मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

हेटौँडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले चैत १९ गते विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कांग्रेसले फागुन २३ गते बागमती प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाई प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । २०७९ माघ ३ गते दिएको विश्वासको मत फिर्ता लिएकोले विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

प्रतिक्रिया