डा. केसीको अनसनविरुद्ध माफिया हाबी

चिकित्सा शिक्षा तथा स्वाथ्य उपचारको सुविधा सर्वसाधारणको पहुँचमा पुर्याउन दशकौँदेखि संघर्ष गर्दै आएका डा.गोविन्द केसीले धनगढीमा पुगेर गत शुक्रबारदेखि पुनः आमरण अनसन सुरु गरेका छन् । डा.केसीले हरेक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग राख्दै सात वर्षअघि आमरण अनसन बसेका थिए । उनको मागअनुसार कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्न सरकार तयार भयो । सरकारले २०७१ चैत १९ गते डा.केसीको पाँचौँ अनसन तोडाउन आगामी पाँच वर्षमा देशको पाँच स्थानमा कम्तीमा एक–एक सरकारी मेडिकल कलेज खोल्ने नीति लिने सहमति गरेको थियो । त्यसपछि केसीका हरेक अनसनमा गेटा मेडिकल कलेज निर्माण र सञ्चालन समेटिँदै आयो । करिब पाँच अर्ब रुपैयाँको लागतमा गेटा मेडिकल कलेजका लागि सम्पूर्ण भौतिक पूर्वाधारहरू तीन वर्षअघि नै तयार भए । तर मेडिकल कलेज सञ्चालनमा आउन भने अझै सकेको छैन । मेडिकल कलेज कस्तो मोडलमा सञ्चालन गर्ने ? भन्ने नयाँ बखेडा निकालेर विवाद चर्काइएपछि डा.केसीले सात बुँदे माग राखेर २०७९ भदौ २७ देखि धनगढीको कृष्ण मन्दिर परिसरमा २०औँ आमरण अनसन सुरू गरेका थिए । ७ बुँदेको दोस्रो बुँदामा भनिएको थियो, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । सरकारले उनको मागमा सहमति जनायो । तर गेटा मेडिकल कलेज सञ्चालनमा आएन । त्यसैले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै डा.केसी अनसन बसेका हुन् ।

विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने कि ? प्रतिष्ठानका रूपमा ? भन्ने नयाँ विवादका कारण गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको हो । मेडिकल कलेज सञ्चालन गर्न ढिलाइ गर्ने नियतका साथ प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने विगतको सहमति उल्ट्याएर विश्वविद्यालयको रूप दिन खोजिएको आरोप डा.केसीको छ । विश्वविद्यालयको रूप दिनु आवश्यक नभएको र मेडिकल कलेज सञ्चालन गर्न ढिलाइ गर्ने नियतका साथ विश्वविद्यालयको कुरा अघि बढाइएको आरोप डा.केसीको छ । यता केही स्थानीय व्यवसायी तथा राजनीतिकर्मीहरू ढिलै भए पनि विश्वविद्यालयकै नाममा गेटा मेडिकल कलेज सञ्चालन होस् भन्ने लबिङमा जुटेका छन् । जसका कारण डा.केसीको तर्क ठिक हो कि ? स्थानीय व्यवसायी तथा राजनीतिकर्मीहरूको तर्क ठिक हो ? भन्ने अन्योलमा सर्वसाधारण जनता परेका छन् । विगतमा अन्य स्थानमा अनसन बस्दा डा. केसीले स्थानीय जनताको जति साथ सहयोग पाएका थिए, त्यति साथ सहयोग यसपटक धनगढीबासीबाट पाउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेश यसै पनि विकट छ । सामान्य स्वास्थ्य उपचारका लागि पनि भारत जानुपर्ने वाध्यता छ । यो वाध्यतालाई जतिसक्दो छिटो दूर गर्न भन्दै धनगढीको गेटामा सुविधासम्पन्न मेडिकल कलेज स्थापना गर्ने डा. केसीको प्रयास दुई दशक अघिदेखिको हो । सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको थियो । त्यसयताका हरेक निर्वाचनमा मेडिकल कलेजको विषय सबै दलको नारा बन्दै आयो । २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरियो । गेटा मेडिकल कलेज संरचना विकास समिति पनि बन्यो । २०७१ सालमा शिलान्यास पनि भयो, तर वातावरणीय प्रभाव मूल्यांकन र रूख कटानको विषयमा झमेला भएर २०७४ मात्र पूर्वाधार निर्माणको काम सुरु भयो । पाँच अर्ब रुपैयाँ लागतमा ६ सय शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन निर्माणको काम तीन वर्षअघि नै सकिएको छ । मेडिकल कलेज चलाउन भौतिक संरचनाले रोक्ने अवस्था छैन । तर निजी क्लिनिक तथा नर्सिङ होम सञ्चालकहरू र भारतमा बिरामी लैजाने गिरोह मुलुकको नीति निर्माणतहमा हाबी भएका कारण गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । नयाँ विवाद थपिँदै लगिएको छ । फरक यति हो कि, विगतमा माफियाविरुद्ध डा. केसीको अनसन हाबी भएको थियो, तर यसपटक डा.केसीको अनसनविरुद्ध माफियाहरूको हर्कत हावी भएको छ ।

प्रतिक्रिया