पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अघि बढाएको छ । अहिलेसम्मका सबै मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग भेटेर पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका थिए । तर मागउपर सुनुवाई नभएपछि प्रदेश सरकार आफैँले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अघि बढाएको हो । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरिसकेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समिति आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन तयारीमा जुटेको छ । पोखरा नेपालको सबैभन्दा आकर्षक पर्यटकीय सहर हो । पोखरा आसपासमा पर्यटकीयस्थलहरू उल्लेख्य छ । भौगोलिक दृष्टिले पनि पोखरा नेपालको मध्यभागमा पर्छ । यसैले बोलिचालीमा पनि पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएको छ । सरकारले औपचारिक रूपमा नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदिए गण्डकी प्रदेशको आर्थिक समृद्धिमा थप टेवा पुग्ने ठहरमा प्रदेश सरकार लागेको हुनुपर्छ । पर्यटकीय राजधानी घोषणा गरेपछि बजेटको प्राथमिकता पर्छ, व्यवसायीमा लगानीको माहोल बन्छ, नयाँ लगानीसँगै पँर्वाधार थप गरिन्छन्, पर्यटन व्यवसाय सबैको प्राथमिकतामा पर्छ भन्ने व्यवसायीहरूलाई पनि लागेको छ । पर्यटकीय राजधानी घोषणा गर्दा नेपालमा पर्यटक भित्रिने विभिन्न मुलुकसँग हवाई सञ्जाल बिस्तार हुन्छ, पर्यटन केन्द्रित अन्तर्राष्ट्रिय उडानले पोखरालाई जोड्छ, पर्यटकीय सम्पदा संरक्षणमा बजेट दिइन्छ, भन्ने लाग्नु स्वभाविकै हो ।

प्रशासनिक राजाधानीबाहेक अन्य सहरलाई विभिन्न नाममा राजधानी घोषणा गर्ने प्रचलन विश्वमा कहीँ पनि छैन । जहाँसम्म पर्यटकीय सहर घोषणाको कुरा हो, त्यसलाई औपचारिकता दिन संघीय सरकारले पनि ढिलाइ गर्नु हुँदैन । किनकी पोखराको पर्यटनले गण्डकी प्रदेशलाई मात्रै होइन सिंगो मुलुकलाई लाभ पु¥याइरहेको कुरा विभिन्न तथ्यांकद्वारा पनि स्पष्ट हुन्छ । नेपाल घुम्न आएकामध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यसैगरी आन्तरिक पर्यटनको हिसाब गर्ने हो भने त करिब ६० प्रतिशत हिस्सा पोखराले नै ओगट्छ । त्यसो त पोखरालाई केन्द्रित बनाएर विकास गर्न सकिने पर्यटकीय गन्तव्यहरूको संख्या उल्लेख्य छ । मनाङ, मुस्ताङ, उत्तरी गोरखा त पोखराबाट नजिक पर्ने नेपालका मुख्य पर्यटकीय गन्तव्य हुँदै हुन् । त्यसबाहेक पोखराबाट एक देखि तीन घण्टा सम्मको ड्राइभिङमा पुगिने पर्यटकीय गन्तव्यहरू उल्लेख्य छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पनि पोखराको पर्यटकीय संभावनालाई थप बढाएको छ । तर पर्यटकीय उडान पोखराबाट गर्नेतर्फ पहल पुगेको छैन । मध्यपहाडी लोकमार्गको निर्माणले पोखरालाई पर्यटकीय सहर घोषणा गर्नुपर्ने आवश्यकतालाई थप बढाएको छ । केही वर्षभित्रै पोखरा र कर्णाली क्षेत्र सडक यातायातबाट जोडिँदैछ । निजी क्षेत्रबाट निर्माण गर्नुपर्ने पर्यटकीय पँर्वाधारको कुनै कमी छैन । आवश्यकता अनुसार पोखरामा पर्यटकीय पँर्वाधार निर्माण गर्न निजी क्षेत्र तयार देखिएकै छ । तर सरकारी स्तरबाट भने दँरदर्शिता पुगेको देखिँदैन । पर्यटकलाई सेवा पु¥याउने सरकारी पँर्वाधारमा अझै पनि कन्जुस्याइँ गरिएको छ । अपतकालीन उद्धार र राहतको काम पोखराबाटै हुने सुनिश्चित गराउनुपर्छ । यसैगरी गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालकै पर्यटकीय राजधानी घोषणा गर्ने त भनेको छ, तर यसका लागि दँरदर्शिता अपनाएको देखिन्न । यदि पोखरालाई पर्यटकीय राजधानी बनाउने हो भने गण्डकी प्रदेशको राजधानी यथाशीघ्र अन्यत्र सार्नुपर्छ । तर धमाधम सरकारी प्रशासकीय भवन निर्माण गरेर पोखरा उपत्यकामा रहेका खाली सार्वजनिक जग्गाहरू मासिँदै छ । जनघनत्व बढेसँगै प्रदँषण पनि बढ्न थालेको छ । यदि पर्यटकीय राजधानी बनाउने हो भने पर्यटनसँग संबन्धितबाहेक अरू मुकाम पोखराबाट अन्यत्र सार्न ढिलाइ गर्नुहुन्न । पर्यटनसँग सम्बन्धितबाहेक अरू उद्योगहरू खोल्न दिनुहुन्न ।

प्रतिक्रिया