रुसी, युक्रेनी सेनामा भर्ती हुनु अनुचित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा दुई सय जना नेपाली कार्यरत रहेको औपचारिक सूचना प्राप्त भएको जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो जानकारी दिएका हुन् । विगत डेढ वर्षदेखि जारी रुस र युक्रेनको युद्धमा नेपाल तटस्थ छ । तर नेपाली युवाहरू दुवै देशको सेनामा भर्ना हुन थालेका समाचार युद्ध सुरु भएको केही महिनापछि नै आएका थिए । दुई साताअघि रुसी सेनामा कार्यरत आधा दर्जन नेपालीहरू युक्रेनी सेनाद्वारा मारिएको समाचारपछि भने सबैको चासो सुरु भएको छ । सरकारको तर्फबाट पनि खोजबिन सुरु भएको छ । खोजीका क्रममा भयानक डरलाग्दो तथ्य फेला परेको छ । रुसी सेनामा भर्तीका लागि पठाउन नेपालमा ठूलै गिरोह संलग्न रहेको तथ्य फेला परेको छ । गिरोहमा संलग्न करिब आधादर्जन अभियुक्त पक्राउ परेका छन् । उनीहरूले प्रतिव्यक्ति १४ लाख रुपैयाँ लिएर रुसी सेनामा भर्ती हुन पठाउने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पुष्टि भएको छ । यसरी रुसी सेनामा भर्ती हुन जाने धेरैजसोमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जनशक्ति रहेका छन् । अवकाश प्राप्त मात्रै होइन बहालवाला सैनिक तथा प्रहरीले समेत रुसी सेनामा भर्ती हुनका लागि गिरोहलाई पासपोर्ट बुझाएको तथ्यसमेत फेला परेको छ ।

नेपालको सुरक्षा निकायमा १६ वर्ष सेवा गरेपछि पेन्सनसहित अवकाश लिन पाउने प्रावधान छ । पाँच वर्ष सेवा गरेपछि उपदानसहित अवकाश लिन पाउने प्रावधान छ । यो प्रावधानअनुसार धमाधम अवकाश लिँदै वैदेशिक रोजगारीमा जाने क्रम बढेको माओवादीद्वन्द्वको बेलादेखि नै हो । नेपाली सुरक्षा निकायमा काम गरेकाहरूले विदेशमा आकर्षक तलबका साथ सेकुरिटी गार्डको काम पाउने भएका कारण सरकारले समेत यो सिलसिलालाई गम्भीरतापूर्वक लिएको थिएन । तर विगत एक वर्ष यता रुस तथा युक्रेनको सेनामा भर्ती हुनकै लागि सेना तथा प्रहरीबाट अवकाश लिने क्रम ह्वात्तै बढेको तथ्य फेला परेको छ । पहिलो कुरा त भारत र बेलायत बाहेक नेपालले कुनै पनि मुलुकका सेनामा आफ्ना नागरिकलाई भर्ती गर्ने संझौता गरेको छैन । रुसी तथा युक्रेनी सेनामा भर्ती हुन जानु यसै पनि गैरकानुनी हो । दोस्रो कुरा रुस र युक्रेनबीच जारी युद्ध अत्यन्त हिंस्रक छ । मानवअधिकारका कुनै पनि प्रावधानलाई पालना गरिएको छैन । एक नेपालीको छातीमा अर्को नेपालीले गोली ठोक्ने गरी बेसरोकारको सेनामा भर्ती हुनु ज्यादै नै दुःखद् पक्ष हो ।

भूपी शेरचनले एउटा कवितामा लेखेका छन्, ‘हामी नेपाली बुद्धु छौँ, त्यसैले बहादुर छौँ । हामी नेपाली बहादुर छौँ, त्यसैले बुद्धु छौँ ।’ नेपाली सेना तथा प्रहरीको जागिर छाडेर अवैध तरिकाले रुस र युक्रेनको युद्धमा सहभागी हुन जानेहरूले भूपी शेरचनको यो कवितालाई अक्षरशः पालना गरेका छन् । नेपालमा बसेर जीवन निर्वाह नै गर्न नसक्ने गरिब तथा बेरोजगारहरूको हकमा एउटा कुरा हुन सक्छ, तर सेना र प्रहरीको आकर्षक जागिर छाडेर यस्तो आगोमा होमिन जानुलाई कुनै पनि कोणबाट उचित मान्न सकिन्न । छिटो धनी हुने महत्वकांक्षाले यो संकट निम्त्याएको हो । छिटो धनी हुने नाममा जस्तोसुकै जोखिम उठाउनसमेत तयार हुने बानीलाई नेपालीहरूले सुधार्नै पर्छ । स्थायी जागिर छाडेर जोखिम मोल्दै अवैधबाटोमार्फत विदेश जानेहरूले सरकारलाई गाली गर्नुको कुनै अर्थ छैन । विदेश गएर कसले के काम गर्छ ? भन्ने अनुगमन सरकारले गर्न संभव पनि छैन । इजराइलमा मारिएकाहरूलाई र रुस–युक्रेन युद्धमा मारिएकाहरूलाई एउटै डालोमा राखेर क्षतिपूर्तिको माग राख्नु सवर्था अनुचित हो ।

प्रतिक्रिया