मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता : वरिष्ठ नेता महतो

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजना गरिएको कार्यकता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता महतोले अधिकारका लागि एकलरूपमा लड्दै आइरहेकै कारण हारको सामना गर्नु परिरहेको बताउँदै अबको आन्दोलन एकीकृत भएर राष्ट्रिय आन्दोलन गर्नुपर्ने खाँचो रहेको बताए ।

‘मुलुकमा बहुल राष्ट्रियता छ । तर यहाँका शासकले एकल राष्ट्रियताको पहिचान दिलाएर वर्र्षाैंदेखि शोषण गरिरहेको छ’, उनले भने, ‘नेपालमा विभिन्न राष्ट्रियताको पहिचान छ, तर शोसकले यसलाई स्वीकार गर्न चाहेको छैन ।’ नेता महतोले भारतमा अहिलेसम्म एउटै संविधान निर्माण भएको र आवश्यकता रहेको बेलामा संशोधन गरिरहँदा विश्वको तेस्रो शक्तिशाली देशमा आउन सफल भएको बताए । हाम्रो देशमा अहिलेसम्म सात वटा संविधान निर्माण गरे पनि अधिकारबाट वञ्चित गरेकै कारण विकसित हुन नसकेको उनले बताए ।
उनले भने, ‘नेपाल मधेस, थारू, जनजाति लगायतका विभिन्न राष्ट्रियता मिलेर बनेको छ । तर यहाँको शासक र संविधान सो अनुसार बनेको छैन, पृथ्वीनारायण साहले नेपालको निर्माण गर्दा एउटा नारा दिएका थिए, नेपाल चार वर्ण र छत्तिस जातको साझा फूलबारी हो भनेर । तर अहिले उक्त कुराको मनन भएको छैन । अहिले एकल राष्ट्रियता हावी छ ।’

नेता महतोले बहुल राष्टियताको अधिकारका लागि आन्दोलनको तयारी भइरहेको र एकैचोटी मुलुकभरी आन्दोलन गरिनेसमेत बताए । यस आन्दोलनका लागि अधिकारबादी पार्टीलाई एकीकृत हुन उनले आह्वान गर्दै पदका लागि लोभलालच छाडेर अन्तिम लडाइमा अग्रसर हुन सबै दललाई आग्रह गरेका छन् ।

प्रतिक्रिया