
मुगु । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यो चालु आवमा मुगुमा ऐतिहासकै बढी बजेट आएको बताएका छन् । उनले गणतन्त्र आएपछि मुगुले विकास निर्माणमा तीव्र रुपमा गति लिएको बताएका हुन् ।
मुगु भीई गुरादेउताको नवनिर्मित मन्दिरको उद्घाटन गर्दै वनमन्त्री शाहीले दुर्गम भनेर चिनिने मुगुले पछिल्लो पटक विकासले फड्को मारेको बताए ।
‘मुगुमा विकास भएन भनेर कोही कसैले निराश मान्नुपर्ने अवस्था छैन’, मन्त्री शाहीले भने प्रत्येक गाउँबस्तीमा मोटर बाटो पुगिसकेको छ, घरमै गाडी चढेर शहर पुग्ने दिन आएका छन् ।’
मोटर बाटोले गर्दा गाउँको उत्पादन शहर पुग्न थालेको उनको भनाई छ । मन्त्री शाहीका अनुसार बत्तीले गाउँघर झिलिमिली बन्दै गएका छन् भने स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण भएका छन् ।
खोला र कर्णाली नदीमा बेलिब्रिज निर्माण भएको परम्परागत तुइनको अन्त भएको र जीर्ण मठमिन्दर जीर्णोद्वार गरिएको मन्त्री शाहीको भनाई छ ।

मुगुका गाउँबस्तीमा मोबाइल सेवा बिस्तार भएको इन्टरनेट फोरजी सेवा सुचारु हुँदा मुगुवासी इन्टरनेटको पहुँचसँगै संसारमा जोडिएको यहाँका विद्यालयहरुमा प्राविधिक शिक्षा पढाइ हुन थालेको उनको भनाई छ ।
मन्त्री शाहीले नकारात्मक सोच र चिन्तनलाई अन्त गरी रिसले नभई उत्साह र खुशीको साथ राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने बताए । मन्त्री शाहीले मुगुम कार्मारोङ गाउँपालिका डोल्फू क्षेत्रका स्थानीयको दुःख मर्कालाई मध्यनजर शे–फोक्सुण्डो सित जोडिएको मुगुको भू–भागलाई अलग बनाएर छुट्टै छायाँनाथ राष्ट्रिय निकुञ्ज बनाउने नेपाल सरकारले निर्णय गरेको बताए ।
गमगढी–रारा हुँदै खत्याड जोड्ने सडक निर्माणका लागि यो चालु आवमा ६ करोड बजेट विनियोजन भइसकेको र प्रकृया पूरा गरेर चाँडै निर्माण कार्य थालनी गरिने उनको भनाई छ ।


मुगु
प्रतिक्रिया