लमजुङमा श्रीमतीलाई हतियार प्रहार गरी फरार भएका श्रीमान् पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । सामान्य विवादमा धारिलो हतियार (दाउ) प्रहार गरी घाइते बनाएर तत्काल फरार भएका श्रीमान्लाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ जिल्लाको दोर्दी गाउँपालिका– ४ बस्ने २६ वर्षीय कुमार बिक रहेका छन् । ससुराली गएको समयमा २१ वर्षीया श्रीमती रितु बिकलाई घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई घटनास्थलबाट फरार भएका थिए ।

केही दिन अगाडिको सामान्य विवादमा श्रीमतीलाई घाइते बनाई भागेका बिकलाई भोलिपल्ट २१ गते बिहान मर्स्याङ्दी गाउँपालिका–३ स्थित लुकिछिपी हिँडेको अवस्थामा फेला परी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

निज बिकमाथि ज्यान मार्ने उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसान्धन गरिएको प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया