लमजुङमा जलविद्युत् आयोजनाका कारण खानेपानीका मुहान सुके

लमजुङ । जलविद्युत्को जिल्ला भनेर लमजुङलाई चिनिन थाले पनि जलविद्युत् आयोजनाकै कारण यहाँका नागरिकले खानेपानी संकट बेहोर्नुपरेको छ । आफ्नै घर छेउमा धमाधम निर्माण भइरहेका आयोजनाहरूले मुहार उज्यालो बनाउनुभन्दा थप पीडा दिएको स्थानीय बताउँछन् । दोर्दी करिडोरमा निर्माणसम्पन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा स्थानीयले उपभोग गर्दै आएका पानीका मुहानहरू पनि सुरुङतर्फ गएपछि खानेपानी संकट भएको हो ।

पानीका मुहान सुक्न थालेपछि बेँसीसहर नगरपालिका–११ चितीको बानियाँ पँधेरा, भोर्ले, टिमुरे गैराथोक, रामचोक र दलित बस्तीका करिब डेढ सय परिवारले खानेपानीको संकट बेहोरिरहेका छन् । गाउँनजिकै जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माण गरिएकाले गाउँमा खानेपानीको समस्या भएको बानियाँ पँधेराका लक्ष्मीमान कमलीले बताए । उनले भने, ‘खानेपानी वस्तुभाउलाई खुवाउने पानीको समेत अभाव भएको छ ।’ बानियाँ पँधेराकै कृष्णकुमारी श्रेष्ठले मूल सुक्न थालेपछि एक गाग्री पानी भर्न घन्टौँ लाग्ने बताइन् । उनले भनिन्, ‘कुवामा पुग्न एक घण्टा लाग्छ अनि पानीको पालोमा घन्टाँै बस्नुपर्छ । बिहानै पानी लिन निस्केको मान्छे एक गाग्री पानी लिएर घर आउँदा दिउँसो हुन्छ ।’ पानी अभावका कारण घरको काम, मेलापात चौपट भएको उनले बताइन् । जलविद्युत्को सुरुङ निर्माणपछि सय वर्ष पुराना पानीका मुहान सुकेको स्थानीय भीमबहादुर अधिकारीले बताए ।

जलविद्युत् आयोजनालाई धेरैपटक जानकारी गराउँदा पनि कुनै चासो दिएको छैन । आयोजनाले सुरुङ खन्दा सावधानी नपनाउँदा गाउँमा पानीको मुहान सुकेको स्थानीयको आरोप छ । गाउँमा रहेका खानेपानीका मुहानलगायत कुवासमेत सुक्न थालेपछि घण्टौँ पैदल हिँडेर खानेपानी बोक्नुपरेको बेँसीसहर नपा–११ की चन्द्री विक बताउँछिन् । केही वर्ष अगाडिसम्म मुहानमा पानी प्रशस्त थियो अहिले पानीको मुहान सुकेपछि स्थानीयलाई पानीको जोहो गर्न निकै समस्या भएको छ । आयोजनाले गाउँमा खानेपानीको समस्या भएसँगै ट्यांकी निर्माण गरी स्थानीयलाई अस्थायी खानेपानीको व्यवस्था गरे पनि मुहान सुकेपछि यसको विकल्प स्थायी विकल्प नभएको स्थानीय गणेश श्रेष्ठ बताउँछन् ।

आयोजनाले ०७२ फागुनबाट निर्माण कार्य सुरु गरेको हो । बानियाँ पँधेरामा २०७६ सालबाट खानेपानीको मुहान सुक्न थालेको स्थानीय लक्ष्मीमान कमली बताउँछन् । उनी भन्छन्, ‘आयोजनाको सुरुङ खन्न सुरु भएसँगै खानेपानीको मुहान सुक्न थालेको हो ।’

जलविद्युत् आयोजनाकै कारणले पानीको मुहान सुकेको भन्ने एकिन हुन सकेको छैन यसको पहिचान हँुदै छ, यदि जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा समस्या देखिएको भए पानीको स्रोतको पहिचान गरी स्थानीय सरकारसँग समन्वय गरी खानेपानीको व्यवस्थापन गर्ने २७ मेगावट दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् । आयोजनाले खानेपानीको समस्या समाधानका लागि गाउँमा खानेपानीको ट्यांकी निर्माण गरिदिएको छ ।

