काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बिनाकारण पक्राउबारे निष्पक्ष छानबिनको माग गर्दै उक्त पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।
नाउपासँगै सिके राउत नेतृत्वको जनमत पार्टी पनि अवरोधमा सहभागी छ । यही वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
उनले संसदमा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्, रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’ चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
उनले राज्यका संयन्त्रहरूमाथि प्रश्न गर्दै कसरी एउटा व्यक्तिको रिसीवीका कारण मानिसलाई दुःख दिइन्छ भन्दै आक्रोश पोखिन् ।
‘सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्’ रञ्जिताले भनिन्, ‘कसरी राज्यका सम्यन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानुनभन्दा माथि राख्छन् । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । घटनाको गहिरो अध्ययन होस् ।’
प्रतिक्रिया