काभ्रेमा सुन लुटपाटपछि युवकले गरे ८३ वर्षीया वृद्धाको हत्या

काभ्रे । काभ्रेमा एक युवकले सुन लुटपाट गरेपछि ८३ वर्षीया वृद्धाको हत्या गरेका छन् । लागुऔषध प्रयोगकर्ता युवकले एक वृद्वाको सुन लुटपाटपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

गत फागुन १८ गते दिउँसो १ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका– ९ घर भई हाल बनेपा नगरपालिका– १३ भैसेपाटीस्थित बसन्त श्रेष्ठको घरमा डेरा गरेर बस्ने ८३ वर्षीया वृद्धा लक्ष्मी तामाङको सोही घरमा डेरा गरेर बस्ने धरान उपमहानगरपालिका– ८ सुनसरी जिल्ला स्थाई घर भएका २९ ववर्षीय सन्तोष आचार्जुले हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी बिहीबार जानकारी दिएको छ ।

प्रहरीलाई वृद्वा महिला आफ्नै कोठामा मृत अवस्थामा फेला परेको, मृतकले कानमा लगाएको सुनको रिङसमेत नरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट विशेष टोलीसहित अनुसन्धानको लागि घटनास्थलमा गएर अध्ययन गरी घटनास्थल तथा शवको मुचुल्का गरिएको र सो क्रममा शवको प्रकृती हेर्दा शंकास्पद देखिएको, मुखबाट आएको रगत सुकेकोलगायत विभिन्नकोणबाट अनुसन्धान गर्दा प्रहरीले हत्याको अनुमान लगाएको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले मृतक तामाङ बिगत एक वर्षदेखि बसन्त श्रेष्ठको घरको भुइतलामा एक्लै कोठा लिएर बस्दै आएको खुलेको बताए । फागुन १८ गते उक्त घरको माथिल्लो तलामा बस्नेले लक्ष्मी तामाङको चालचलन नदेखेपछि ढोका खोलेर हेर्दा खाटमा सिरक ओडेर सुतिरहेको अवस्थामा देखेर बोलाउँदा नबोल्ने र चलमल समेत नगरेपछि मृतक वृद्धाको परिवारलाई खबर गरेका थिए ।

सोही घरको भुइँतलामा मृतक तामाङको कोठासँगै अर्को कोठामा बिगत ३–४ बर्षदेखि डेरा गरी बस्ने २९ वर्षका एक युवकमाथि शंका लागेर सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । त्यपछि बुझ्दै जाँदा ती युवक लागुऔषध सेवनकर्ता रहेको र घर परिवारबाट अगल बस्ने गरेको बुझिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

घटनामा युवकको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान गर्दा मृतक वृद्धा तामाङसँग रातको समयमा पानी, खाने कुरा समेत माग्नुका साथै धम्काउने समेतका क्रियाकलाप गर्ने गरेपछि आफू असुरक्षित भएको भन्दै आफ्नो छोराछोरीलाई तामाङले बताएको पनि खुल्न आएको प्रहरीको भनाई छ ।

त्यसपछि वृद्धाको हत्यापछि अभियुक्त कोठामा आउन छोडेको, निजको गतिविधिहरु शंकास्पद पाइनुका साथै उनको साथीहरुसँग बुझ्दा आरोपी युवकले अन्य समयभन्दा पैसा धेरै खर्च गर्ने गरेको र ऋण समेत तिरेको भन्ने बुझिन आएको थियो । प्रहरीले मृतकको शव परिक्षण प्रतिवेदनमा मृतकको बाँयाँ साइडको ४ इन्चदेखि ७ इन्च रिबस फ्रयाक्चर रहेको र घाँटीमा सुन्निएको भनि खुल्न आएको थियो ।

प्रहरीले आरोपी युवकलाई चैत १३ गते धुलिखेलबाट पक्राउ गरेको र जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका आचर्जुमाथि अनुसन्धान गर्दा घटनाबारे आफूले २०८०–११–१७ गते बिहान मृतकको कोठामा छिरेर वृद्धा सुतेको अवस्थामा घुडाँले छातीमा थिची, मुख समेत थुनेर हत्या गरी दुवै कानमा लगाएको सुनको रिङ लिएर गएको समेत युवकले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकले लुटेको सुनको रिङ बनेपा नगरपालिका– ८ चारदोबाटोस्थितमा विवेक रत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया