नेपाली कांग्रेस अनिर्णयको बन्दी

मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा केही वर्षदेखि विधिवत निर्णय हुन छाडेका छन् । समय घर्किनै लाग्दा विधि मिचेर निर्णय गर्ने प्रवृत्ति बढेको छ । त्यसको पछिल्लो उदाहरण हो महासमितिको बैठक । गत भदौमा गर्ने भनिएको नेपाली कांग्रेसको महासमितिको बैठक पटकपटक मिति सार्दै पुसको दोस्रो साता पुर्याइयो । तर पुसको दोस्रो साताका लागि तय गरिएको बैठक पनि अनिश्चित कालसम्मका लागि धेकेल्ने प्रयास गरिएको समाचार आएको छ । पुस र माघ महिनामा काठमाडौंमा निकै जाडो हुने भन्दै सभापति शेरबहादुर देउवाले महासमितिको बैठक सार्न निर्देशन दिएको समाचार आएको छ । देउवाको यो प्रयासपछि कांग्रेसका इतर पक्षका नेताहरूले छुट्टै बैठक राखेका छन् ।

जाडोको कारण देखाएर महासमितिको बैठकको मिति सार्नु भनेको हास्यापद हो । नेपाली कांग्रेसको विधानअनुसार महाधिवेशन भएको मितिले दुई वर्षभित्र महासमितिको बैठक बस्नै पर्छ । महाधिवेशन भएको पुसको पहिलो साता दुई वर्ष बित्दै छ । त्यसो त कांग्रेसको दुई वर्षअघि सम्पन्न १४औँ महाधिवेशनको आधा काम बाँकी नै छ । समयको अभाव भन्दै १४औँ महाधिवेशनमा नेतृत्व चयनबाहेक अरू काम गरिएन । नीति तथा कार्यक्रमबारे महाधिवेशनमा एजेन्डा नै प्रस्तुत गरिएन । एक वर्षभित्र नीति महाधिवेशन गर्ने भन्दै पन्छाइयो । तर दुई वर्ष बितिसक्यो । अब नीति महाधिवेशनको प्रसंग करिबकरिब सकिएको छ ।

समयमै महाधिवेशन सम्पन्न गराउन नसक्दा पनि, ढिलो गरी महाधिवेशन हुँदा पनि, नीति तथा कार्यक्रमका एजेन्डा प्रवेश गराउन नसक्दा पनि, प्रायः सबै भ्रातृ संगठनहरूमा तदर्थवाद लागू गर्दा पनि, विधानअनुसार पार्टीका विभाग तथा संगठनहरू निर्माण नगर्दा पनि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले अत्यधिक बहुमतका साथ देउवालाई नै पुनः सभापति पदमा चुनाव जिताइदिए । सभापति पदमा मात्रै होइन १४औँ महाधिवेशनले केन्द्रीय कार्यसमितिमा समेत देउवा पक्षको दुईतिहाइ बहुमत पुर्याइदियो । देउवा पुरस्कृत भए । अघिल्लो कार्यकालमा गतिहीन रूपमा पार्टी चलाउँदासमेत महाधिवेशन प्रतिनिधिद्वारा पुरस्कृत भएका देउवाले यो कार्यकालमा पार्टीलाई थप गति देलान् भन्ने अपेक्षा कार्यकर्ताहरूले गरेका होलान् तर आमजनताले गरेका छैनन् । त्यसैले गत आमनिर्वाचनमा नेपाली कांग्रेसको भोट निकै ठूलो परिमाणमा घटेको हो । यति ठूलो परिमाणमा नेपाली कांग्रेसको भोट यसअघि कहिल्यै घटेको थिएन ।

यतिबेला जनता शासन व्यवस्थाप्रति नै निराश हुनुको कारण प्रमुखदलहरूमा देखिएको अलोकतान्त्रिक र तदर्थवादी चरित्र हो । हामी बहुदलीय शासन प्रणालीमा छौँ । लोकतन्त्रको प्रत्याभूति जनतालाई दिने दलहरूले हो । जुन दलले आन्तरिक लोकतन्त्रलाई इमानदारीका साथ अवलम्बन गर्न सक्दैन, त्यो दलले देशको लोकतन्त्रप्रति जनताको विश्वास बढाउन सक्दैन । दुर्भाग्यबस यतिबेला नेपाली कांग्रेसमा त्यही भइरहेको छ । सरसर्ती हेर्दा अलोकतान्त्रिक चरित्र र अनिर्णयको बन्दी हुनु नेपाली कांग्रेसको आन्तरिक मामिला हो कि जस्तो देखिन्छ । हाम्रो आन्तरिक मामिलामा तिमीहरूलाई के को चासो ? भन्दै मिडिया (जनता) लाई उल्टै प्रश्न गर्ने प्रवृत्ति पनि हाम्रो देशका नेताहरूमा नभएको होइन । लोकतन्त्रका लागि यस्तो प्रवृत्ति निकै घातक हो ।

बहुदलीय लोकतन्त्रमा पार्टीहरूको गतिविधिलाई आन्तरिक मामिलाका रूपमा मात्रै लिन मिल्दैन । संस्थागत रूपमा चल्ने पार्टीले मात्रै देशलाई संस्थागत रूपमा चलाउन सक्छ । हुन त नेकपा एमाले, नेकपा माओवादी तथा नयाँ शक्तिका रूपमा उदाएको रास्वपा भित्रको आन्तरिक लोकतन्त्र पनि नेपाली कांग्रेसको भन्दा झन् खराब हालतमा छ । त्यसैले अरू पार्टीतिर औँलो सोझ्याएर उम्कने प्रयास नेपाली कांग्रेसका नेताहरूले गरेको देखिन्छ । तर, यस्तो प्रयास नेपाली कांग्रेसका लागि आत्मघाति हो । देशको सबैभन्दा ठूलो, सबैभन्दा पुरानो तथा अहिलेसम्म निर्णायक भूमिका निर्वाह गरेको पार्टी भएका कारण जनताले नेपाली कांग्रेससँग गुनासो गर्नु स्वभाविकै हो । जनताको विश्वास एकपटक टुटेपछि फेरी फर्कन सजिलो छैन ।

प्रतिक्रिया