यसले पूर्णता नभए पानीको स्रोतको पहिचान गरी प्रभावित स्थानीयलाई खानेपानीको व्यवस्था आयोजनाले गर्नेछ । आयोजनाले वातवरणीय प्रभाव मूल्यांकन इआइए रिपोर्टमा समेत आयोजना निर्माणको क्रममा खानेपानीको मुहान सुकेमा आयोजनाले खानेपानीको स्रोत पहिचान गरी स्थानीयलाई खानेपानीको व्यवस्था गर्ने उल्लेख गरेको बेँसीसहर–११ का जलविद्युत् आयोजनाका प्रभावित काशीनाथ दवाडी बताउँछन् । उनी आयोजनाले इआइए रिपोर्टमा समावेश गरेको कुरासमेत कार्यान्वयन नगर्दा समस्या भएको बताउँछन् । जिल्लामा आयोजना निर्माणको होडबाजी चले पनि आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन इआइए रिपोर्टको बेवास्ताका कारण समस्या आएको बेसीसहर–११ का नेपाली कांग्रेसका नेता सुरेशबाबु पाण्डे बताउँछन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गाउँमा खानेपानीको समस्याबारे प्रशासनमा खबर प्राप्त नभएको बताए । उनले भने, ‘यस विषयमा म सम्बन्धीत आयोजनासँग बुझेर समस्या समाधानतर्फ ध्यान दिनेछु ।’ बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले खानेपानीको समस्या भयो भनेर केही समय अगाडि प्रभावितहरू नगरपालिकामा आएको बताए ।

बेँसीसहर–११ का स्थानीय खानेपानी समस्या भयो भनेर नगरपालिका आउनुभयो यस विषयमा आयोजनासँग छलफलसमेत भयो गाउँमा अस्थायी ट्यांकी आयोजनाले निर्माण गरिदिएछ । अव पानीको मुहानको स्रोत पहिचान गरी आयोजनासँग समन्वय गरी समस्याको समाधान गरिने बताए । खानेपानी अति आवश्यक भएकाले यसको समाधान गर्नु आयोजनाको पमुख दायित्व भएको अर्याल बताउँछन् ।

जलविद्युत् आयोजना निर्माण भएसँगै खानेपानी, सडक र रोजगारको सिर्जना हुन्छ भनेर खुसी भएका स्थानीय विकाससँगै विनास हुँदा थप चिन्तित देखिएका छन् । गाउँमा सयौँ वर्षदेखि प्रयोग गर्दै आएको खानेपानीको मुहानसमेत सुकेपछि उनीहरू गाउँ नै छोड्ने सोचमा रहेको बेँसीसहर–११ का डगमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘जनलविद्युत् आयोजन बनेसँगै गाउँमा सेवा सुविधा बढ्ला भन्ने सोचेको झनै समस्या थपियो खानेपानीकै कारण वस्ती नै स्थान्तरण गर्नुपर्ने अवस्था सिर्जना भयो ।’

दोर्दी करिडोरमा पहिलोपटक जोखिम मोलेरै दुई मेगावाटको आयोजना निर्माण आँट्दै छ्याङ्दीले आफ्नो काम सुरु गरेको थियो । आयोजनाले सुरुआती चरणमा सडक, विद्युत्का पूर्वाधार, छरछिमेक कार्यक्रममा बढी जोड दियो, जसले गर्दा सदीयौँदेखि विकास नदेखेका स्थानीयहरूको आयोजनाप्रति विश्वास बढ्यो । छ्याङ्दीको यो पहलसँगै दोर्दी खोलाबाटै विकासको ढोका खुलेको दोर्दी ताँजेका मेखलाल घले बताउँछन् । एउटै खोलामा भित्रिएको अर्बाैं लगानीले स्थानीयका लागि रोजगार, व्यापार र विकासका ढोका खुलेका छन् । गाउँगाउँमा सडक, पुल, सामुदायिक भवन, विद्यालय सुधार, सिँचाइ, खानेपानी तथा कृषि उत्पादनमा सहयोग पुगेपछि स्थानीय खुसी छन् ।

प्रतिक्रिया