काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आपश्यकता रहेको बताएका छन् । राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउँदै शुक्रबार काभ्रेको बनेपामा वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता भएको बताएका छन । ‘गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु’, राष्ट्रपति पौडेलले भने ।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै पौडेलले ‘मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले कार्यक्रममा भने ।
उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले भने ‘बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।’
काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उहाँले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेश मुख्य मन्त्री शालिकराम जमरकट्टेलले प्रदेशले कृषि पकेट क्षेत्रको लागि स्थानिय सरकारहरु संग काम गरिरहेको बताए । कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गरिएको थियो । महोत्सव ४ गते देखि ७ गते सम्म संचालन हुनेछ । महोत्सवमा जिल्लाभरका कृषि क्षेत्रका उत्पादनलाई प्रर्दशन प्रबद्र्धन गर्न १ सय वटा स्टलहरु राखिएको छ ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री सांसद गोकुल बाँस्कोटाले काभ्रे जिल्लालाई मल वितरणमा पञ्चायत कालमा जस्तै विभेद गरिएको बताए । कृषि पकेट नगर र व्यापारिक नगरमा मलको कोटा एउटै भएको यस बिषयमा उत्पादन क्षेत्र र व्यवसायिक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया