कहालीलाग्दो त्यो वैशाख १२ : जोखिम कायमै, छैन सतर्कता

काठमाडौं । केही वर्षअघिसम्म १२ वैशाख भन्नासाथ आङ सिरिंग हुन्थ्यो । अहिले भने मानिस तर्सिन छाडे पनि १२ वैशाख भन्नासाथ मुटु चिसो हुन छाडेको छैन । त्यो १२ वैशाख अर्थात् १२ वैशाख २०७२, शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प । जुन भूकम्प २ माघ, १९९० पछिको सबैभन्दा ठुलो मानिएको छ, १९९० को भूकम्प ८ दशमलब ४ रेक्टर स्केलको भएको अभिलेख पाइन्छ ।

२०७२ को त्यो भूकम्पबाट ८ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । सो भूकम्पमा करिब ९ लाख परिवार घरबारविहीन भएका थिए । ८ हजार जति विद्यालय, करिब ९२० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर–भवन र निजी घर भत्किँदा करिब ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्यांक छ । यो भूकम्प हिमालयमा गइरहने ‘थ्रस्ट’ प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौं उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब १ मिनेट कम्पन गराएको थियो ।

बारपाकमा बिदा

भूकम्पमा परी मृत्यु भएका नागरिकको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको उल्लेख गरेका छन् ।

बारपाक केन्द्र भएर २०७२ वैशाख १२ गते भूकम्प गएको थियो । भूकम्पमा परेर मृत्यु भएका नागरिकको सम्झनामा गाउँपालिकाले बुधबार बिहान ११ः४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।

भूकम्पले केन्द्रबिन्दु रहेको बारपाक पूर्ण ध्वस्त पारेको थियो भने काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, दोलखामा सबैभन्दा बढी धनजनको क्षति भएको थियो । अहिले पनि यदाकता उपत्यकामा भूकम्पको झट्का महसुस गरिन्छ, त्यो सोही गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाउने गरेको छ । सो भूकम्पले १४ जिल्लामा पु¥याएको क्षतिले त्यतिबेला धेरैलाई रुवाएको थियो । वैशाख जेठको गर्मी, त्यसपछिको झरी र त्यसलगत्तै भएको नाकाबन्दीको मार यतिबेला धेरैले बिर्सिसकेकामा ६ महिनाअघिको कर्णालीको जाजरकोटमा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पले फेरि ताजा बनाएको छ ।

जाजरकोट भूकम्प

१७ कात्तिक, २०८० मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले १५६ जनाको ज्यान लियो भने करिब ३७५ जना घाइते भएको तथ्यांक छ । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए भने अरू ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको गृह मन्त्रालयमा अभिलेख छ, जुन अझै पुनर्निर्माण भइसकेको छैन । भनिन्छ, नेपाल मात्र होइन, हिमालय आसपासमा अवस्थित सबैजसोे क्षेत्र भूकम्पीय दृष्टिले उच्च जोखिममा छन् । अहिलेसम्म भूकम्पको सफल पूर्वानुमान गर्न त सकिएको छैन ।

तर, ढिलोचाँडो नेपालमा भूकम्प अवश्यम्भावी रहेको विज्ञहरू बताउँछन् । पोखरादेखि पश्चिम ५०० वर्षदेखि ठुलो भूकम्प नगएको अवस्थामा १७ कात्तिकमा ६ दशमलब ४ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालमा सन् १५०५ मा ठुलो भूकम्प गएको इतिहास छ । उक्त क्षेत्रमा ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको विज्ञहरूले केही वर्षदेखि बताउँदै आएकामा जाजरकोटमा सो भूकम्प गएको हो । जबकि सो क्षेत्रमा उक्त भूकम्पले सञ्चित शक्तिको एक तिहाइ पनि खर्च नभएको बताइन्छ ।

