
कालिकोट । चार दिनदेखि अवरुद्ध सडक बनिसकेको थियो । तर फेरि पहिरोका कारण कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्डस्थित गगनेखोलामा अवरुद्ध भएको छ ।
पहिरो पन्छाएको पाँच घण्टामै फेरि पहिरो गएर सडकमा यातायात ठप्प भएको हो । डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ ।
पाँच घण्टामा रोकिएका सबै गाडीहरु गइसकेका छन् । तर फेरि पहिरो गएकाले सवारी आवागमनमा समस्या देखिएको छ ।
अहिले गगनेखोला क्षेत्रमा भीषण वर्षा भइरहेको छ । सडक डिभिजन प्रमुख दीपेन्द्र चौधरीले सडकमा लेदोसहितको पहिरो आइरहेको बताए ।
पहिरो तत्काल पन्छाउन सकिने अवस्था छैन । तर मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम भएको हो । चार दिनदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २३ वटा ट्रक रोकिएका थिए ।
वर्षातको समयमा सावधानी अपनाएर मात्र यात्रा गर्न र रात्री समयको यात्रा गर्दै नगर्न समेत सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । कार्यालय प्रमुख चौधरीले भने, ‘वर्षात अझै जारी छ, कर्णाली राजमार्गमा पहिरोको जोखिम कायमै छ, त्यही भएर सडकको अवस्था बुझेर मात्र गर्नु उचित होला ।’


कालिकाेट
प्रतिक्रिया