मिरुनालाई स्टारडम कायम राख्ने चुनौती

काठमाडौं । वर्ष २०८० सालभरि नै व्यस्त अभिनेत्रीमा मिरुना मगर पनि हुन् । उनी फिल्मको छायांकन र प्रचारमा नै बढी समय खर्चिइन् । यो वर्ष रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले दर्शकको अत्यधिक माया पाएपछि मिरुनालाई झन् भ्याइनभ्याइ भयो । सुब्बाकै अर्काे फिल्म ‘मनसरा’ले पनि उतिकै माया पाउने अपेक्षा गरिएको छ ।

दयाहाङ राईसँग ‘जारी’ मा जोडी बाँधेकी मिरुना वर्ष २०८० मा ‘ब्लकबस्टर’ फिल्म दिने अभिनेत्री बनिन् । यसभन्दा अघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–४’को सफलताको स्वाद उनले लिइसकेकी थिइन् । नेपाली सिने क्षेत्रमा यही फिल्मबाट नै उनको सफलताको ढोका खुलेको मान्न सकिन्छ ।

वर्ष २०८० भन्दा अगाडिका फिल्ममा भने उनले खासै कमाल देखाउन सकेकी थिइनन् । दीपेन्द्र लामा निर्देशित फिल्म ‘नांगो गाउँ’ले पनि उनलाई पहिलोपटक अत्यधिक चर्चा दिलाएको हो । यी तीनै फिल्ममा उनी अभिनेता दयाहाङ राईको जोडीका रूपमा देखिएकी छन् । दयाहाङ राईका क्रेजका कारण नै उनको पनि व्यस्तता बढेको पनि भन्ने गरेको पाइन्छ । जे होस्, दर्शकले मिरुना र दयाहाङको जोडीलाई रुचाए ।

मिरुनाले फिल्म ‘लालपूर्जा’बाट अभिनयमा डेब्यू गरेकी हुन् । त्यसपछि ‘रोज,’ ‘साइनो,’ ‘च च हुई’ लगायत फिल्मले उनलाई खासै सफलता दिन सकेनन् । एकपछि अर्काे फिल्महरू असफल भएपछि उनलाई अनलक्की अभिनेत्रीको ट्यागसमेत भन्ने गरिएको थियो । लगातार फिल्महरू असफल भएर बसेकी उनलाई ‘कबड्डी–४’ले पुनः यस क्षेत्रमा चलायनमान बनायो । सो फिल्मको प्रचारका क्रममा भएको एक घटनाले उनी विवादमा समेत आएकी थिइन् ।

त्यसपछि भने मिरुनाको अभिनयसँगै फिल्मको समेत चर्चा हुन थाल्यो । उनको त्यही चर्चालाई ‘जारी’ले झनै उचाइमा पु¥याइदियो । नयाँ बन्न घोषणा भएका अधिकांश फिल्ममा उनी नै अनुबन्धित हुन थालिन् । २५ फागुनमा रिलिज भएको मिरुना अभिनीत फिल्म ‘रंगेली’ले भने औसत व्यापार गरे पनि मिरुनाको फिल्मी क्षेत्रमा चर्चा र माग घट्न पाएन । उनी व्यस्त नै भइरहेकी छन् ।

यतिबेला उनी अभिनीत फिल्महरू कुनै रिलिजको तयारीमा छन् भने कुनै छायांकन हुन र कुनै छायांकनकै क्रममा छन् । पछिल्लो अधिकांश फिल्ममा उनी दयाहाङसँगै देखिएकी छिन् । अनिल बुढामगरको फिल्म ‘घरज्वार्इं’मा पनि यी दुईको जोडीलाई देख्न सकिन्छ ।

सो फिल्म २८ असारमा रिलिज मिति तय गरिएको छ । हाल छायांकनका दौरानमा रहेको फिल्म ‘ऊनको स्वीटर’मा पनि मिरुना नै शीर्ष भूमिकामा छिन् । त्यस्तै दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’मा लिड रोलमा उनी नै अनुबन्धित भएकी छन् । यो वर्ष पनि उनी लगभग व्यस्त नै रहनेछिन् । तथापि पछिल्लो पुस्ताकी स्टा मिरुनालाई स्टारडम कायम राख्ने चुनौती त छँदै छ ।

प्रतिक्रिया