म्याद गुज्रिएका औषधि भेटिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका‌– १५ स्थित भेडीहारीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पर्सा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले मेडिकल कलेजका प्रबन्ध निर्देशक साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधि बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।

उनले भने,‘ ल्याबमा बिरामीको रगत परीक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गुज्रिएको भेटियो, फ्रिजमा राखिएका केमिकल पनि म्याद गुज्रिएको भेटियो, सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए, यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधिहरु डेट एक्स्पायर भएको फेला परेको छ ।’

ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधि फेला परेपछि अनुगमन टोलीमा रहेका प्रहरी उपरीक्षक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगेको बताए ।

यता पर्साका प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक केशर न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधि भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो, अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, म्याद गुज्रिएका केमिकल र औषधि पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।’ यस बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरीक्षक ढुंगेलसँगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रम्हदेव यादव , घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधि व्यवस्था विभाग महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया