काठमाडौँ । सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा र १५ वटा घाटामा रहेको सरकारको तथ्यांकले देखाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा मात्र नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको जानकारी दिए । यता नाफामा रहेका सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको उल्लेख गरे ।
यो गत वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ । त्यस्तै दुइटा सार्वजनिक संस्थान बन्द छन् । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षभन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक संस्थानमा सरकारको लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ छ ।
सो वर्ष संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत छ । सार्वजनिक संस्थानबाट सरकारलाई आव २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकामा २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत छ ।
४५ संस्थानमा ३५ हजार कर्मचारी
४५ वटा सार्वजनिक संस्थानमा करिब ३५ हजार कर्मचारी कार्यरत छन् । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार यी ४५ संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म ३४ हजार ९५१ जना कर्मचारी रहेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणमा सबैभन्दा बढी ८ हजार ८३९ जना छन् भने नेपाल दूरसञ्चार कम्पनीमा ५ हजार १८७, राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार ६६४, नेपाल बैंकमा ३ हजार ५६४, कृषि विकास बैंकमा ३ हजार ८०, वायुसेवा निगममा २ हजार ४ जना, वायुसेवा निगममा १ हजार ८८७ तथा दुग्ध विकास संस्थानम ८६१ जना कर्मचारी छन् ।
त्यस्तै, नेपाल आयल निगममा ७६५, खानेपानी संस्थानमा ५६८, खाद्य तथा व्यापार कम्पनीमा ४६३, गोरखापत्र संस्थानमा ४५९, जनक शिक्षा सामग्री केन्द्रमा ४१०, साझा यातायातमा ३७९, सार्वजनिक सेवा प्रसारण केन्द्रमा ३२० जना, हेटौँडा सिमेन्टमा ३३६, उदयपुर सिमेन्टमा ३०५, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २२९, कृषि सामग्री कम्पनीमा २१६ जना कर्मचारी छन् । यसबाहेक औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा २१९ जना कार्यरत छन् ।
प्रतिक्रिया