क्रिसमसडेको पूर्वसन्ध्यामा धार्मिक विवाद

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक सार्वजनिक समारोहमा दिएको अभिव्याक्तिका कारण यतिबेला हिन्दूधर्म सँग संवन्धित विभन्न संगठन तथा राजनीतिकर्मीहरु आन्दोलित भएका छन् । गत बुधबार क्रिश्चियन महोत्सवका अवशरमा राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले भनेका थिए –‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् ।

उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो ।’ यही अभिव्याक्तिका कारण मन्त्री किराती विवादमा तानिएका हुन् । क्रिश्चियन महोत्सवका अवशरमा दिइएको अभिव्याक्तिले मन्त्री किराती मात्रै विवादमा तानिएका छैनन्, प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड समेत मुछिएका छन् । प्रचण्डलाई उदृत गर्दै मन्त्री किरातीले भनेका थिए –‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’ संविधानबाट धर्म निरपेक्षता हटाएर हिन्दू अधिराज्य पुनवर्हालीको माग गर्दै भइरहेका गतिविधि पछिल्लो दिन बढेका मात्रै छैनन् , जन सहभागिता पनि बढ्न थालेको कुरा साँचो हो । यस्तो बेला मन्त्री किरातीले दिएका अभिव्यक्तिले हिन्दुअतिवादीको गतिविधिलाई मलजल पु¥याउनु स्वभाविकै हो । एकातिर हिन्दु सँग संवन्धित विभिन्न संघ संस्था तथा राजनीतिकदलहरुले मन्त्री किरातीको राजिनमा मागिरहेका छन् भने अर्कातिर मन्त्री किराती आफ्नो भनाई फिर्ता लिन तयार छैनन् , बरु आफ्नो भनाईको औचित्य पुष्टिका लागि तल्लिन छन् ।

सामान्य अवस्थामा हुन्थ्यो भने मन्त्री किरातीको यो अभिव्याक्ति जनचासोको विषय हुने थिएन । किनकी संविधानतः नेपाल धर्मनिरपेक्ष देश हो । कुनै पनि धर्म सम्प्रदायको अस्तित्वलाई अस्वीकार गर्न मिल्दैन । तर हिन्दु बाहेक अरु धर्मसम्प्रदायको अस्तित्व स्वीकार गर्नु हुन्न भन्दै एकथरीले अभियान नै चलाएका छन् । यिनै अभियानकर्तालाई जवाफ दिएको हुनुपर्छ मन्त्री किरातीले । तर अभिव्याक्तिमा उनले काइते भाषा प्रयोग गर्न जानेनन् । ठाडो भाषा प्रयोग गरे । ‘क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो ।’ भन्ने बाक्यको अर्थ गम्भीर छ । किनकी धर्मनिरपेक्षताको अर्थ क्रिष्चियनलाई मान्नै पर्छ भन्ने किमार्थ होइन । मन्त्रीको आशनमा बसेर सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक र गैरजिम्मेवार अभिव्याक्ति दिनु सवर्था अनुचित हो । आफू नमाने पनि कसैको आस्था र बिश्वास माथी धावा बोल्न हुँदैन । न त हिन्दुहरुले इशाईको अस्तित्व माथि धावा बोल्न मिल्छ , न त इशाईहरुले अरु धर्मावलम्वीको अस्तित्व माथि धावा बोल्न मिल्छ ।

मन्त्री भनेको सबैको साझा हो । त्यसमा पनि नेपाल धर्म निरपेक्ष देश हो । धर्मनिरपेक्ष देशको मन्त्रीले क्रिश्चियन नमान्नेहरुलाई जेल हाल्छु भन्नु हदैसम्मको धार्मिक असहिष्णुता हो । यस्ता असहिष्णु मन्त्री त नेपाल हिन्दू अधिराज्य हुँदा पनि थिएनन् । उदाहरणका लागि पंचायतकालमा पटक पटक प्रधानमन्त्री बनाइएका तथा राजा ज्ञानेन्द्रको शाही शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष बनाइएका डा. तुल्सी गिरी इशाई धर्मका उच्चस्तरीय पादरी थिए । तर उनले कहिल्यै पनि अन्य धर्मालम्वी प्रति असहिष्णु व्यवहार गरेको देखिएन । मन्त्री किरातीको यस्तो अभिव्याक्तिले स्वयं नेपालको इशाई समुदायलाई पनि फाइदा गरेको छैन । इशाई नेपाली माटोको धर्मसम्प्रदाय होइन , इशाई सम्प्रदायको धर्मग्रन्थमा उल्लेखित भूगोल, भाषा तथा नामहरु पनि नेपाल भन्दा धेरै धेरै टाढाका हुन् । यति हुँदा हुँदै पनि इशाईका चाड पर्वहरुमा नेपालीहरुको सहभागिता उल्लेख्य रहँदै आएको छ । इशाईहरुको महानचाड क्रिसमस डेका कार्यक्रममा नेपालीहरुको सहभागिता बढ्दो छ । धार्मिक सहिष्णुताको चरम नमुना हो यो । तर यही धार्मिक सहिष्णुतालाई कमजोरी ठानियो भने अतिवाद बढ्छ । मन्त्री किरातीको यो अभिव्याक्तिले इशाई सम्प्रदायलाई फाइदा पुर्याएको छैन , बरु हिन्दू धर्मसम्प्रदायका अतिवादीहरुलाई थप ‘एजेण्डा’ दिएको छ ।

प्रतिक्रिया