काठमाडौँ । शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘नम्बरी सुन’ मा सरोज खनाल मुख्य भूमिकामा देखिँदै छन् । ‘पञ्चायत’, ‘मोदीबेनी’ जस्ता थुप्रै फिल्ममा देखिसकेका उनले ‘नम्बरी सुन’को चरित्र फरक रहेको बताए । उनले भने, ‘नम्बरी सुनमा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रूपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअप छ ।’ ‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रूर नभएको सरोजको भनाइ छ ।
‘मेरो क्यारेक्टर सुरुमै क्रूर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवआत मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘बिस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रूर पनि बनाउँछ । फिल्ममा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमा हेर्नुभयो होला कि म ३–४ ठाउँ नराम्ररी रोएको छु । क्रूर मान्छे कहिल्यै पनि रुँदैन ।’
‘रियल’मा आफू मुखियाजस्तो नदेखिए पनि ‘रिल’मा भने त्यस्तो क्यारेक्टर निभाउँदा रमाइलो लाग्ने उनी बताउँछन् । ‘कलाकारको पहिचान भनेकै त्यही हो । अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको फिल्म मात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनले भने । काम गर्दा आफूसँग कतिपय निर्देशकहरू रिसाएको उनको अनुभव छ ।
‘म काम गरेको हिसाबले न्याय दिने कोसिस गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरूको बुझाइ छ । हामी भलै क्यारेक्टर रोल गरिरहेका छौँ’, उनले भने, ‘तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ । हामी नभई त्यो मान्छे फिल्मको मेन क्यारेक्टर हुनै सक्दैन । हामी लुज भयौँ भने फिल्म पुरै लुज हुन्छ । फिल्ममा काम गरेको झण्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ । होइन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरूले जे भन्नुहुन्छ त्यो पनि गर्दिन्छु ।’
प्रतिक्रिया