जनकपुरधाम । गठबन्धनको परिवर्तनसँगै मधेस प्रदेशमा सरकार परिवर्तनको हल्ला चलेको बेला जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रूपमा विश्वासको मत लिनुपर्नेछ । मधेस प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ ।
नेकपा एमाले मधेस प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । ‘संघीय निर्देशन पनि त्यस्तै आएको छ’, उनले भने, संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन गरिनेछ ।
मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ती पार्टी सहभागी छ । सरकारलाई ५५ जना सभासद्को समर्थन छ । मधेस प्रदेशमा १०७ जना सभासद् रहेका छन् ।
संघीय गठबन्धनकै अनुसार प्रदेशमा सरकार रहने भए पनि मधेस प्रदेशमा कांग्रेस र एमाले संसदीय दलका नेताहरूबीच भेटवार्ता भएको छैन । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले संघीय गठबन्धनको निर्णयअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । ‘संघीय गठबन्धनको निर्णयअनुसार नै प्रदेशमा सरकार बन्नेछ’, उनले भने, हालसम्म पार्टीको केन्द्रीय निर्देशन प्राप्त नभएकाले वर्तमान गठबन्धन नै कायम छ ।
यता प्राप्त जानकारीअनुसार एमालेले नेपाली कांग्रेसलाई मधेसको वर्तमान सरकारलाई समर्थन जनाउन आग्रह गरेकोमा कांग्रेसले मधेस सरकारमा माओवादी रहेसम्म वर्तमान सरकारलाई सहयोग गर्न नसकिने जवाफ दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असार २२ गते विश्वासको मत लिने भएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले असार २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।
मधेस प्रदेशसभामा चौथो ठूलो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
प्रतिक्रिया