गढीमाई मन्दिरको सौन्दर्यकरणमा संघ र प्रदेश सरकारको छैन चासो

बारा । जिल्लाको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पर्यटन भित्राउन चाहिने पूर्वाधारमा प्रदेश सरकार र संघ सरकारले चासो दिएको छैन । मन्दिरको सौन्दर्यकरणमा दुई सरकारले चासो नदिएपछि अहिले महागढीमाई नगरपालिका आफैँ अग्रसर भएको छ ।

महागढीमाई नगरपालिकाले पाँच करोड रकम खर्च गरेर मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणसँगै सौन्दर्यकरण गरेपछि गढीमाई मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र स्थानीय व्यापारी खुसी भएका छन् । गढीमाई मन्दिरको बाहिर वर्षौंदेखि खरको छाप्राबाट व्यवसाय गर्दै आइरहेका व्यापारीहरूले अहिले महागढीमाई नगरपालिकाले पहिलो चरणमा बनेको २७ वटा सटरमा व्यवसाय गर्न पाएपछि व्यवसायी खुसी भएका छन् ।

प्रदेश सरकार र संघ सरकारले गढीमाई मन्दिरको विकासका लागि अग्रसरता नदेखाएपछि महागढीमाई नगरपालिकाले पाँच करोडभन्दा बढी रकम खर्च गरेर मन्दिरमा आउने दर्शनार्थीको लागि पार्किङ लगायतको सुविधाको व्यवस्था मिलाएको छ । यस्तै सडक पेटी, बगैँचा निर्माण, पोलमा बत्ती र मन्दिर रंगरोगन लगायतको काममा नगरपालिका सक्रिय भएको छ ।

हरेक पाँच वर्षमा एकपटक ठूलो संख्यामा बलि दिने मेला लाग्ने परिचय बनाएको गढीमाई मन्दिरको विकासका लागि प्रदेश सरकार र संघ सरकारले आस्वासन मात्र बाँड्ने गरेको नगरप्रमुख उपेन्द्र यादवले बताए ।

स्थानीय सरकारसँग सीमित स्रोत र साधन भए पनि गढीमाई मन्दिरको विकासका लागि नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन । पछिल्लो समय गढीमाई मन्दिरलाई विश्व सम्पदामा सूचीकृतको लागि अवाज उठे पनि सरकारले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल नगरेको नगरपालिकाको आरोप छ ।

प्रतिक्रिया