‘जस्ट लभ’ वेभ सिरिजको तयारी

काठमाडौँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा सहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् ।

मंगलबार निर्देशकमा मुनाल शिशिर कोइरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोइरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मेघा सिरिजको रूपमा निर्माण हुने ‘जस्ट लभ’मा कथा, पटकथा, संवाद र गीतसमेत कोइरालाकै रहनेछ ।

बालदीप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।

हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन र प्रचार तथा सम्पादन सुवास शाह रहेका छन् । सिरिजको गीतमा दीपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वरले स्वर दिएका छन् । सहर केन्द्रित कलेज प्रेमकथामा निर्माण हुने सिरिज २८ साउनबाट छायांकन हुनेछ । सिरिज छिट्टै दर्शकले हेर्न पाउने निर्देशक कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया