चट्याङ लागेर चितवनमा एकै परिवारका तीन जना घाइते

मुग्लिन । चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीया छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

सानुमाया तथा मनिषा सामान्य घाइते भएको र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले जानकारी दिए। चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए ।

प्रतिक्रिया