महेन्द्रले ल्याएको समान्तवाद विरुद्धको कानुन प्रचण्डद्धारा उल्लंघन

जन्मदेखि मृत्युसम्म विभिन्न संस्कार गर्ने परम्परा रहि आएको छ । यस्ता धार्मिक तथा सामाजिक संस्कारहरुमा नेपाल निकै धनी छ । नेपाल विविध जात जाति मिलेर बनेको देश हो । हरेक जात जातिका मौलिक संस्कारहरु छन् । जसमध्ये छैठी , न्वारन , पास्नी, विवाह लगायतका संस्कार सबै जात जातीका साझा छन् । मृत्यु बाहेकका अरु संस्कारहरु उत्सवका रुपमा मनाउने चलन छ । छैठी , न्वारन , पास्नी, विवाह लगायतका संस्कार मनाउने धार्मिक विधि अलग अलग भए पनि उत्सवको विधि भने करिव करिव एउटै छ । खास गरी विवाह संस्कारलाई ठूलै उत्सवका रुपमा मनाउने चलन निकै पुरानो हो ।

समाज सामान्ति युगमा प्रवेश गरेदेखि निकै ठूलो तामझामका साथ बैबाहिक उत्सव मनाउन परम्परा सुरु भएको हो । हाम्रा पौराणिक ग्रन्थमा उल्लेख भएका आदर्श पात्रहरुको बैबाहिक समारोह समेत निकै धुमधाम तथा तडक भडकका साथ गरिएको कुरा उल्लेख छ । उदाहरणका लागि त्रेता युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी सीता वीचको बैबाहिक समारोहलाई लिन सकिन्छ । मार्ग शुक्ल पन्चमीका दिन भएको श्रीराम र सीताको विवाह उत्सवमा लाखौंको सहभागिता रहेको हाम्रा धार्मिक ग्रन्थमा उल्लेख छ । यो तिथिलाई अहिले पनि विवाह पंचमीका रुपमा मनाउने गरिन्छ । रामको विवाहको प्रतिकका रुपमा भारतको अयोध्याबाट नेपालको जनकपुरधाममा जन्ती आउने सिलसिला अहिले पनि जारी छ । विवाह पन्चमीलाई नेपाल र भारतले साझा चाडका रुपमा अहिले पनि निरन्तरता दिएका छन् ।

त्यतिबेला अयोध्या र मिथिला दुवै धनी राज्य थिए । धनी राज्यका राजकुमार र राजकुमारी वीचको विवह उत्सवमा लाखौ प्रजाजन सहभागी हुनु स्वभाविकै थियो । कालन्तरमा राजा महाराजको देखासिखी गर्दै सामान्तीहरुले पनि आफ्ना छोरा छोरीको विवाह निकै ठूलो खर्च गरेर तडक भडकका साथ गर्न थाले । वैवाहिक समारोहलाई आफ्नो सम्पत्ति प्रदर्शन गर्ने कुसंस्कार बनाइयो । यो कुसंस्कारले गरिव परिवार माथि आर्थिक तथा मानसिक बोझ थपिनु स्वभाविकै थियो । विवाहमा लागेको ऋण तिर्न जिन्दगीभर अरु कहाँ बन्धक बस्न वाध्य हुने अवस्थामा पुग्नु भनेको संस्कार होइन कुसंस्कार हो । यो सामाजिक कुसंस्कारले नेपालमा निकै लामो समयदेखि राजकीय स्तरमै निरन्तरता पाइ रहेको छ । त्यसको ताजा उदाहरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेका छन् ।

जंगबहादुर राणाले सति प्रथा उन्मुलनका लागि कानुन ल्याए , चन्द्रशमशेर राणाले दास प्रथा उन्मुलनका लागि कानुन ल्याए । महेन्द्र शाहले बैबाहिक कार्यक्रममा हुने तडकभडक विरुद्ध कानुन ल्याए । निरंकुश शासन सत्ता संचालन गरे पनि यी पात्रहरुले सामाजिक विकृति विरुद्ध ल्याएका कानुनहरु प्रगतिशील छन् । सती प्रथा उन्मुलनको कानुन कार्यान्वनमा आएको सयौं वर्ष वितिसकेको छ । दास प्रथा विरुद्धको कानुन कार्यान्वयनमा नआएको होइन तर समाजमा व्याप्त गरिवीका कारण दासप्रथाको अवशेष अझै बाँकी छ । दासप्रथा नयाँ स्वरुपमा देखिएको छ । यता बैबाहिक कार्यक्रममा हुने तडक भडकलाई भने कानुनले छुन सकेको छैन । ‘जो अगुवा , उही बाटोमा हगुवा’ भने जस्तै शासन सत्ताको बागडोर संहाल्नेहरुले नै यो कानुनलाई धज्जी उँडाएका छन् । किनकी तत्कालिन राजा महेन्द्र शाहले आँफैले ल्याएको कानुनको धज्जी उडाउँदै आफ्ना छोरा छोरीको बैबाहिक कार्यक्रम निकै तडक भडकका साथ गरे । त्यसलाई वीरेन्द्र शाह तथा ज्ञानेन्द्र शाहले पनि निरन्तरता दिए ।

राजाहरुलाई कानुन भन्दा माथि राखेर सम्मान दिइएका कारण र राजपरिवारका सदस्यको बैबाहिक समारोहलाई देशकै इज्यत प्रतिष्ठा सँग जोडिएका कारण तडक भडकलाई अस्वभाविवक मानिएन । तर गणतन्त्र स्थापना पछि पनि शासकहरुले यो तडक भडकलाई को भन्दा के कम ? भन्दै निरन्तरता दिइरहेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा केही वर्ष अघि भएको तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाह कार्यक्रम र गत शुक्रबार प्रधानमन्त्री प्रचण्डकी नातनीको विवाह कार्यक्रमलाई लिन सकिन्छ । कानुनले बैबाहिक समारोहमा दुलाह र दुलही पक्षका गरी ५० जना भन्दा बढीको सहभागितालाई अपराध मानेको छ । तर प्रधानमन्त्री प्रचण्डकी नातीनीको बिबाह कार्यक्रममा बेहुलीको पक्षबाट एक हजारलाई आमिन्त्रत गरिएकोमा दुई हजार भन्दा बढीको सहभागिता रहेको समाचार आएको छ । सामान्तवाद उन्मुलन गर्ने भन्दै १७ हजार नेपालीको ज्यान जाने गरी हिंस्रक युद्ध मच्चाएका प्रचण्ड आज स्वयम सामान्ती बन्नु देशका लागि निकै दुखद हो । सामान्ती बन्ने प्रचण्डको चेष्टालाई साथ दिनेहरु दास हुन् । यतिबेला सामन्ति प्रथा र दास प्रथालाई निरन्तरता दिने मुख्य नायकका रुपमा प्रचण्ड विराजमान छन् ।

प्रतिक्रिया