बुलाकीको प्रचारात्मक सामग्री सार्वजनिक

काठमाडौँ । ३२ साउनबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ । गायिका समीक्षा अधिकारीको स्वरमा ‘सधैँ पछि परन्या हुन् स्त्री’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतले नारीको पीडा र वेदना बोल्छ । छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको गीतमा बाबुल गिरीको शब्द÷संगीत छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् ।

फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडिओमा सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्कालगायत फिचर्ड छन् ।
पश्चिम नेपालको गहिराइमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको छ । फिल्ममा कर्णालीको जारी प्रथाको कथा प्रस्तुत गरिएको छ ।

फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । स्व.मोती विष्टको प्रस्तुतिमा बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईलगायत अभिनयमा छन् । यो फिल्मलाई उपत्यकामा रिच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

फिल्म गत वर्षको १ वैशाखमा प्रदर्शन भएको थियो । कम सो पाएको भन्दै निर्माण टिमले २ दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो ।
तथापि विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहनाअनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया