिहिनेत गर्न सके मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् – समीर ।
प्रतिक्रिया