मधेस केन्द्रित ३ दलबीच सहकार्य

मधेस । तराई–मधेसमा केन्द्रित ३ राजनीतिक दलबीच सहकार्य गर्ने सहमति भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच विभिन्न ७ बुँदामा छलफल तथा सहकार्य गर्न सहमति भएको हो ।

नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रणको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्न, देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग–धन्दा तथा कलकारखाना स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चत गर्न ३ दलबीच गठबन्धन गर्ने सहमत भएको हो ।

तीनै दलका अध्यक्षहरूले हस्ताक्षर गरेको सहमतिपत्रमा देशको समस्या समाधानका लागि सतत प्रयत्नशील रहने प्रण गरिएको छ । साथै अन्य दलहरूलाई पनि सहकार्यको अभियानमा सरिक हुन आग्रह गरिएको छ ।

जनमत पार्टीले जेठ १५ मा काठमाडौँ केन्द्रित नौलो गणतन्त्र र सामाजिक गणतन्त्रका लागि बृहत् प्रदर्शन र आमसभाको तयारी गरिरहेको सन्दर्भमा विभिन्न पार्टीसित सहकार्य गरिरहेको जनमतका उपाध्यक्ष तथा मधेस सरकारका पूर्व कृषिमन्त्री वसन्त कुशवाहले जानकारी दिए ।

गणतन्त्र दिवसका दिन गरिने प्रदर्शनले देशमा नौलो गणतन्त्रको आवश्यकता र औचित्यलाई पनि नागरिकसामु स्पष्ट पार्ने पार्टीले विश्वास लिएको उपाध्यक्ष कुशवाहको दाबी छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया