
मुगु । मुगुको छायाँनाथ रारा गाउँपालिका–४ स्थित डाडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । लगातारको अविरल वर्षाका कारण गाउँतलको भू–भाग भासिँदै जाँदा बस्ती संकटमा परेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
स्थानीय बासिन्दा अगराज महताराका अनुसार गाउँनजिकै बग्ने लेते खोलाले वर्षेनी कटान गर्दै ल्याउँदा जमिन कमजोर बन्दै गएको छ । उनले भने, ‘हाम्रो खेतबारी त पहिल्यै बगायो, अब घर पनि कतिबेला पहिरोले लान्छ भनेर निन्द्रा पनि लाग्दैन, डरैडरमा रात बिताइरहेका छौं ।’
हाल डाडा गाउँका १५ घरधुरी पहिरोको प्रत्यक्ष जोखिममा छन् । पहिरोले बासोबासको संरचना मात्र होइन, वर्षौंदेखि जोतेको खेतीयोग्य जमिनसमेत कटान गर्दै लगेको छ । स्थानीयको भनाइमा लेते खोला हरेक वर्ष फराकिलो हुँदै गइरहेको छ भने जमिन कमजोर बन्दै गएको छ ।
जसका कारण जमिन धसिने, चर्किने र चिप्लिने क्रम बढेको छ । बस्ती जोखिममा पर्दै गएपछि स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र भू–अध्ययन र सम्भावित स्थानान्तरणको पहल गर्न माग गरेका छन् ।


मुगु
प्रतिक्रिया