मुगुमा प्रेस युनियनको सदस्यता अभियान सुरु

मुगु । नेपाल प्रेस युनियन मुगु शाखाको सदस्यता नविरकरण तथा नयाँ सदस्यता वितरण अभियान सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल प्रेस युनियनको १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरिएको हो ।

अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशन अनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म देशव्यापी रुपमा सञ्चालन भएको छ । त्यसै अनूरुप नेपाल प्रेस युनियन मुगु शाखाले १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरेको नेपाल प्रेस युनियन मुगु शाखाका अध्यक्ष नन्दबहादुर रोकायाले जानकारी दिए ।

मुगु शाखाले केन्द्रको सर्कुलर अनुसार सदस्यतासम्बन्धी कार्यलाई तीव्रता दिन सदस्यता अभियान सुरु गरी जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष रोकायाले बताए । उनका अनुसार यो अभियानलाई उत्साहपूर्वक सञ्चालन हुनेछ ।

सदस्यता नवीकरणसहित नयाँ पत्रकारहरुलाई युनियनमा समावेश गर्दै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उनको भनाइ छ । सदस्यता अभियानले जिल्लाभित्र पत्रकारहरुको पहिचान र सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुका साथै उनले आगामी दिनमा पत्रकारहरुको सीप विकास, सुरक्षा र अधिकारका सवालमा युनियन थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विनोद कुमार मल्लले सदस्यता अभियानले संगठनलाई बलियो बनाउने उल्लेख गर्दै पत्रकारिता पेसा सम्मानित र उत्तरदायी क्षेत्र भएको बताए । यसको संस्थागत विकासका लागि हामी सबैले संगठनभित्र समेटिनु जरुरी रहेको उनको भनाइ थियो ।

उनले स्थानीय स्तरमा नेपाल प्रेस युनियनले पत्रकारहरुको हक, अधिकार र सुरक्षाको सवालमा युनियनले खेलेको भूमिकाको प्रशंसा गर्दै मुगु जस्तो विकट जिल्लामा पत्रकारिता गर्नुभएका साथीहरूको योगदान सराहनीय रहेको बताए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागिहरुले युनियनको अभियानमा सक्रिय रुपमा संलग्न हुने प्रतिबद्धता जनाएका छन् ।

सोमबार शुभारम्भ कार्यक्रमै नागरिक पत्रका जिल्ला रिपोर्टर सर्जन शाही र रेडियो मुगुमा कार्यरत नन्दराज तिरुवाले नेपाल प्रेस युनियनको सदस्यता लिएका छ्न् । यसैबीच कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा मनोनित भएका केन्द्रिय सदस्य विनोद कुमार मल्ललाई प्रेस युनियन मुगु शाखाको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरिएको छ ।

प्रतिक्रिया