योसँगै काठमाडौं पूर्वमा पनि ठुलो भूकम्प नगएको र २०७२ सालको भूकम्प जाँदा पनि पूर्ण मात्रामा शक्ति खर्च नभएको अध्ययनहरूले औँल्याएका छन् । यसको अर्थ नेपालमा पूर्व–पश्चिम क्षेत्रमा कुनै पनि बेला ठुलो भूकम्प जान सक्छ । भूकम्प गएको ९ वर्षपछि जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ । अझ काठमाडौँ त अहिले झन् खतरनाक भएको छ । खचाखच भरिएका तथा धेरै तला भएका घरहरूले झनै खतरा निम्त्याउनेछन् । भूकम्पबारे सचेतना भए पनि हाम्रो ध्यान सुरक्षित निर्माणमा गएको छैन ।

भूकम्पले होइन, कमजोर संरचनाले मानिसलाई मार्छ भन्ने बिर्सिंदै गएको देखिन्छ । अझै पनि भूकम्प र सुरक्षित निर्माणको विषयमा सचेतना जगाइएको छैन । अनुगमन संयन्त्र बनाएर निर्माण संहितालाई कडाइका साथ लागू गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । भवन निर्माणको अनुमति दिँदा स्थानीय तहले कडाइ गर्नुपर्ने उनीहरूको भनाइ छ । त्यससँगै मिस्त्री र कंक्रिट मोल्डिङ कामदारलाई भूकम्प प्रतिरोधी भवन प्रविधिमा सीप स्तरवृद्धि गर्न आवश्यक छ । सुरक्षाकर्मीलाई भत्किएका कंक्रिट संरचनाहरू अन्तर्गत खोज र उद्धारका लागि प्रशिक्षण दिनु पनि उत्तिकै आवश्यक रहेको भूगर्भविद्को राय छ ।

नेपालमा भूकम्पको इतिहास

नेपालको इतिहासमा अभिलिखित १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते, २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्प नेपालमा भएकामध्ये ठुला र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । यसभन्दा अघिल्ला वर्षहरूमा नेपालमा भूकम्प गएको अनुमान गरिए पनि प्रामाणिक अभिलेख भेटिँदैन ।

१२१८ सालको भूकम्प

१२१८ साल असार शुक्ल तृतीया सोमबारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाको एक तिहाइ जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि १ महिनासम्म सहर छाड्नुपरेको थियो ।

१३१६ को भूकम्प

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठुलो भूकम्प १३१६ सालको हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।


१४६५ को भूकम्प

करिब १४९ वर्षपछि १४६५ सालमा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौँ मन्दिर ढले । जमिनमा ठुलठुला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौँ मानिस तथा पशुको ज्यान जानुका साथै हजारौँ घर भत्किए ।१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रै पटक भूकम्प गएको भनाइ भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये १७३७ सालमा राति भूकम्प गएको इतिहासविद्को भनाइ छ ।

जसले ठुलो विपत् निम्त्याएको थियो भने १८२४ साल असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन । तर, २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठुलै क्षति भएको अनुमान गरिएको छ ।

१८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठुलो मानवीय क्षति त भएन । तर, मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिँ यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै १८८० सालको यमपञ्चकका दिन एकै स्थानमा बसेका ७ वटा ग्रह छुट्टिँदा भूकम्प गएको बताइएको छ । जानकारका भनाइमा एकै दिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो ।

१८९० देखि गएका भूकम्प

१८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठुलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झट्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारणले रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो ।

काठमाडौंमा रहेका दुइटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।
सो भूकम्प गएको १ महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पको घाउ सेलाउन नपाउँदै १ वर्षपछि १८९१ सालको असार र असोज महिनामा फेरि दुइटा ठुला भूकम्प गए । पानी परिरहेका बेला भूकम्प गएका कारण बाग्मतीमा ठुलो बाढी आयो ।

१९९० को भूकम्प

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी ८ हजार ५१९ जनाको मृत्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करिब ४ हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

२०४५ को भूकम्प

हामीले भुल्न नसकेको अर्को भूकम्प २०४५ भदौ ५ गते बिहान पौने ५ बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करिब ७५० जना मानिसले ज्यान गुमाए भने ६ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

२०६८ को भूकम्प

यस्तै, २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमा क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए । त्यसपछिका २०७२ को गोरखा भूकम्प र गत कात्तिकको जाजरकोट भूकम्प सबै नेपालीको मानसपटलमा ताजै छन् ।

प्रतिक्रिया