मोदीबेनीले ल्यायो फुड अफर

काठमाडौँ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मको प्रचारका लागि निर्माता निर्देशकले विभिन्न अफर दिन थालेका छन् । यस्तैमा आगामी शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो फिल्म हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौँका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् ।

आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षणमा रहेको काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा २०० रुपैयाँ छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’ को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा २०० रुपैयाँ छुट, काठमाडौँको बत्तिसपुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुडकोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ ।

त्यसैगरी काठमाडौँ बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगन्जका २ रेस्टुरेन्टहरू रेड हाउस रेस्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ ।

यो अफरको लागि ‘मोदीबेनी’ फिल्म हेर्नुपर्नेछ र अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिने निर्माण युनिटले जनाएको छ । एउटै टिकटबाट माथि उल्लिखित सबै स्थानहरूमा एकपटकको लागि छुट प्रदान हुनेछ । यो अफर फिल्म रिलिजको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ । नेपालभर जुनसुकै हलको लागि काटिएको टिकट यो अफरमा मान्य हुने बताइएको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको यस फिल्म शंकर कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय छ । फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया