चन्द्रमाजस्तो हुने सुरक्षाको चाहना

काठमाडौँ । सुरक्षा पन्त नेपाली चलचित्र उद्योगमा एक प्रतिष्ठित अभिनेत्री हुन्, जो फरक–फरक भूमिकामा देखिन रुचाउँछिन् र ‘स्टेरियोटाइप’ भूमिकाबाट टाढा रहन्छिन् । ‘आमा’ र ‘बुलाँकी’ जस्ता चलचित्रमा उनले आफ्नो अभिनय कौशल देखाउँदै दर्शकहरूको मन जितेकी छन् ।

हालै एक पत्रकार सम्मेलनमा सुरक्षाले भनिन्, ‘मलाई चन्द्रमा हुनु छ । चन्द्रमाले सबैलाई प्रकाश दिन्छ र समुन्द्रमा आँधी ल्याउन सक्छ । स्टार त धेरै छन्, म चन्द्रमा हुन चाहन्छु ।’ उनले उपाधिलाई गौण चिज मान्छिन् तर ‘स्टार’को जिम्मेवारी निभाउने प्रण गर्छिन् ।

सुरक्षा अब ‘बुलाँकी’ चलचित्रमार्फत पुनः पर्दामा देखिने तयारीमा छिन्, जुन चलचित्र अघिल्लो वर्ष रिलिज भएको थियो तर दुई दिनमै हलबाट हटाइएको थियो । बिराज बिष्ट र नरेन खड्काको समेत प्रमुख अभिनय रहेको यसमा कर्णालीको जीवन र रीतिथिति देखाइएको छ । सुरक्षाले पृथक कथाहरू बेला–बखत आइरहनुपर्ने बताउँछिन् र ‘बुलाँकी’ क्यारेक्टरलाई चुनौतीपूर्ण मान्छिन् ।

उनका अनुसार, ‘हामीले बेला–बखतमा पृथक कथामा आफ्नो उपस्थिति जनाउनुपर्छ । चलचित्र गर्दा अभिनेत्रीको हिसाबले केही जिम्मेवारी र दायित्व रहन्छ । मलाई ‘बुलाँकी’ क्यारेक्टर एक्सप्लोर गर्न मन लागेको थियो । यो मेरो लागि चुनौतीपूर्ण क्यारेक्टर हो र ‘प्लस प्वाइन्ट’ प्रोजेक्ट हो ।’

प्रतिक्रिया