२ सय १० मेगावाट चैनपुर सेती जलविद्युतकाे टनेल निर्माण कार्य सुरु

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत् आयोजनाको अडिट टनेल निर्माण कार्य सुरु भएको छ । गत शुक्रबार बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बिस्फोटनको स्विच अन गरी उक्त टनेल निर्माणको शुभारम्भ गरेका हुन् ।

बझाङ जिल्लाको डिएसपीद्वय भरत बहादुर शाह र जनक राज पन्त, सेनाका गुल्मपति धीरज राउत तथा स्थानीयको समेतको उपस्थिति रहेको उक्त शुभारम्भ कार्यक्रममा जलविद्युत् आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठले सबैलाई धन्यवाद दिनुका साथै यस योजनाका कामहरूमा सबैको साथ र सहयोग निरन्तर रहनेमा विश्वाससमेत व्यक्त गरे । उनले यस आयोजनाले यस तलकोट गाउँपालिकाका सबै गाउँठाउँ सुखी र समृद्धि हुनेमा कुनै द्विविधा नभएको बताए ।

ठेकेदार कम्पनीका तर्पmबाट मल्टी इन्फ्रास्ट्रक्चर–हिमाल हाइड्रो जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र राज पाण्डेले उक्त काम समयमै गुणस्तर ढंगले सकिनेमा हामी प्रतिवद्ध भएको जनाए ।

यो आयोजना सूदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा पहिचान भएको अर्धजलाशय आयोजना हो । जिल्लाको साइपाल र तलकोट गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण हुनेछ । यसमा करिब नौ सय मिटर अडिट टनेल खन्नुपर्नेछ । यसलाई कम लागतमा बढी प्रतिफल दिने आयोजनाका रूपमा समेत हेरिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सुक्खायाममा पनि दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । मल्टी इन्फ्रास्ट्रक्चर–हिमाल हाइड्रो जेभीले उक्त टनेल निर्माण गर्नका लागि ३० करोड ८५ लाख ४८ हजार रुपैयाँमा ठेक्का कबोल गरेका छन् भने काम सुरु गरेको १६ महिनामा सक्नुपर्नेछ ।

प्रतिक्रिया