वीरगञ्ज । पर्सा प्रहरीले भारी मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारीसाधनहरुमा प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरिएकाे बताइएकाे छ ।
जिल्लाकाे वीरगञ्ज महानगरपालिका– १६ बोखार चोकस्थित सडकखण्डबाट मधेस प्र ०३-००१ च ७०९८ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा उक्त पिकअपमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरिएको प्रतिबन्धित लागुऔषध नुरफिन-१२०० पिस, फेनारगन-१२०० पिस, डाइजेपाम-१२०० पिस जम्मा ३६०० पिस र Onrex-100ml ५० बोत्तल, Tapentadol 100mg ट्याब्लेट ३९ पत्तामा ३९० पिस ट्याब्लेट फेला परेकाले त्यसमा संलग्न पर्साकाे वीरगञ्ज महानगरपालिका– २० बस्ने वर्ष २१ का विष्णु पटेल र साेही स्थान बस्ने वर्ष २० का राजन यादवलाई पक्लिराउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै उक्त पिकअप र बरामद भएका लागु औषधसहित दुवै जनालाई निन्यन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया