छोरीको संघर्षका कथा ‘सतीदेवी’

काठमाडाैं । महिला सशक्तिकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताएका छन् ।पत्रकार हुँदै चलचित्र निर्देशन बनेका सुवेदीले ग्रामीण भेगको एउटा कथालाई सतीदेवी पात्रमार्फत व्यक्त गरिएको जानकारी दिए । ‘चलचित्रमा गाउँमा हुर्किएकी एक छोरीको सङ्घर्षलाई देखाएका छौँ। सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको संघर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु । नेपाली चलचित्र भएकाले मौलिकता झल्किने गतिविधि गरिरहेका छौँ’, निर्देशक सुवेदीले भने ।

शीर्ष भूमिकामा देखिएकी अभिनेत्री मलिका महतले आफ्नो लागि महत्त्वपूर्ण पात्र हुनुका साथै नयाँ जीवन बाँच्न पाएको बताइन् । ‘सतीदेवी पूर्णरुपले छोरी, नारी प्रधान कथामा आधारित छ। यसले मलाई ग्रामीण सौन्दर्यसँगै जनजीवनसँग परिचित गराएको छ । छोरीले उचित शिक्षा पाएमा समाजमा ल्याउन सक्ने परिवर्तनलाई चलचित्रमा राम्रोसँग बुझाइएको छ’, अभिनेत्री महतले भनिन् ।

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटा लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया