
चितवन । खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो । जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ । यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ ।
कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो ।
आर्थिक वर्ष २०७९–०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७७–०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।
आव २०७८–०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो । क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जंगली जनावरले क्षति नपुर्याउने भएकाले पनि चितवनमा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ ।
बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षण बढेको हो ।
चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ । चितवन तोरीका लागि प्रख्यात जिल्ला हो ।– चस्विरहरु नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया