सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित खुट्टी खोलामा समाचार संकलनका लागि गएका दुई पत्रकारलाई अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ, सिरहा शाखाले ध्यानाकर्षण भएको जनाएको छ ।
गत बुधबार अवैध खोला दोहनको विषयमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरु क्रमशः विनय आजाद र सुरेश रायलाई टिपरले धुलो र धुवाँ उडाउने र तर्साउने गरेर समाचार संकलनमा अवरोध गरेकोप्रति महासंघको ध्यानकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।
महासंघले सोमबार विज्ञप्ति जारी गरी अवरोध गरेको घटनाप्रति निन्दा गर्दै सामाचार संकलनमा अवरोध गर्ने तत्वको पहिचान गरी कानुनी कारवाहीको माग गरिएको छ । साथै, महासंघले निर्वाधरूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सबैलाई अपिल गरेको छ ।
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारीहरुको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीहरु लाई पछ्याउँदै धुलो–धुँवा उडाएर, तर्साएर अवरोध एवम् आतंक सिर्जना गर्न खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया