मधेस प्रदेश सरकारमा एमालेको दाबी

जनकपुर । पछिल्लो प्रचण्ड नेतृत्वको गठबन्धन सरकार बनेपछि मधेस प्रदेश सरकारमा नेकपा एमालेले दाबी गरेको छ । नेकपा एमालेको मधेस प्रदेश कमिटीको आइतबार रौतहटको चन्द्रपुरमा बसेको बैठकले केन्द्रमा नेकपा एमालेसहितको सत्ता समीकरण परिवर्तन भएको र मधेस प्रदेशको प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले प्रदेश सरकारको नेतृत्व गर्नेगरी आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

एमाले प्रदेश अध्यक्ष अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य जुलि महतो तथा केन्द्रीय सदस्यहरू पुरुषोतम पौडेल, सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठसमेत प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकले प्रदेशमा सरकारले कटौती गरेका योजना पुनः सञ्चालन गर्न र बजेट दिन माग गर्नुका साथै प्रदेशमा देखिएको खानेपानीजस्ता आधारभूत समस्याको समाधानको लागि तत्काल पहल गर्न माग गरेको छ । मधेसमा भइरहेको चुरे दोहन तथा चुरे क्षेत्रको मरुभूमीकरणलाई रोक्ने विशेष योजना ल्याउन पनि सरकारसित माग गरेको छ ।

बैठकले मधेस प्रदेशको भूमिहीन, सुकुम्बासी समस्या समाधान गर्न तथा दलित र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न पनि सरकारसित आग्रह गरेको छ । मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व लिनका लागि बैठकमा सदस्यहरूले विशेष माग उठाएको एक सदस्यले जानकारी दिए । मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ । मधेस प्रदेश सरकारको नेतृत्व जसपाले नै पाउनुपर्ने सर्त जसपा अध्यक्ष उपेन्द्र यादवको रहेको छ । यसै गरी मधेस प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीले पनि दाबी गर्दै आएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया