
काठमाडौँ । नेपाल टेलिकमले देशका दुर्गम बस्ती, पर्यटकीय स्थल र सीमावर्ती क्षेत्रमा आधुनिक प्रविधियुक्त सेवा विस्तारलाई तीव्रता दिएको छ । उच्च भू–भाग, कठोर मौसम र जनशक्ति अभावबीच पनि नेपाल टेलिकमले दुर्गम हिमाली क्षेत्रमा आधुनिक सञ्चार सेवा विस्तार गर्न थालेको हो ।
तलकोटमा ‘फोरजी’ सेवा
यसैक्रममा बझाङको तलकोटमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ । टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुंगाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलोपटक फोरजी सेवा सञ्चालनमा आएको हो । हाल तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीका अनुसार आजदेखि फोरजी सेवा सञ्चालन भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ ।
जिल्लाको तलकोट–१ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्टड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ । ती क्षेत्रमा भौतिक संरचना बनिसकेका र बिटिएस उपकरण जडान भएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो । मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।
उनले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयलाई बारम्बार ताकेता गरिरहेको बताए । तलकोट–४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिए ।
तिलिचो बेसक्याम्पमा टुजी र फोरजी सेवा सुरू
नेपाल टेलिकमले मनाङको प्रसिद्ध पदयात्रा र पर्यटन क्षेत्र तिलिचो बेस क्याम्पमा नयाँ बिटिएस (बेस ट्रान्सिभर स्टेसन) स्थापना गरी टुजी र फोरजी मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । करिब ४ हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा विस्तार गरेको हो । यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती क्षेत्रका स्थानीय बासिन्दा, पदयात्री र व्यवसायीहरू अब सजिलै सञ्चार सम्पर्कमा रहन सक्ने भएका छन् ।
टेलिकम सेवाको विस्तारपछि उक्त क्षेत्रका पर्यटन, होटल र व्यावसायिक सेवा प्रदायकहरूले डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन सजिलो हुने भएको छ । साथै पदयात्राका क्रममा स्वास्थ्य समस्या परेमा आपतकालीन उद्धार कार्यमा पनि नेपाल टेलिकमको सेवा जीवनरक्षक हुने स्थानीयवासीहरूको विश्वास रहेको छ ।
च्छो रोल्पामा भ्वाइस सेवा
नेपाल टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सुरु गरेको छ । सो सेवा २८ असोजदेखि भी–एसएटी प्रविधिमार्फत सुचारु गरिएको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा अवस्थित नागाउँ साइटबाट च्छो–रोल्पा, बेदिङ–ना, दूधकुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्प लगायतका क्षेत्रका स्थानीय तथा पर्यटकहरूले अब सहज सञ्चार सम्पर्क गर्न पाउनेछन् ।
प्रतिक्रिया