बिचौलियामार्फत योजनाको चिट्ठी नपठाउन वडाध्यक्षको माग

जनकपुरधाम । प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलियालाई दिने गरेको आरोप वडाध्यक्षहरूले लगाएका छन् । धनुषा क्षेत्र नम्बर ४ (क) स्थित स्थानीय तहका वडाध्यक्षहरूले पर्यटन मन्त्रालयको योजनाको चिट्ठी सम्बन्धित पर्यटन विकास कार्यालयबाट बिचौलिया लिएर आउने गरेको र मापदण्ड विपरीत उपभोक्ता समिति बनाउन दबाब दिइरहेको बताएका छन् ।

जनकपुरधाम–९ का अध्यक्ष परमेश्वर साहले पर्यटन विकास कार्यालय धनुषाका प्रमुख बिचौलियामार्फत चिट्ठी पठाउने गरेको र कसरी चिट्ठी पठाएको बारे बुभ्mन आउँदा कार्यालय प्रमुख फरार रहेको आरोप लगाए ।

वडाध्यक्षहरू बिचौलियामार्फत नभई सम्बन्धित वडाका व्यक्ति वा सिधै वडा कार्यालयमा योजनाको चिट्ठी पठाउन माग गर्दै गत दुई सातादेखि पर्यटन विकास कार्यालय धाइरहेका छन् । तर कार्यालय प्रमुख बासुदेव भट्टसहित कार्यालयका कर्मचारी कार्यालय बन्द गरेर गायव भएको क्षिरेश्वरनाथ नगरपालिकाका–४ का अर्का वडाध्यक्ष जगदीश यादवले बताए ।

पूर्वाधार विकास कार्यालयका लेखापाल दिलीप झाले वडाध्यक्षहरूको समस्या के हो त्यो आफूलाई जानकारी छैन । तर कार्यालय प्रमुखज्यू केही दिनदेखि कार्यालय नआइरहेको बताए ।
बिचौलियामार्फत चिट्ठी पठाउने गरिएको र कार्यालय प्रमुख कार्यालय बन्द गरी गायब रहेको बारे उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित सचिव सुशिलकुमार साहले त्यसबारे आफूलाई जानकारी नभएको बताए । तर, वास्तविकताबारे बुझेर कार्यालय प्रमुख दोषी देखिए कारबाही गर्ने उनले बताए ।

योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्म वडा कार्यालयकै सिफारिसमा हुनुपर्ने हो । भुक्तानीका लागि सिफारिस पनि वडाध्यक्षहरूको रोहबरमा अनुगमन भई सम्बन्धित योजनाको हुने यदि त्यस्तो भइरहेको छैन भने बुझेर कारबाही अघि बढाउने वडाध्यक्षहरूको आरोपबारे उनले बताए ।

प्रतिक्रिया