मध्यपहाडी लोकमार्गको औचित्य

प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले मेची महाकाली संकल्प यात्रा आइतबार समापन गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त भएको छ । मध्यपहाडी लोकमार्ग हुँदै भएको करिब १८ सय किलोमिटरको यो सडक यात्रा सम्पन्न हुन १८ दिन लाग्यो । संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टर चढेर चिवाभञ्याङ पुगेका थिए । यात्राको १८औँ दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै एक सय किलोमिटर सडक यात्रा गर्दै चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो । तर गाडीबाट छिचोल्न नसकिएपछि अध्यक्ष ओलीलगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकोप्टर प्रयोग गरेका थिए । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानको खास अभिष्ठ के हो ? भन्ने कुरा एमालेले अझै खुलाएको छैन । पुस ५ गते पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने एमालेले जनाएको छ । गणतन्त्रको स्तम्भका रूपमा विश्वलाई नै देखाउन लायक भौतिक पूर्वाधार निर्माण गर्ने भन्दै २०६५ सालमा थालनी गरिएको मध्यपहाडी लोकमार्ग अझै पनि अधुरो रहेछ भन्ने सन्देश नेताहरूको हेलिकोप्टर यात्राले दिएको छ । संकल्प यात्रापछि एमालेका नेता प्रदीप ज्ञवालीको प्रारम्भिक निष्कर्ष छ, ‘लोकमार्ग भनिए पनि लोकमार्ग जस्तो भएको रहेनछ, लोकमार्ग यति लामो दुरीको हुँदैन ।’

मध्यपहाडी लोकमार्गको निर्माण थालनी हुनुमा नेकपा एमालेको योगदान बढी छ भन्ने कुरा साँचो हो । मध्यहाडी लोकमार्ग निर्माणको थालनी गरिए यताको १५ वर्षको अवधिमा नेकपा एमालेले पाँचपटक सरकारको नेतृत्व गरेको छ । २०६६ देखि २०६९ सम्म करिव साढे दुई वर्षसम्म माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको नेतृत्व गरे । २०७२–०७३ मा नौ महिना र २०७४–२०७८ मा साढे तीन वर्ष गरी करिब पाँच वर्ष केपी शर्मा ओलीले नेतृत्व गरे । यो १५ वर्षको अवधिमध्ये पुगनपुग आधा समय एमालेले सरकारको नेतृत्व ग¥यो । त्यस बाहेकको आठ वर्ष पनि केही अपवादबाहेक अधिकांश एमाले सरकारमा सहभागी छ । त्यति मात्रै होइन मध्यपहाडी लोकमार्गसँग जोडिएका धेरैजसो जिल्लामा नेकपा एमालेले अधिकांश चुनाव जित्दै आएको छ । करिब एक खर्ब रुपैयाँ खर्च भइसकेको छ, निर्माण थालिएको १५ वर्ष बितिसकेको छ । तर गाडी चढेर यो लोकमार्ग छिचोल्न नेकपा एमालेलाई १८ दिन लाग्यो । त्यतिले पनि नपुगेर हेलिकोप्टर प्रयोग गर्नुप¥यो । देशको ढुकुटी, साधन–स्रोत तथा समयको कतिसम्म दुरुपयोग भएको रहेछ ? भन्ने उदाहरण यो भन्दा अर्को के हुन सक्ला ?

आजभन्दा ६० वर्षअघि नै तराईमा पूर्वपश्चिम राजमार्गको निर्माण गरेर राजा महेन्द्रले इतिहासमा आफ्नो नाम अमर बनाइसकेका छन् । राजनीतिक रूपमा राजा महेन्द्र जतिसुकै निरंकुश भए पनि उनी राष्ट्रवादी र विकासप्रेमी थिए भन्ने उदाहरण यही पूर्वपश्चिम राजमार्गले दिएको छ । गणतन्त्र स्थापनापछि यस्तै कालजेयी भौतिक संरचना निर्माण थालिनु अपरिहार्य थियो । मध्यपहाडी लोकमार्गका रूपमा त्यो कामको थालनी भयो । मध्यपहाडी लोकमार्गको सपना ठिक हो, नेपालको सन्तुलित विकासका लागि अपरिहार्य हो भन्ने कुरामा कुनै विमति छैन । तर जुन ढंगले रेखांकन गरियो, त्यहाँनिर ठूलो बेइमानी भएको छ । नेपालको पूर्वपश्चिम लम्बाइ जम्मा आठ सय किलोमिटर छ । तर पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग १८ सय किलोमिटर लम्बाइको हुने गरी रेखांकन गरियो । त्यसैले निर्माण सम्पन्न भइहालेछ भने पनि यो सडक सहायक मार्ग हुनेछ, लोकमार्गका रूपमा प्रयोग हुने संभावना नै छैन । लोकमार्गका रूपमा प्रयोगमा ल्याउने हो भने कम्तिमा पनि एकतिहाइ लम्बाइ घटाउनुपर्छ । १८ सय किलोमिटरबाट १२ सय किलोमिटरमा झार्न सकिएन भने यो सडक लोकमार्गका रूपमा प्रयोगमा आउन सक्दैन । १२ सय किलोमिटरमा झार्न सकिने भौगोलिक संभावना छ । यसका लागि नीति निर्माण तहमा बस्नेहरू इमानदार बन्नै पर्छ ।

प्रतिक्रिया