जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।
सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।
कुल १०७ जना सांसद रहेको मधेस प्रदेशमा सरकार निर्माण गर्न ५४ जना सांसदको मत आवश्यक पर्छ । मुख्यमन्त्री सिंहले यसअघि नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकालाई बर्खास्त गरेका थिए । अब कांग्रेस र लोसपाबाट मन्त्री बनाउने तयारी मुख्यमन्त्री सिंहले गर्नेछन् ।
यसअघि मुख्यमन्त्री सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । संघीय सत्ता समिकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको छ । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमती अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् ।
माओवादीका अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बािणज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, नेकपा एसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीका गृह तथा संचारमन्त्री विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीका श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएकी छन् ।
त्यसअघि नै चार दलका छ मन्त्रीलाई उनले हटाएका छन् । उनले शनिबारै कांग्रेस र लोसपालाई सरकारमा सहभागि गराउने बताएइएको छ । मुख्यमन्त्री सिंहले विश्वासको मत पश्चात दुबै दललाई सरकारमा सहभागि गराएर मन्त्रालय बाँडफाँडको विषयमा टुंगो लगाउने बताइएको छ ।
बर्खास्तमा परेका दलहरूले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर कांग्रेसले ती दलहरूलाई सरकारबाट हटाए मात्रै विश्वासको मत दिने र सरकारमा सहभागि हुने अडान राखेपछि विश्वासको मत लिनुअघि नै चार दलका ६ जना मन्त्रीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरिएको हो ।
‘राजीनामा दिएको भए टोकन अफ लभ दिन्थेँ’
मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेका बताएका छन् ।
जनमत पार्टीका सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सत्ता समीकरण उलटफेर भएपछि उनले शनिबार माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
मन्त्रीहरूलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन गएका मुख्यमन्त्री सिंहले भने, ‘नयाँ सत्ता समीकरण अनुसार चार दलका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको थिए । उहाँहरूले बर्खास्त नै गरिदिनुस् भन्नुभो । त्यसपछि सहमतिमै बर्खास्त गरेको हुँ ।’
सरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरू पूर्णरुपमा सहयोग गर्नु भएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरूले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’ उनले अब नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्ने जानकारी दिए ।
प्रतिक्रिया